Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । 

मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उनले परराष्ट्रमन्त्रीको चीन भ्रमणमा उठाउनेपर्ने विषयबारे सुझाव दिएका हुन् । 

Advertisement

खनालले गठबन्धनमा अहिले दलहरु थप्ने विषयमा जे आधारमा यसअघि थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताउँदै उनले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय निर्वाचनलाई मध्यनजर गरेर आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको बताए । 

नेता खनालले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए । उनले वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि वृहत वाम एकताको सम्भावना नरहेको बताए । 

खनालले भने, ‘गठबन्धनमा दलहरु जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले तालमेल गर्नुपर्छ । कसैले अपमान फिल गरेमा उ तालमेलमा आउँदैन । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ । वाम एकताको लागि सबैभन्दा ठूलो पार्टीले पहल गर्नुपर्ने हो, उसमा त्यो रुची मैले देखिन ।’

परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जान लागेको बारेमा यो महत्वपूर्ण भ्रमण रहेको बताए । उनले चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने बताए । उनले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताइवान, तिब्बत चीनकै भएको दाबी गरे । 

खनालले यी क्षेत्रमा जुनकुनै बेलामा पनि चीनले दाबी गर्नसक्ने बताए । उनले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने बताए । खनालले बेलाबेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्ने आशा व्यक्त गरे । 

उनले भने, ‘चीनका केही कोर इन्ट्रेसका कुराहरु छन् । उसले सबै देशसँग हाम्रा कोर इन्ट्रेसलाई ध्यान दिनुस्, त्यसका आधारमा हामी मैत्रीपूर्ण सम्बन्ध र सहयोग राख्छौँ भन्ने कुरा गर्दै आएको छ । ऐतिहासिक रुपमा पनि हङकङ चीनको अभिन्न अंग हो । ब्रिटिसले लिएको थियो । फर्काइसक्यो । ताईवान त अभिन्न अंग नै थियो । त्यहाँ शासककाबिरुद्ध क्रान्ति भएपछि भागेर त्यहाँ बसेका मात्रै हुन् । त्यसैले चीनले जुनसुकै बेलामा पनि त्यो क्षेत्र दाबी गर्ने कुरा आन्तरिक हो । तिब्बत पनि चीनको अभिन्न अंग हो । हाम्रो देशका सबै पार्टी र सरकार यी सबै ठाउँहरु चीनका अभिन्न अंग हुन् भन्नेमा छ । नेपाल एक चीन नीति र नेपालको भूमि कुनैपनि मित्रराष्ट्रबिरुद्धमा प्रयोग गर्न नदिने हामी एकमत छौँ । परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्वपूर्ण भ्रमण हो । हामीले छिमेकबाट लिनसक्ने लाभका बारेमा हामीले सोच्नुपर्छ । परराष्ट्रमन्त्रीको यो भ्रमणले केही राम्रा उपलब्धिहरु हासिल हुनेछ । बीआरआईको बारेमा सम्झौता भएको छ, केहीपनि कार्यान्वयन भएको छैन । सीमाको बारेमा पनि समस्या आउन खोज्छ, त्यसको समाधानको दीर्घकालीन आधार तयार पार्नुपर्छ । सम्भव हुने सहमतिका बारेमा पनि कुरा होस् भन्नेकुरा नेपाली जनताको चाहना हो ।’

खनालले भारतले अहिलेसम्म नेपालबाट जाने चियाको लागि ट्याक्स नलगाएको भन्दै भारतबाट प्राप्त भइरहेको सुविधालाई कटौती गर्ने हिसावले भारतको संसदमा संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएकाले त्यसप्रति सरकारले उचित कदम चाल्न्को लागि प्रधानमन्त्रीलाई भेटेर अनुरोध गरेको बताए । 

Advertisement

Advertisement