बीमाको दायरा ह्वात्तै बढेर ४१.२ प्रतिशत पुग्यो, तर बीमा समिति भन्छ– यति वृद्धिले अझै पुगेन

Advertisement

काठमाडौं । बीमाको बजार एक बर्षमा १४ प्रतिशतले बढेर ४१.२ प्रतिशत पुगेको छ । यसअघि आर्थिक बर्ष २०७७–७८ मा २७.१२ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको भनिएकोमा यो बढेर आर्थिक वर्ष २०७८–७९ को असार मसान्तमा ४१.२ प्रतिशत पुगेको बीमा समितिले बताएको छ । 

आर्थिक वर्ष २०७७–७८ असार मसान्तमा कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा बीमाको हिस्सा ३.५८ प्रतिशत थियो भने आर्थिक वर्ष २०७८–७९ मा भने यो बढेर ३.६७ प्रतिशत पुगेको हो । यद्यपि जीडीपीमा बीमा क्षेत्रको योगदान अपेक्षाकृत वृद्धि हुन सकेको देखिन्न ।  

Advertisement

त्यस्तै, जीवन बीमाशुल्क आर्थिक वर्ष २०७७–७८ असार मसान्तमा एक खर्ब २० अर्ब ९५ करोड रुपियाँ थियो भने आर्थिक वर्ष २०७८–७९ को असार मसान्तमा सो संख्या एक अर्ब ३८ अर्ब ३५ करोड रुपियाँ पुगेको छ  । 

यता निर्जीवन बीमाशुल्क भने आर्थिक वर्ष २०७७–७८ को असार मसान्तमा ३१ अर्ब ७ करोड रुपियाँ थियो भने आर्थिक वर्ष २०७८–७९ को असार मसान्तमा ३९ अर्ब ७ करोड रुपियाँ पुगेको बीमा समितिले जनाएको छ ।

Advertisement

कुल बीमाशुल्कभने आर्थिक वर्ष २०७७–७८ को अन्तिमसम्म एक अर्ब ५२ अर्ब ६५ करोड रुपियाँ कायम रहेकोमा आर्थिक वर्ष २०७८–७९ को असार मसान्तमा एक अर्ब ७७ अर्ब ५३ करोड रुपियाँ पुगेको हो । 

बीमा क्षेत्रले आर्थिक वर्ष २०७७–७८ मा १० हजार ८ सय जनालाई रोजगारी दिएकोमा आर्थिक वर्ष २०७८–७९ मा यो बढेर १२ हजार ३१ जना पुगेको छ । बीमा कम्पनीहरुको कार्यालय संख्या आर्थिक वर्ष २०७७–७८ मा दुई हजार ९१५ रहेकोमा आर्थिक वर्ष २०७८–७९ मा बढेर तीन हजार ३६८ पुगेको हो ।

त्यस्तै, आर्थिक वर्ष २०७७–७८ मा अभिकर्ताको संख्या दुई लाख ५० हजार रहेकोमा आर्थिक वर्ष २०७८–७९ मा यो बढेर तीन लाख पुगेको छ । बीमा क्षेत्रका काम गर्ने सर्भेयरको संख्या पनि आर्थिक वर्ष २०७७–७८ मा चार सय रहेकोमा गएको आर्थिक बर्षमा यो बढेर एकै पटक एक  हजार २५१ पुगेको हो ।

साथै, आर्थिक वर्ष २०७७–७८ मा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ३८ अर्ब २१ करोड रुपियाँ थियो भने सो संख्या आर्थिक वर्ष २०७८–७९ मा बढेर ४३ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ मा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १९ अर्ब २८ करोड रहेकोमा आर्थिक वर्ष २०७८–७९ मा यो रकम बढेर २० अर्ब ६३ करोड रुपियाँ पुगेको हो । 

प्रगतिप्रति बीमा समिति नै असन्तुष्ट
बीमा क्षेत्रको दायरा एक आर्थिक बर्षमै उत्साहजनकरुपमा वृद्धि भए पनि बीमा समितिले भने यो अपेक्षाभन्दा न्यून रहेको बताएको छ । साथै, समितिले पछिल्लो समय जनतामा बीमाको आवश्यकता बोध हुन थालेकोले पनि दायरा ह्वात्तै बढ्न सहयोग पुगेको भन्दै यति प्रगतिमा चित्त बुझाउन नसकिने तर्क गरेको छ । 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘यो वृद्धि सामान्य हो । हामीले अपेक्षा गरेअनुसार अझै बढ्न सकेको छैन् । हामीले जुन ढंगले दायरा बढाउन पहल गरेको थियो, त्यति हुन नसके पनि यो वृद्धि उत्साहजन हो ।’ 

उनले थपे, ‘हामीले मुखले बीमाको दायरा बढ्यो भन्नेभन्दा पनि तथ्यांकले भनेको अझै आधिकारीक हुन्छ । विगतमा हामीले बीमाको पहुँच बढोस भनेर अपेक्षा गरेको हो तर अहिले त तथ्यांकले नै त्यही कुरा प्रमाणित गरेको अवस्था छ । यो वृद्धि सामान्य हो । दायरा अझै बढ्दै जान्छ ।’ पौडेलले चालु आर्थिक बर्षमा पनि बीमाको दायरा उत्न्साहजनकरुपमा बढ्न अपेक्षा गरे । 

उनले पछिल्लो समय प्रविधिको पुहँच बढ्दै गएको, जताततै जोखिम बढ्दो क्रममा रहेको र मानिसमा बीमाको आवश्यकता बोध हुँदै गएको बताए । 

Advertisement