'अभिकर्तालाई तालिम दिनै नखोज्ने, हचुवामा लाइसेन्स मात्रै वितरण गर्दाको नजिता हो सजन हत्या'

Advertisement

काठमाडौं । पेशागत अभिकर्ता संघका अध्यक्ष नन्द तिवारीले बीमासम्वन्धी कुनै अपराधका घटना हुँदा अभिकर्ताहरुलाई मात्रै सधैं दोष दिएर उम्किने प्रवृत्ति बन्द हुनुपर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानमिा उनले अभिकर्तालाई कहिल्यै तालिम र प्रशिक्षण नदिने र हचुवाको भरमा लाइसेन्स भने वितरण गर्दै जाने प्रवृत्ति हट्नुपर्ने बताउँदै अपराधका घट्नामा कुनै एक अभिकर्तालाई दोषी औंल्याएर नियमक र बीमा कम्पनीहरु उम्किन नमिल्ने बताए । 

तिवारीले भने, ‘हचुवाको भरमा अभिकर्ताको लाइसेन्स वितरण गर्ने । न तालिम छ । न प्रशिक्षण छ । गाडि चलाउनेले लाइसेन्स लिनुअघि ट्रायल पास गर्नुपछ भने बीमा अभिकर्ताको पेशा गर्नेलाई बीमाको आधारभूत पनि नचाहिने भन्ने हुन्छ र ? अनि जब कुनै अपराधका घटना हुन्छ, दोषजति त्यही अभिकर्तामाथि थोपरेर अरु चोखो बन्न खोज्ने कुरा उचित होइन् ।’ 

Advertisement

अभिकर्तालाई तालिम नदिँदा बीमा क्षेत्रमा ठूला ठूला समस्याहरु देखिन थालेको अस्वीकार गर्दै उनले सजन विक हत्या प्रकरणसम्वन्धी बीमा दावी भुक्तानी शंकास्पद भएकाले यसको गहिरो छानविन हुनुपर्ने बताए ।  

तिवारीले थपे, ‘यसमा बीमा समिति र बीमा कम्पनीहरुको मिलेमतो छैन भन्नसक्ने सुनिश्चितता छ र ? मैले लगेको कतिपय सानातिना पोलिसि त पास हुँदैन भने त्यत्रो ठूलो पोलिसि पास हुँदा सम्वन्धित पक्षहरु के हेरेर बसेका थिए । कसरी अढाई करोडको जीवन बीमा पोलिसि पास भयो ? कसरी दावी भुक्तानी सजिलै भयो ? भुक्तानी हुँदासम्म बीमा समितिका जिम्मेवार व्यक्तिहरु किन मौन थिए ? रहस्यमय छ ।’

बीमा अभिकर्ताको चाहिनेभन्दा धेरै लाइसेन्स वितरण भएको भन्नै अध्यक्ष तिवारीले घर घरमा लाइसेन्स बाँड्ने काम भएको बताए । ‘बीमाका शाखा प्रमुखले लाइसेन्स बेचेका छन् । दुई कक्षा बढेकाले लाइसेन्स लिएका छन्’, उनले  भने, ‘लाइसेन्स दिएपछि समितिको जिम्मेवारी सक्कियो । तालिमको उसलाई मतलवै छैन् । कम्पनीले दिने भनेको तालिम नाम मात्रको हो । यसरी हचुवाको भरमा बिना मापदण्ड लाइसेन्स वितरण भएपछि बीमामा समस्या आउनु स्वाभाविक हो । कुरा चाहीं हामी बीमा क्षेत्रलाई आधुनिक बनाउने, विश्वस्तरको बनाउने कुरा गछौं ।’ 

तिवारीले एउटा पोलिसि गराउनका लागि मात्रै भए पनि अभिकर्ताको लाइसेन्स लिनेदिने काम हुने गरेको सुनाए । आफूले यस्तो बेथिति अन्त्य गरौं, अन्यथा दुर्घटना हुनसक्छ भनेर पटक पटक सम्वन्धित पक्षहरुलाई आग्रह गर्दा पनि सुनुवाई नभएको तर आज सजन विक हत्याकाण्ड भएको उनले बताए । अभिकर्ता हुन कम्तिमा एसएलसी हुनुपर्ने नियम भएकाले त्यति अध्ययन नगर्ने सबै अभिकर्ताको लाइसेन्स खारेज हुनुपर्ने तिवारीको तर्क छ । 

बीमाका कारण एउटा २१ वर्षको निर्दोष युवकको घटना हुँदा यसमा संलग्न अन्डरराईटिङ विभागका सम्वन्धित कर्मचारी र कम्पनीका अरु जिम्मेवार कर्मचारीलाई कारबाही गर्ने हिम्मत समितिले किन नराखेको ? भन्दै उनले भने, ‘एउटा २१ वर्षको दलितको करोडौंको बीमा गराईन्छ । त्यस बीमाको दाबी भुक्तानी पाँच तारे होटलमा गरिन्छ । बीमा समितिको अध्यक्ष स्वयम पुग्छन् । यो खोतल्ने निकायमा म हुने हो भने त के के निकाल्दिन्छु । अभिकर्ताले मात्रै हिम्मत गर्न सक्दैन् । उसले त सुरुवात गर्ने हो ।’

अभिकर्ताले पोलिसिको एउटा फारम ल्याउने हो, त्यसमा प्यान, करका कुराहरु, आयस्रोतका कुरा पनि जाँच गर्न आवश्यक हुन्छ भन्दै तिवारीले सिधै पोलिसि पास हुने कुरा मान्य हुँदैन भने ।   

कुनै पनि व्यक्तिको बीमा गर्दा निजको हाउभाउ, बोलीचाली कस्तो छ ? अभिकर्ताले संगत गर्दा नै थाहा पाएको हुन्छ । यदि त्यस्तो व्यक्ति बदनियत खालको लाग्यो र अभिकर्ता व्यवसायिक र इमान्दार व्यक्ति हो भने उसले बीमा गराउने जोखिम लिँदैन । बीमा गर्दा प्रक्रिया अघि बढाउँदा अभिकर्ताले त्यस्तो बीमा पोलिसि पहिले टाइप गर्ने कम्पनीको सहायक कर्मचारीकोमा लिएर जान्छ । त्यसपछि त्यो शाखा प्रमुखको पुग्छ । शाखा प्रमुखले चेकजाँच गरेर कम्पनीको सम्वन्धित शाखाको व्यवस्थापकमा पोलिसिको फाइल पठाउँछ । 

उक्त बीमा पोलिसि अन्डराईटिङ शाखाले चेकजाँच गर्नुपर्छ । सबै ठिक छ भन्ने ठहर भएपछि उक्त शाखाका प्रमुख र कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मले हस्ताक्षर गरेर स्वीकृत गर्नुपर्छ । कुनै पनि शंकास्पद व्यक्ति र शंकास्पद रकमको पोलिसि सहजै पास हुनै नसक्ने अध्यक्ष तिवारीको तर्क छ । उनले सजन विकको बीमामा यस्ता प्रश्न अझै अनुत्तरित नै रहेको बताए । 

तिवारीले भने, ‘अर्को कुरा २१ वर्षकी सपना मल्ललाई पैसा दिँदा तिम्रो श्रीमानले के काम गर्नु हुन्छ ? भनेर सोध्नुृपर्ने हो । श्रीमानको कमाई के कस्तो छ ? किन यति धेरै रकमको बीमा गर्नुभयो ? एक पटक प्रत्यक्ष अप्रत्यक्ष बुझ्नुपर्ने हो । उनको पृष्टभूमि पनि बुझ्नु पर्ने हो ।  सबै कुराको अध्ययन नगरी भुक्तानी दिनु पनि गलत हो, कम्पनीलाई फाइदा हुन्छ भनेर जति पनि रकमको बीमा गर्ने प्रवृत्ति पनि गलत हो ।  

बीमाका कारण मानिसहरुको ज्यानै जानेसम्मका अपराधका घट्ना हुनथाल्यो भने सिंङ्गो बीमा व्यवसाय धराप पर्ने बताउँदै तिवारीले पछिल्लो समय बोनस दर घट्ने तर बीमाशुल्क बढ्ने कुरा राम्रा संकेत नभएको बताए । पछिल्लो समय अभिकर्ताले पनि काम गर्ने वातावरण नपाएको उनको गुनासो छ । 

 


 

Advertisement

Advertisement