नेपालको पहिलो सेल्फी म्युजियममा सेल्फी पारखीहरुको आकर्षण बढ्दो, के के छन् सुविधा ?

Advertisement

काठमाडौं । कोरोनाको महामारीपछि व्यवसायीहरु नयाँ नयाँ तरिका अपनाएर व्यवसाय गर्न लालयित हुने गरेको देखिन्छ । यस्तै एउटा उदाहरण राजधानीको सुन्धारामा देख्न सकिन्छ । सुन्धारामा ‘द हाउस् अफ सेल्फी’ नामक सेल्फी म्युजियम खुलेको छ । 

यहाँ २३ वटा फोटो बुथहरुसहित सेल्फी खिच्न सकिन्छ । बच्चादेखि बुढाबुढीहरुसम्म मोवाइल र सामाजिक सञ्जालमा रमाउने प्रवृत्ति बढ्दै गएको बेला ‘द हाउस् अफ सेल्फी’ नयाँ र आकर्षक गन्तव्य बन्नसक्ने देखिन्छ । 

Advertisement

पछिल्लो समयमा टिकटक लोकप्रिय बन्दै गएको छ । टिकटक बनाउनकै लागि सेल्फी पारखीहरु ठाउँ खोज्दै हिंड्ने सौख पनि बढेको छ । कुनै ठाउँलाई नयाँ तरिकाले सजावट गर्दा पनि मानिसहरुको भीड लाग्ने गर्छ । यही क्रममा भर्खरै सञ्चालनमा आएको ‘द हाउस् अफ सेल्फी’मा मानिसहरुको भीड लाग्ने गरेको छ । 

सेल्फी म्युजियममा फोटो खिच्ने र टिकटक बनाउनेहरु उल्लेख्य देखिन्छन् । विशेषगरी युवाहरुको रोजाइमा परेको यो म्युजियम सिभिल मलमा रहेको छ ।

कोरोना महामारीमा नै राजधानीको न्यूरोडको एक गल्लीमा युरोपबाट आएका युवाले ल्याएको ‘अम्रेला स्ट्रिट’ले निकै चर्चा बटुलेको थियो । बौद्ध पिपलबोटको तरकारी बजारमा राखिएको ‘डोको स्ट्रिट’ ले पनि त्यतिकै चर्चा बटुलेको थियो । अहिले ‘द हाउस् अफ् सेल्फी’ चर्चित बन्दै गएको छ ।  

‘द हाउस् अफ सेल्फी’मा वाटर मिलन सुगर, ह्याफ वेदर स्विङ, पुल पार्टी, वेलकम टू जंगल, रोयल ल्याभन्डर चेर ब्याक्ड्रप, टेलिफोन बुथ, फ्लोअर एण्ड स्विङ, पर्पल्ज फ्लोअर र पर्पल्ज चेर, पिंगपोंग टेबल, भोअग् म्यागजिन, फेसन पुलिस, फष्ट क्लास, ट्रेन, यू अर् म्याजिक्, रिगल वाइट्, बार्बी बुथ, विस यू वर हिर, पिङक सिढी, अरिन्ज स्विङ, ह्याङिङ केज, क्यान्ट् बि टेम्ड् केज, रामेन हाउस्, ब्ल्याक एण्ड वाइट स्ट्राइप्स, रेन्बोअ, वट् द डक्, बल् पिट लगायत २३ वटा बुथमा फरक फोटोहरु खिच्न सकिन्छ । 

किन र कसरी खोलियो ? 
‘द हाउस् अफ् सेल्फी’ एक हप्ताअघि सञ्चालनमा आएको हो । यसको हेड अफ डिपार्टमेन्ट आशुतोष न्यौपानका अनुसार यस्तो सेल्फी म्युजियम नेपालमै पहिलो पटक सुरुवात गरिएको हो । 

‘द हाउस् अफ सेल्फी’का प्रमुख कार्यकारी अधिकृत देसल लामाको सोचमा सामाजिक सञ्जालको प्रवृत्तिलाई लक्षित गरी यो अवधारणा ल्याइएको उनले बताए । न्यौपानेले विश्वको विभिन्न देशमा सेल्फी म्युजियमहरु खुलेको उदाहरण दिँदै नेपालमा पनि मनोरञ्जनको क्षेत्रमा नयाँ काम गर्ने क्रममा यसको स्थापना भएको बताए । 

न्यौपानेले थपे, करिब ९ महिना जति लाग्यो ‘द हाउस् अफ् सेल्फी’ बन्न । हामीले म्युजियम बनाउन सबै सामानहरु नेपालमै भएका कारखानामा बनाएका हौं । यहाँ रहेका बुथहरुमा आफ्नो रोजाइअनुसार फोटो खिच्न सकिन्छ । यसको उद्घाटनका क्रममा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान जोशी, नेपाली मोडल जेनिशा मोक्तान, मोडल रेहान श्रेष्ठ, युवा फेशन स्टाइलिस्ट पराक्रम राणा लगायत आएका थिए ।’ उनले ‘द हाउस् अफ सेल्फी’को शाखा काठमाडौं बाहिर पनि खोल्ने योजना सुनाए । 

Advertisement

Advertisement