हिमालय एयरलाइन्सले दुई बर्षमा गरेका सीएसआर गतिविधि सार्वजनिक गर्यो

Advertisement

काठमाडौं । हिमालय एयरलाइन्सले आफ्नो दुई वर्षे संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) विवरण सार्वजनिक गरेको छ । 

बुधबार पत्रकार सम्मेलन गरी कम्पनीकी ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्वला दलीले कोभिड महामारीपछि आफ्नो व्यवसायसँगै सीएसआरअन्तर्गतको नियमित कर्तव्यलाई समेत यथावत् राख्दै आएको बताइन् । 

Advertisement

उनले कोरोना महामारीले विश्वअर्थतन्त्र नै डामाडोल भएको अवस्थामा समेत हिमालय एयरलाइन्सले निरन्तर सेवासँगै सीएसआर अन्तर्गतको सेवा यथावतै राख्न सफल भएको बताउँदै भनिन्, ‘शिक्षा, वातावरण, उद्धार उडान, कार्गो उडानलगायत क्षेत्रमा हामीले सीएसआरअन्तर्गतको कर्तव्य पूरा गरेका छौं ।’

दलीले चीनले सहयोगमा दिएको दुई लाख थान भेरोसेल खोप निःशुल्क ढुवानी गरेको बताउँदै उक्त निःशुल्क कार्गो चार्टर उडानमा दुई करोड २५ लाख रुपियाँ बराबरको खर्च भएको जानकारी दिइन् । 

नियमित उडान नरहेको सो समयमा हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट उद्दार उडान गरेको, कम्पनीले सहयोगी मुलुकबाट आएको खोप तथा स्वास्थ्य सामाग्री ल्याउनका लागि चारवटा निःशुल्क कार्गो उडान गरेको उनले बताइन् । 

सन् २०१६ मे महिनादेखि एउटा जहाजमार्फत उडान सेवा सुरु गरेको कम्पनीका हाल चार वटा जहाज संचालनमा छन् । कम्पनीले हाल युएई, मलेसिया, कतार, साउदी अरेबिया, बङ्गलादेश, चीन, कुवेतलगायत गन्तव्यमा नियमित यात्रु तथा कार्गो उडान गर्दै आएको छ । 

कम्पनीले यात्रु सुरक्षालाई मध्यनजर गर्दै चारैवटा जहाजमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (एइडीएस) जडान गरेको जनाएको छ । यो उपकरण जडान गर्ने हिमालय एयरलाइन्स देशकै पहिलो एयरलाइन्स भएको कम्पनीको दावी छ । 

दली भन्छिन, ‘कोरोना महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पार्यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे । यी चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो ।’ 

उनले विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका काम पनि आफूहरुले गर्दै आएको सुनाइन् । 
 
चीनको तिब्बत एभियशन डेभेलप्मेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी र नेपालको यती वर्ल्ड इन्भेस्टमेन्टको संयुक्त लगानी रहेको यो एयरलाइन्सले आफूहरु छोटो समयमा नै भरपर्दो एअरलाइन्स्को रूपमा स्थापित गरेको बताएको छ । 

Advertisement

Advertisement