Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले उपभोक्ता समितिलाई निर्माण कार्यसम्वन्धी ठेक्कापट्टा नदिने आफ्नो निर्णय उल्ट्याउन लगाएकोमा आफ्नो पार्टीका अध्यक्ष माधव नेपालप्रति असन्तुष्टि पोखेकी छन् । 

यसअघि शहरी विकासमन्त्री हुँदा आफूले गरेको उक्त निर्णय अहिले मेटमणि चौधरी मन्त्री भएर आएपछि पार्टी अध्यक्ष माधव नेपालले उल्ट्याउन लगाएको भन्दै रुष्ट भएकी हुन् । झाँक्रीले भनिन्, ‘साना आयोजना समयमा नै नसकिनुको कारण उपाभोक्ता समितिबाट गरिने काम गुणस्तरहीन र असारको मसान्तमा आएर काम सक्नु हो ।’ 

Advertisement

उनले थपिन्, ‘मैले पटक पटक भनेको छु । उपभोक्ता समितिको काम गुणस्तरहीन भएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट काम नगरौं भनेर त्यो काम रोक्यौं । त्यसपछि सार्वजनिक खरिद प्रक्रियामा जानुपर्यो । त्यस्ता स्वीकृत सबै काम खरिद प्रक्रियामा लैजानको लागि मंसिरको ३ गतेदेखि ७ गतेसम्म मन्त्रालयस्तरको बैठक समेत बस्यौं । आयोजना तयारीको लागि आयोजनाको सम्भाव्यता, आयोजनाले पार्ने प्रभाव समेत विश्लेषण गर्नुपर्छ । अन्य विकासे मन्त्रालयको भन्दा राम्रो प्रगति गरेँ । त्यसको पछि शहरी मन्त्रालयले योजनामा काम गरेको थियो । धेरै विकास निर्माणको काम गर्न रहेका धेरै हड्लसहरुलाई किनारा गरेका थियौं । अनियमिता रोक्ने प्रयास गरेँ । यस्ता झन्डै दुई दर्जन समिति बनाएको रहेछु । दुई दर्जन प्रतिवेदन नै छन् । प्रतिवेदनमा प्रमुख प्राथमिकताका विषयहरुकै प्रतिवेदन आएका छन् । त्यसरी नै विकास नीतिहरुलाई परिर्वतन गर्न धेरै काम गरेका थियौं ।’

आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्दै झाँक्रीले आफू मन्त्री रहँदा योजनावद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरिन् । 

उनले आफ्नो कार्यकालमा शहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्वयनको विषयमा योजना बनाएर काम गरेको बताउँदै शहरी विकासमन्त्री हँुदा विकास निर्माणसम्बन्धी महत्वपूर्ण नीतिहरु परिर्माजन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको संभाव्यता अध्ययनमा विशेष जोड दिएको बताइन् । 

झाँक्रीले अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने बताइन् । उनले नीतिगत तहमा अनियमिता रोक्नको लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि उल्लेख गरिन् । मन्त्रीबाट हटेपछि झाँक्री र माधव नेपालबीच बोलचाल बन्द हुनुका साथै उनी पार्टीको बैठकमा समेत जान छोडेकी छन् । त्यसमाथि आफूले मन्त्री हुँदा गरेका निर्णय माधव नेपालले उल्ट्याउन लगाएपछि झाँक्री रुष्ट हुँदै आज पत्रकार सम्मेलन गरेकी हुन् ।  

Advertisement

Advertisement