त्रासदीपूर्ण तरकारी आयातः ३६ अर्ब ५४ करोडको आयात गर्दा जम्मा ७७ करोडको निर्यात

Advertisement

काठमाडौं । गएको आर्थिक बर्षमा नेपालले ३६ अर्ब ५४ ४५ लाख ९९ हजार रुपियाँको तरकारी आयात गरेको छ । सोही अवधिमा नेपालले जम्मा ७७ करोड ६२ लाख ५९ हजार रुपियाँको तरकारी निर्यात गरेको दयनीय अवस्था सरकारी तथ्यांकबाट देखिन्छ । 

नेपाल कृषिप्रधान देखि भएको र अधिकांश मानिस कृषि पेशामा रहेको बताइए पनि कृषिजन्य वस्तुको आयात हेर्दा त्रासदीपूर्ण देखिन्छ । सरकारले तरकारीसहित अन्य कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने कुरा गर्दै आएको लामो समय भइसकेको छ । सरकारका मन्त्री र नेताहरुले पनि हरेक फोरममा यस्ता सपना दिने गरेका छन् ।

Advertisement

तर आयातको अनुपात हेर्ने हो भने हरेक बर्ष उच्च दरमा बढ्दै गएको छ । निर्यातको अवस्था भने दयनीय छ । सरकारले कृषकलाई फाइदा हुने नीति ल्याएको बताउने गरे पनि  उब्जाएको तरकारी बिक्री नभएको, भारतीय तरकारीका कारण नेपाली तरकारी सडकमा फाल्नुपरेको, लागतसमेत नउठ्नेगरी निकै सस्तो मूल्यमा बिक्री गर्नुपरेको, चिस्यान केन्द्रहरु नपाएर कुहिएको जस्ता समाचारहरु बारम्बार आउने गरेको छ । भनेजस्तो प्रतिफल नपाउँदा किसानहरु कृषि पेशाबाट पलायन हुने र युवाहरु विदेशिन बाध्य हुनुपरेको देखिन्छ । 

यसै सन्दर्भमा पुनः अर्थमन्त्रालयको जिम्मेवारी पाएका जनार्दन शर्माले मंगलबारको एक कार्यक्रममा कृषि उत्पालनमा लाग्न आग्रह गर्दै आफूले उत्पादनमैत्री बजेट ल्याएको जिकिर गरे । 

आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको भन्दै उनले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने दाबीसमेत गरे । नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरिरहेको शर्माको भनाई थियो । 

उनले भने, ‘सबै युवादेखि वृद्धासम्म कृषि क्षेत्रको उत्पादनमा सहभागी बनौं । काठमाडौंका लागि चाहिने तरकारी काठमाडौं आसपासका जिल्लाले उत्पादन गरौँ । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा ६ महिनामा आत्मनिर्भर हुन सक्छौँ । औद्योगिक क्षेत्रमा चार वर्षमा ठूलो प्रगति गर्नसक्छौँ ।’ 

सँगै शर्माले कृषि उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण र बजेट कार्यान्वयनमा चुनौती रहेको पनि स्वीकार गरे । उनले अबका दिनमा कृषकले उब्जाएका तरकारी बारीमै कुहाउनुपर्ने वा खाल्डो खनेर पुर्नुपर्ने अवस्था नआउने जिकिर पनि गरे ।

Advertisement

Advertisement