न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा, युनिलिभरबाट दुई हजार बोरा  चियापत्ती नष्ट
file photo

Advertisement

बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष  २०७८/७९ मा मुद्दा दायर गरेको छ ।

 विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आव र अघिल्लो आवको सात मुद्दाको फैसला भएकोमा चार मुद्दाको फैसला हुन् बाँकी रहेको बताइएको छ । कूल ११ वटा मुद्दा दुई आवमा दायर भएको थियो ।

Advertisement

गत आवमा उपभोक्ताबाट कार्यालयमा छ उजुरी  प्राप्त भएकोमा पाँच उजुरीको अनुसन्धान सकिएको छ । जसमा दुई उजुरीमाथि मुद्दा दायर दायर गरिसकिएको छ भने दुईमा अनुगमन गरी सुधारात्मक निर्देशन दिइएको छ । एउटा उजुरीउपर नमूना सङ्कलन गरी प्रयोगशाला विश्लेषण गर्दा कैफियत नपाइएको तथा एउटा उजुरी  अनुसन्धानको क्रममा रहेको जनाइएको छ ।

प्रतिवेदनमा  उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न विद्यमान खाद्य ऐन र नियमको प्रभावकारी कार्यान्वयन गर्दै सरोकारवालाको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ । गत आवमा  कार्यालयले ६० बजार, दुई सय १० उद्योग तथा ४१ होटल तथा रेष्टुराँ र चमेना गृहको अनुगमन गरिएको प्रतिवेदनमा जनाइएको छ । 

गत आवमा कार्यालयवाट २९ खाद्य तथा दानाको अनुज्ञापत्र जारी गरिएको, एक सय चार खाद्य पदार्थको अनुज्ञापत्र नवीकरण गरिएको तथा उद्योग स्थापानार्थ ७८ उद्योगको सिफारिस गरिएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै अनुगमनको क्रममा सात होटल र रेष्टुराँलाई स्तरीकरण लोगो वितरण गरिएको बताइएको छ । कार्यालयका सूचना अधिकारी प्रगति अधिकारीका अनुसार सेवाग्राहीलाई विश्वसनीय प्रयोगशालाको अनुभूति गराउनका लागि कार्यालयले गत  आर्थिक वर्षमा  २ हजार एक सय २० खाद्य पदार्थ नमूना विश्लेषण  गरेकोमा  ९६ वटा  नमूना  प्रतिकूल रहेको उल्लेख गरिएको छ । 

कार्यालयले विभिन्न शीर्षकवाट गत आर्थिक वर्षमा रु १९ लाख ६२ हजार नौ सय राजश्व सङ्कलन गरेको थियो । साथै, कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेशमा गत आर्थिक वर्षमा युनिलिभर नेपाल लिमिटेडको म्याद सकिएको २ हजार २ सय २८ वोरा  चियापत्ती नष्ट गरेको वताइएको छ । रासस

Advertisement

Advertisement