बीमाको पहिलो ‘अण्डरराइटर’ अभिकर्ता हो, आचारसंहिता पढाउँछौंः समिति, तारे होटलमा किन दावी भुक्तानी ?

Advertisement

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारीले सजन विक हत्याकाण्डमा समिति र कम्पनीले अभिकर्तालाई दोषी देखाएर उम्किने प्रयास गरेको भन्दै अभिकर्तालाई तालिम र प्रशिक्षण नदिने, बरु हचुवाको भरमा लाइसेन्स मात्रै वितरण गर्ने समितिको कार्यशैली यस परिस्थितिको एउटा कारण पनि भएको बताएसँगै समिति रुष्ट भएको छ । 
 
बीमा क्षेत्रको सबैभन्दा पहिलो अन्डरराइटर (जोखिमाङ्कनकर्ता) अभिकर्ता नै हुने भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भन्छन् ‘सबैभन्दा मुख्य जिम्मेवारी अभिकर्ताहरुको हो । जसलाई पहिलो जिम्मेवारी दिएको छ, जसलाई बीमा क्षेत्रले त्यस्तो विश्वास गरेको हुन्छ, उनीहरुले विश्वासघात गर्न त मिल्दैन नि ।’ 

अभिकर्ताले आफ्नो आचारसंहिता के हो ? राम्रोपर्ने बताउँदै उनले जे पनि व्यवसाय ल्याउने हो भने समितिले उनीहरुलाई आचारसंहिता पढाउने बताए । तालिम प्राविधिक विषय भए पनि हत्या नै गर्ने कार्यसम्ममा अभिकर्ता संलग्न हुनु नैतिकतासँग जोडिएको पौडेलको भनाई छ । उनले समितिले तालिम नदिए पनि बीमालाई माध्यम बनाएर हत्या जस्तो जघन्य अपराधमा कोही पनि सामेल हुनु आपराधिक कार्य भएको बताए । 

Advertisement

सजन विक हत्याकाण्डलाई लक्षित गर्दै पौडेल भन्छन्, ‘गल्ती जहाँबाट भए पनि अब कानुनले जे गर्छ त्यही अनुसार अघि बढ्नुपर्छ । तै पनि समस्या कहाँबाट सुरु भयो भन्ने प्रश्नै छैन् । अभिकर्ताले नचाहिने पोलिसि ल्याएर स्वीकृत गरेको यसमा स्पष्टै देखिन्छ । अभिकर्तामाथि जनताले ठूलो भरोसा गरेका हुन्छन् । त्यसको उनीहरुले दूरुपयोग गर्न मिल्दैन ।’ 

अभिकर्ताको काम जीवन बीमा गराउने मात्रै होइन भन्दै उनले अभिकर्ताले बीमा गराएर बीमितलाई अन्तिममा पोलिसि म्याचुअर्ड हुने बेलासम्म हेर्ने दायित्व हुने बताए । पौडेलले भने, ‘कुन बीमा कस्तो हो ? कसरी गर्ने हो ? अभिकर्तालाई पहिले नै थाहा हुन्छ । उसको काम नै त्यही हो ।’ 

अभिकर्ताले आफ्नो प्रतिवदेनमा सबै ठिक छ भनेर कम्पनीमा पठाउने कुरालाई हलुका ढंगले हेर्न नमिल्ने उनको भनाई छ । पौडेलले अभिकर्ताले जस्तो पनि व्यवसाय उठाएको आफूहरुले पाएको बताउँदै त्यस्तो घटनामा समितिले कारबाही गर्ने बताए । 

कार्यकारी निर्देशक पौडेलले दीर्घरोग लागेका मान्छेको पनि बीमा व्यवसाय बढाउन गर्ने प्रवृत्ति रहेको भन्दै यस्ता कुराले समस्या निम्तिने गरेको बताए । उनले बीमाको काम मान्छेको जोखिम लिन हो, हत्या गर्नेसम्मको अपराधको स्थिति सिर्जना गर्न होइन भने । 

पौडेलले बीमा कम्पनी र अभिकर्तालाई आफूहरुले निर्देशन गर्ने भए पनि राज्यको कानुनबाट बाँकी सबै जना निर्देशित हुने भन्दै बीमामा ठूला जालसाजीका घटना देखिएमा त्यस्तो बेला कानुनी उपचारमा जाने बताए । 

सजन विकको दाबी भुक्तानी बीमा समितिका अध्यक्षले नै दिएका थिए 
पछिल्लो समय बीमा क्षेत्रमा चर्चामा रहेको सजन विक हत्याकाण्डसँग सम्वन्धित बीमा दावी भुक्तानी समितिका अध्यक्ष सूर्य सिलवालको हातबाटै गराइएको खुल्न आएको छ । त्यो पनि पाँच तारे होटलमा कार्यक्रम गरेर । 

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गरेको उक्त दावी भुक्तानीमा समितिका अध्यक्ष सूर्य सिलवालको हातबाटै गर्ने गराउने काम भएको भन्दै विवाद भएको छ । दावी भुक्तानीमा समेत प्रचारप्रसार खोज्ने कम्पनीहरुको बढ्दो प्रवृत्ति अस्वाभाविक देखिने गरेको छ । 

बीमा क्षेत्रको नियामक निकायको भूमिका कमजोर भएकाले पनि बीमा दावीको लोभमा मानिसको हत्यासम्म हुने गरेका घट्ना भएको आरोप लाग्न थालेको बेला समितिका अध्यक्ष सिलवालले भने त्यो आरोप अस्वीकार गछ्र्रन् । उनले मानिसको हत्या हुनेसम्मका घटना गम्भीर विषय हो भन्दै यस्तो घटनामा प्रमाणसहित दोषी ठहरिएकाहरुलाई कारबाही हुनुपर्ने बताए । 

पेशागत अभिकर्ता महासंघका अध्यक्ष तिवारीले समितिका अध्यक्ष नै उपस्थित भएर गरिने दाबी भुक्तानी कम्तिमा पनि सही हुनुपर्ने बताएका छन् । एक वर्षअघि पनि रिलायबल नेपाल लाइफले मेरियट होटलमा करोडौंको दावी भुक्तानी गरेको थियो । उक्त भुक्तानीमा पनि समितिका अध्यक्ष सिलवाल सहभागी थिए । 

Advertisement

Advertisement