त्रिभुवन विमानस्थलबाट नलिनचोकमा हेलिकप्टर बिसौनी सार्ने तयारी, १५ करोडमा संरचना बन्दै

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरको बिसौनी अब भक्तपुरको नलिनचोकमा सारिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्न शुक्रबार ठेक्का सम्झौता भएको छ । 

नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिकप्टर बिसौनी बन्ने उनले जानकारी दिए । हेलिप्याड निर्माणका लागि पाँच प्रस्तावकहरु ओम बुद्ध शिव खिम्ती जेभी, उमा एण्ड कम्पनी, कालिका आरआर क्रिसा जेभी, समानान्तर निर्माण सेवा, कान्छाराम आरए–जेभीले दर्खास्त दिएका थिए । 

Advertisement

प्रतिस्पर्धाका आधारमा उमा एण्ड कम्पनी छनोटमा परेको हो । निरौलाका अनुसार १५ करोड रुपियाँमा उक्त संरचना निर्माण गर्नेगरी सम्झौता भएको हो । यो निर्माणको काम एक वर्षभित्रै पूरा गरिसक्नुपर्नेछ । 

त्रिभुवन विमानस्थलबाट हेलिप्याड स्थानान्तरण भएसँगै सो ठाउँमा सेना, नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका लागि ह्याङ्गर हब विस्तार गरिने छ । त्रिभुवन विमानस्थलमा हुँदै आएको ‘एयर ट्राफिक कन्जेसन’ कम गर्ने उद्देश्यले भक्तपुरमा हेलिप्याड निर्माण गर्न लागेको हो । सो ठाउँमा एक पटकमा २७ हेलिकोप्टर पार्किङ गर्न सकिने छ । 

नयाँ हेलिप्याण्डमा इन्धनको सुविधा, आगलागीसहित आकस्मिक उद्धारका उपकरण, यात्रुका लागि टर्मिनल, कन्फेक्सनरी सप, हेलिकप्टर कम्पनीका कार्यालय तथा हेलिकप्टर मर्मत गर्न मिल्ने छ । 

हालसम्म नेपालमा दर्ता भएका ११ वटा हेलिकप्टर कम्पनी नियमित सञ्चालनमा छन् । यी कम्पनीसँग २९ वटा हेलिकप्टर रहेका छन् । हाल सिम्रिक, एयर डाइनेष्टी, कैलाश, मुस्ताङ, मनाङ, हेली एभरेष्ट, श्री, प्रभु, अल्टिच्युड, माउन्टेन, फिस्टेल लगायत हेलिकोप्टर कम्पनी छन् । 

Advertisement