युनिलिभर नेपालको नाफा ७४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Advertisement

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७४.१६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ८६ करोड ९ लाख रुपैयाँ मात्रै थियो ।

चौथो त्रैमासमा मात्रै कम्पनीले ७१ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको सोही अवधिमा कम्पनी नाफा २८ करोड ७७ लाख रुपैयाँ मात्रै थियो। सञ्चालन आम्दानी र अन्य आम्दानीमा भएको वृद्धिले नाफालाई टेवा पुगेको देखिन्छ । चौथो त्रृमासमा कम्पनीको सञ्चालन आम्दानी मात्रै २ अर्ब २ करोड ९५ लाख रुपैयाँ पुगेको छ । जबकी गत आर्थिक वर्षको सवही अवधि यस्तो आम्दानी १ अर्ब ५८ करोड रुपैयाँ थियो । उत्पादनमा लागत र सञ्चालन खर्च बढे पनि अन्य खर्च घट्दा खर्चमा पनि मितव्ययी बन्न पुगेकाले नाफा वृद्धि भएको छ । 

Advertisement

प्रति शेयर आम्दानी (ईपीएस) बढेर ७७६ रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ३०५ रुपैयाँ थियो। वार्षिक रुपमा कम्पनीको प्रतिशेयर आम्दानी १ हजार ६ सय २९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार ९ सय ४२ रूपैयाँ छ । 

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी पनि ५ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको अन्य स्रोतहरुबाट हुने आम्दानी पनि ५ करोड ८८ लाख रुपैयाँबाट बढेर १२ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement