राष्ट्रिय बीमा कम्पनीको बार्षिकोत्सवमा पुगेका सिलवालले उसैलाई दिए कारोबार रोक्का गर्ने चेतावनी

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको नवौं वार्षिकोत्सवमा पुगेका बीमा समितिका अध्यक्ष सूर्य सिलवालले तोकिएको पुँजी नपुर्याए सोही कम्पनीकै कारोबार रोक्का गर्ने चेतावनी दिएका छन् । 

बुधबार आयोजित बार्षिकोत्सवको कार्यक्रममा उनले आफूले अब सरकारी र निजी कम्पनी नचिन्ने भन्दै राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले पनि पुँजी वृद्धि गर्नुको विकल्प नरहेको बताए । सबैलाई कानुनको दायरामा राखेर काम गर्ने सिलवालको भनाई थियो । 

Advertisement

कार्यक्रममा धेरै वर्ष पूरा गर्दा कम्पनीहरु अनुभवी हुने कुरा उठेपछि उनले जन्मेपछि वर्ष बित्नु स्वाभाविक भएको बताउँदै ठूृलो हुनेभन्दा पनि पारदर्शीता कायम गर्न सक्नु महत्वपूर्ण हुने बताए । 

सिलवालले भने, ‘मलाई विडम्बना लाग्छ सरकारी निकाय भएर पनि राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा सुधार गर्न बाँकी धेरै कुराहरु छन् । मैले हेर्दा त मेरो हिसाबमा कारबाहीको बाटो मात्रै विकल्प देखेको छु ।’

सरकारी स्वामित्वका कम्पनीहरुलाई पुँजी पुर्याउन अर्थ मन्त्रालयलाई सोध्नुपर्ने तर त्यही कम्पनीको सीईओले तलब खान भने किन कसैलाई सोध्नुपर्दैन् ? भन्दै उनले राष्ट्रिय बीमा कम्पनीमा विगतमा समस्या रहे पनि नयाँ कारोबार सुरु गरेको नौ बर्ष भइसकेको स्मरण गराए । 

बीमा कम्पनीले नयाँ कारोबार सुरु गरेको नौ बर्षपछि पनि समस्या रहनु भनेको दुःखको कुरा भएको सिलवालको भनाई छ । उनले अब ढाकछोप गरेर मात्रै कम्पनी नचल्ने बताए । महालेखापरीक्षकको कार्यालयका लेखापरीक्षक नै फिर्ता हुने हिसाब किताब बीमा कम्पनीहरुले बनाउनु हुँदैन भन्दै उनले स्पष्टीकरण सोध्ने अवस्था नबनाउन सल्लाह दिए ।  

उनले भने, ‘अब म एउटै कुरा भन्छु, जसरी पनि तपाईंहरुले आफ्नो पूँजी वृद्धि गर्नुस् । म त यही मौकामा राष्ट्रिय बीमा संस्थानलाई पनि भन्न चाहान्छु, तपाईंहरुले पनि पूँजी बृद्धिलाई ध्यान दिनुस् ।’ नियमकको काम सबैलाई नियमन गर्ने हो भन्दै सिलवालले आफ्नो बोली अर्थमन्त्रालयले पनि सुन्नुपर्ने बताए । वित्तीय उत्तरदायित्वको सिद्धान्त सरकारी कम्पनीलाई पनि लागू हुने सिलवालले बताए ।  

बीमा कम्पनीहरुको पुँजी पाँच अर्ब रुपियाँसम्म पुर्याउन निर्देशन दिइरहेको बेलामा सरकारी कम्पनीहरु २० करोड रुपियाँमा भुण्डिएको बताउँदै अध्यक्ष सिलवालले भने, ‘अब म सरकारी निकायका कम्पनीलाई पनि कारबाही गर्छु । कुनै पनि किन्तु परन्तु सुन्नेवाला छैन् । विगत जसरी अब चल्दैन् । मलाई अडिट चाहियो । सरकार व्याकअप भएर केही हुँदैन् । हामी पनि सरकार नै त हो नि । पूँजी वृद्धि भएन भने म कारोबार रोक्का गर्दिन्छु ।’ 

साथै, उनले नयाँ व्यवसाय ल्याउन र दाबी भूक्तानी राम्रो गर्न सल्लाह पनि दिए । दाबी भुक्तानी गर्दा आफ्नो खल्तीको पैसा तिर्या जस्तो नगर्न उनको सल्लाह छ । नियमकको बोली नै तितो हुन्छ भन्दै सिलवालले भने, ‘मलाई जस्ले पनि गाली गर्छ भन्छन् । अहिले पनि अलिअलि भेटिहाल्नु भयो ।’

कार्यक्रममा राजस्व सचिव कृणहरि पुस्कर, नेपाल पुनर्बीमा कम्पनीका सीईओ शंकर रायमाझी, हिमालयन पुनर्बीमा कम्पनीका सीईओ चन्द्र शेखरन रामामुर्ती, बीमक संघका अध्यक्ष चंकी क्षेत्री, एनएलजी इन्स्योरेन्सका सीईओ नुरप्रताप प्रधान, राष्ट्रिय बीमा कम्पनीका सीईओ ज्ञानेन्द्र ओझा उपस्थित थिए । 

बीमक संघका अध्यक्ष क्षेत्रीले सरकारलाई व्याङ्ग्य गर्दै सरकारीको विजनेश निजी क्षेत्रका कम्पनीलाई नभई सरकारी स्वामित्वका कम्पनीलाई आउने बताए । सरकारी कम्पनीको सबल र दुर्वल पक्ष सबैलाई जगजाहेर रहेको बताउँदै उनले आफूहरुको प्रतिस्पर्धा राष्ट्रिय बीमा कम्पनीसँग भए पनि सरकारको व्यवसाय र सहयोग सरकारी कम्पनीलाई नै बढी हुने बताए । 

राष्ट्रिय बीमा कम्पनीका अभिकर्ता शम्भु ढुंगानाले कोरोना बीमा ल्याउनेलाई जेल हाल्नुपर्ने र सरकारी स्वामित्वका कम्पनीहरुले आफ्ना पूराना हिसाब किताब छिटोभन्दा छिटो सिध्याउनुपर्ने बताए । 

उनले सजन विक हत्याकाण्ड पनि जोड्दै घटना घटेपछि नीति बनाउने प्रवृत्ति छोड्नुपर्ने बताए । यस्ता घट्ना रोक्न बीमा समितिले दूरदर्शी निर्देशिका जारी गर्न आवश्यक भइसकेकोमा ढुंगानाको भनाई छ । 

Advertisement

Advertisement