गाई पालक कृषकको कथा– बीमाको पैसा समयमै आउन थाले पनि व्यवसायमा फाइदै छैन्

Advertisement

काठमाडौं । सतुंगलको सिम्चाफाँटस्थित सानो मन्दिरमा एउटा गाई फर्म छ ।फर्ममा अहिले १८ वटा गाई छन् । सबै गाईको बीमा पनि गरिएको छ । 

गाई फार्म सञ्चालनमा आएको दुई वर्ष भइसक्यो । फार्मका सञ्चालक हुन हुम्ला जैर स्थायी निवासी लेखन बुमी । गाई पालन सुरु गरेयता उनले तीन वटा गाई गुमाईसकेका छन् । अजोड इन्स्योरेन्समा गाईको बीमा गरेका बुमीले दुई हप्तामा बीमा दावी भुक्तानी पनि पाए । 

Advertisement

तीन वटा गाईको ९० हजार रुपियाँको बीमा गरेका बुमीले जम्मा ८१ हजार रुपियाँ मात्रै पाएको गुनासो गरे । उनले आफूले जति गाई पालन गरेको, सबैको बीमा  गर्ने सुनाउँदै उनले ​​​​​आफूलाई खेती किसानी गर्न नै प्यारो लाग्ने बताए । आफ्नै देशमा मेहनत गरेर सुन फलाउनुपर्छ भन्ने मान्यता राख्ने उनले कृषि व्यवसायमा लाग्दा ठूलो जोखिम मोल्नुपर्ने बाध्यता रहेको अनुभव सुनाए । आफू जस्ता किसान समस्यामा परेको बिरलै बहस हुने राज्यले खासै वास्ता नगर्ने उनले बताए । 

बुमीले भने, ‘मैले १२ गाई र ६ बाच्छी पालेको छु । तर, यो सबै मेलै ऋण लिएर नै गरेको हो । कृषकलाई पछिल्लो समय आकर्षक योजनाहरु छन् भन्ने सुनेर गाई पालनमा हालेको हो । तर, यहाँ त मेहनत धेरै र त्यसको तुलनामा फाइदा निकै कम हुने रहेछ ।’

पाँच लाख रुपियाँबाट सुरु गरेको बुमीको व्यवसाय अहिले ४० लाख रुपियाँ बराबरको भइसकेको छ । केही दिनअघि उनले राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर थप चार वटा गाई पनि थपे । 

बुमी भन्छन्, ‘लगानी गरेअनुसार धेरै फाइदा होस भन्ने अपेक्षा होइन् । तर, लिएको ऋण तिर्न सकें भने गाई पालनबाट केही सन्तुष्टि मिल्ने थियो ।’ सरकारले कृषिलाई प्राथमिकता दिने,  उत्पादन बढाउने भनेको सुने पनि आफू जस्ता कृषि पेशा गर्नेका समस्या के के छन् ? कसरी राहत सुविधा दिने ? कसरी धेरै मानिसहरुलाई कृषि लाग्न प्रोत्साहन गर्ने काम सरकारले नगर्ने गरेको बताए । 

पछिल्लो समय मासिक तीन लाख रुपियाँ हाराहारीमा आम्दानी हुने भए पनि खर्च धेरै भएकाले बचत थोरै हुने गरेको बुमीको भनाई छ । उनले भने, ‘केही अनुदान पाए राम्रो हुन्थ्यो । दूध बेचे पनि नाफा हुँदैन । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर स्वदेशमा काम गर्न चाहाने किसानलाई सहयोग गरे साच्चै राम्रो हुन्थ्यो ।’

किसानले मेहनत धेरै गर्नु पर्ने तर पनि आर्थिक समस्या पनि उत्तिकै झेल्नु पर्ने अवस्था रहेकाले मानिसहरु कृषिमा खासै लाग्न नचाहाने उनको अनुभव छ । 

कषि तथा पशुपंक्षी बीमाबारे उनले विगतमा यस्तो बीमाको दावी भुक्तानी ढिलो हुने गरे पनि पछिल्लो समय सरकारले कडाई गरेकाले छिटो हुने गरेको बताए । बीमा कम्पनीकै कर्मचारीले विगतमा कृषि बीमाको पैसा ढिला गरेर आउँदा पनि भुक्तानी गर्ने बेला प्रश्न धेरै गर्ने गरेको तर पछिल्लो समयमा त्यो कम हुँदै गएको बुमीले बताए । 

गाई पालन सुरु गर्नुका आफ्नो धेरै सपना गाँसिएको  उनले बताए । बुमीले भने, ‘तर हालसम्म यसबाट बालबच्चा पढाउन र बस्न खानामै सिमित भएको छ । ऋण मात्र बढाएर काम गरेर के फाइदा हुन्छ ?’ सरकारले अन्य क्षेत्रमा सुविधा दिए जस्तै कृषि कर्म गर्नेलाई पनि सुविधा दिनुपर्ने उनले बताए । 

मासिक आम्दानी तीन लाख रुपियाँ भए पनि डेढ दुई लाख रुपियाँ गाईकै खानापिनमा खर्च हुन्छ । बाँकी रकमबाट अधिकांश ऋण तिर्नमा खर्च हुन्छ । बुमीले भने, ‘सोचे जस्तो खेती किसानी गर्न सहज छैन् । मलाई मात्रै यो समस्या भएको होइन । सबैलाई हो । तपाईं यही बुझ्नुस्, यो देशमा किसानलाई धेरै दुःख छ ।’ 

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि पछिल्लो समय कृषि बीमामा बीमितको आकर्षण बढ्न थालेको दाबी गर्दै आएको छ ।
 

Advertisement

Advertisement