काठमाडौं । वरिष्ठ उद्योगी रुप ज्योतिले तरलता संकट समाधान र विदेशी मुद्राको संचितिमा परेको चाप कम गर्न नेपाल राष्ट्र बैंकले यथासिघ्र विदेशी बैंकको शाखा खोल्न अनुमति दिनुपर्ने बताएका छन् ।
कर्पोरेट नेपालसँगको कुराकानीमा उनले तरलता र विदेशी मुद्राको संचितिमा परेको चापलाई छिटो समाधान नगर्ने हो भने अर्थतन्त्रमा समस्या बढ्दै जाने भएकाले समाधानको उपाय छिटो खोज्न सुझाव दिएका छन् । ज्योतिले विदेशी बैंकको शाखा खोल्न दिने कुराले अहिलेको समस्या समाधान हुने मात्रै नभएर त्यसमार्फत नयाँ क्षेत्रमा लगानी पनि विस्तार हुने बताए ।
हाल नेपाली बैंकहरुले गरेको सरदर नाफा उत्साहजनक नै रहेकाले विदेशी बैंकले नेपाली बजारबाट तुलनात्मकरुपमा बढी प्रतिफल पाउने भएकाले उनीहरु आउन तयार हुने उनको विश्वास छ । राष्ट्र बैंकले उनीहरुलाई आउन मार्ग प्रशस्त गरिदिनुपर्ने ज्योतिको भनाई छ ।
उनले भने, ‘तरलताको एकदमै ठूलो समस्या भइरहेको छ । यसको असर उद्योग व्यवसाय गर्नेलाई मात्रै परेको छैन्, समग्र अर्थतन्त्रमा परेको छ । अहिले त बैंकहरुले दिएको लिमिट पनि प्रयोग गर्न दिइरहेको छैन् । यो स्थिति सुरु भएको पनि धेरै भइसक्यो । अब धेरै लम्बिन दिनु हुँदैन् । यसको समाधानको लागि एउटा राम्रो विकल्प भनेको विदेशी बैंकको शाखाहरु खोल्न दिनुपर्छ भन्ने मेरो सुझाव हो ।’
उदाहरण दिँदै ज्योतिले थपे, ‘जस्तो नेपालमा चिनीको उत्पादन कम भयो भने सरकारले इण्डियाबाट पनि झिकाउन सक्छ । चाइनाबाट पनि झिकाउन सक्छ । आयात भएपछि अभाव हुन पाएन् । । त्यसरी झिकाउँदा अन्तर्राष्ट्रियस्तरको भाउभन्दा बढ्दा पनि बढ्दैन् र आपूर्तिको समस्या पनि समाधान हुन्छ । त्यस्तै, लोडसेडिङले कुनै समयमा हामीलाई ठूलो समस्या बनाएको थियो । पछि कुलमान घिसिङले इण्डियाबाट विद्युत आयात गरेर यहाँको अभाव पूर्ति गर्नुभयो । विद्युत अभावले उत्पादनदेखि सर्वसाधारण ग्राहकलाई समेत कति समस्या परेको थियो ? त्यो नगरेको भए धेरै लामो समयसम्म लोडसेडिङ खेप्नुपथ्र्यो । तरलताको समस्या पनि त्यही दृष्टिबाट समाधान गर्नुपर्छ भन्ने मेरो जोड हो ।’
व्यवसायिक समूह ज्योति समूहका अध्यक्षसमेत रहेका रुप ज्योतिले नेपालमा अहिलेसम्म विदेशी बैंकको शाखा नरहेको र शाखा खोल्न दिने विषयमा लामो समयदेखि बहस मात्रै हुँदै आएकाले अब कार्यान्वयन गर्ने बेला भएको बताए । अहिले विदेशी बैंक तथा कम्पनीका संयुक्त लगानीका केही बैंक सञ्चालन भए पनि उनीहरुले यहींको पुँजी बढी परिचालन गर्ने भएकाले विदेशी पुँजी भित्राउन विदेशी बैंकहरुलाई शाखा खोल्न दिनु नै उपयुक्त हुने उनको भनाई छ । त्यसका लागि राष्ट्र बैंकले छुटै नीति नियमबाट व्यवस्थित गर्नसक्ने ज्योतिले बताए ।
उनले भने, ‘अहिले राष्ट्र बैंकले जुन खालको नीति लिएको छ, त्यो भनेको बैंकहरुको स्वास्थ्य नराम्रो नहोस, जनताको पैसा असुरक्षित नहोस् भनेर उनीहरुको प्रोटेक्शन गरिरहेको छ । विदेशी बैंकका शाखालाई राष्ट्र बैंकले त्यति धेरै चिन्ता गर्नु नै पर्दैन् । किनभने उनीहरुले आफ्नो सुरक्षा र लाभ कसरी हुन्छ भनेर काम गरिहाल्छ । प्रतिस्पर्धा पनि गरिरहेको हुन्छ । पैसा अभावले उद्योग व्यवसाय अघि बढाउन नपाएका, नयाँ उद्योग खोल्न नपाएकाहरुलाई पनि राहत हुन्छ ।’
विदेशी लगानीका बैंकहरु आउँदा ब्याजदरमा समेत कमी भई नेपालका ऋणीहरुले सहुलियत दरमा ऋण पाउने अवस्था सिर्जना हुने उनले बताए । यद्यमी ज्योतिले अहिले दोहोरो अंकको ब्याजदर तिरेर व्यवसाय गर्नुपर्ने बाध्यता हट्दा पनि नेपालमा उत्पादनको लागत घट्ने र नयाँ उद्योग व्यवसाय सञ्चालन हुने अवस्था बन्ने बताउँदै विदेशी बैंक आउँदैमा केही अप्ठ्यारो हुन्छ कि भनेर डराउनु जरुरी नरहेको बताए ।