मर्जर/प्राप्ति सम्झौता गरेका आठ वाणिज्य बैंकले कति कमाए नाफा ?, कस्तो छ वित्तीय अवस्था ?

Advertisement

काठमाडौँ । राष्ट्र बैंकबाट मान्यता प्राप्त क वर्गका २६ वाणिज्य बैंकहरु मध्ये हाल ८ वटा वाणिज्य बैंकले मर्जर/प्राप्तिमा हस्ताक्षर गरेका छन् । 

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक तथा नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले एक आपसमा मर्जर/प्राप्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

Advertisement

यसरी मर्जर÷प्राप्ति सम्झौतामा हस्ताक्षर गरी एकीकृत कारोबारको प्रक्रियामा अघि बढेका ८ वाणिज्य बैंकको आव २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण हालै सार्वजनिक भएको छ । यी आठवटै वाणिज्य बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको छ । 

नाफा बढी कमाउने ‘टप फाइभ’ बैंकः कुन बैंकको वित्तीय सूचक कस्तो ?

यस्तो छ मर्जर/प्राप्तिमा जान लागेका ८ बैंकको वित्तीय अवस्थाः   

१. सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३५ करोड रुपियाँ नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ६२ करोड रुपियाँ थियो । बैंकले ब्याज आम्दानीबाट ३ अर्ब २० करोड रुपियाँ कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ४३ करोड रुपियाँ थियो ।

९ अर्ब ५३ करोड रुपियाँ चुक्ता पूँजी रहेको सेञ्चुरी बैंकले गतवर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ९१ करोड रुपियाँ गरेको छ । गतवर्षको नाफाबाट मात्र बैंकले साढे ९ प्रतिशत लाभांश दिने क्षमता राख्छ । असार मसान्तसम्म बैंकमा ९८ अर्ब ९५ करोड रुपियाँ निक्षेप तथा कर्जा ८८ अर्ब ८५ करोड रुपियाँ छ । अघिल्लो वर्ष बैंकमा ९३ अर्ब ४९ करोड निक्षेप तथा कर्जा ७८ अर्ब थियो ।

बैंकको पुँजीकोष अनुपात १३.५४ प्रतिशत छ । १.५९ प्रतिशत खराब कर्जा छ । अघिल्लो वर्ष १.९८ प्रतिशत खराब कर्जा थियो । १०.२३ प्रतिशत बेसरेट छ । अघिल्लो वर्ष ७.८० प्रतिशत थियो । बैंकको स्प्रेडदर ३.२६ प्रतिशत अघिल्लो वर्ष रहेको यो वर्ष ४.०३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.२१ रुपियाँ छ ।

२. सिभिल बैंक 
सिभिल बैंकले गत आर्थिक वर्ष १ अर्ब ३८ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । ​अघिल्लो आर्थिक वर्षमा सिभिल बैंकको नाफा ५२ करोड ७७ लाख रुपियाँ थियो । यो दोब्बरभन्दा बढीको वृद्धि हो । ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिभिल बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा १ अर्ब भएको उल्लेख गरेको छ । यसबाट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ६४ करोड कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट अघिल्लो वर्ष २ अर्ब २१ करोड थियो । बैंकको पुँजीकोष अनुपात १६.०५ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ८५.४६ प्रतिशत छ । बेसरेट १०.४६ प्रतिशत छ । खराब कर्जा अनुपात १.०८ प्रतिशत छ । बैंकको स्प्रेडदर ४.२९ प्रतिशत छ । जुन अघिल्लो वर्ष २.५२ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ छ । असार मसान्तसम्म बैंकको निक्षेप ९४ अर्ब ४९ करोड तथा कर्जा ८३ अर्ब ४४ करोड छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकमा निक्षेप ८८ अर्ब तथा कर्जा ७९ करोड थियो ।

३. मेगा बैंक
मेगा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड खुद नाफा गरेको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा अघिल्लो वर्षको तुलनामा नाफा करिब २० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब ४३ करोड रहेको थियो ।

बैंकले ब्याज आम्दानीबाट ५ अर्ब ९१ करोड रुपियाँ आम्दानी गरेको छ । १६ अर्ब १२ करोड चुक्ता पुँजी रहेको मेगा बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा १ अर्ब ६३ करोड गरेको जनाएको छ । यसबाट बैंकको लाभांश क्षमता १० प्रतिशत हुन्छ । 

असार मसान्तसम्म बैंकमा १ खर्ब ५३ अर्ब निक्षेप छ । यस्तै कर्जा १ खर्ब ४७ अर्ब रहेको छ । बैंकमा अघिल्लो वर्ष असार मसान्तमा १ खर्ब ३६ अर्ब निक्षेप थियो भने कर्जा १ खर्ब ३६ अर्ब कर्जा थियो । खराब कर्जा अनुपात ०.७४ प्रतिशत रहेको मेगा बैंकको असार मसान्तसम्म कर्जा निक्षेप अनुपात ८९.०५ प्रतिशत छ । प्रतिशेयर आम्दानी १७.५७ रुपैयाँ छ । बेसरेट १०.०१ प्रतिशत छ । अघिल्लो वर्ष ३.६१ प्रतिशत बेसरेट थियो । बैंकको स्प्रेडदर ४.३६ प्रतिशत छ । अघिल्लो वर्ष ४.१६ प्रतिशत थियो ।

४. हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ४८ करोड २१ लाख रुपियाँ खुद नाफा कमाएको छ ।  यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.२२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९९ करोड रुपियाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढे पनि अन्य सञ्चालन आम्दानी घट्दा बैंकको नाफा घट्न पुगेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढेको छ ।  खुद फि तथा कमिसन आम्दानी ३१.०५ प्रतिशत बढेको छ । 

बैंकको कुल सञ्चालन आम्दानी ८.२८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १७.८१ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २२ करोड रुपियाँ अन्य सञ्चालन आम्दानी, गत आर्थिक वर्षमा घटेर १२ करोड ४० लाखमा सीमित भएपछि बैंकको कुल आम्दानी र सञ्चालन मुनाफा घट्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६६ करोड १५ लाख रुपियाँ छ ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ९३ पैसा घटेर १९ रुपियाँ १४ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपियाँ ५० पैसा छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी २१.३८ प्रतिशत बढेको छ भने जगेडा कोष ३.२३ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको निक्षेप १९.४३ प्रतिशत र कर्जा १७.४१ प्रतिशत बढेको छ।

५. नेपाल इन्भेष्टमेण्ड बैंक 
नेपाल इ्भेष्टमेन्ट बैंकले खुद नाफा १४ दशमलव ८३ प्रतिशतले बढाएको छ । बैंकले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा चार अर्ब आठ करोड रुपैयाँ भएको जानकारी दिएको छ । यद्यपि यो वृद्धिदर अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । त्यस वर्ष बैंकले ५० प्रतिशतभन्दा बढी दरले नाफा बढाएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा वृद्धिदर घटे पनि ब्याज आम्दानीमा भने वृद्धि भएको छ । खुद ब्याज आम्दानी ६.३६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ब्याज आम्दानी ३.१९ प्रतिशतले घटेको थियो । विवरणअनुसार बैंकले कर्जाको ब्याज उठाएर पाँच अर्ब ९४ करोड रुपियाँ आम्दानी गरेको छ । जबकी अघिल्लो वर्ष यस्तो आम्दानी पाँच अर्ब ५९ करोड रुपियाँ थियो ।

शुल्क र कमिशनबापत बैंकले एक अर्ब २६ करोड रुपैयाँ कमाएको छ । यो पनि अघिल्लो आर्थिक वर्षको तुलनामा बढी छ। बैंकको ब्याज स्प्रेड दर ३.३३ प्रतिशतबाट ४ प्रतिशत पुगेको छ।

६. ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष ०७८/०७९ मा खुद नाफा २५ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षमा बैंकले ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख रुपियाँ खुद नाफा गरेको थियो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा बढाएको छ । यो नाफाबाट बैंकले सेयरधनीहरूलाई ३ अर्ब १९ करोड ९५ लाख रुपियाँ लाभांश वितरण गर्न सक्ने जानकारी दिएको छ । 

बैंकको खुद ब्याज, शुल्क र कमिशन आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । गत आर्थिक वर्षमा बैंकको खुदब्याज तथा शुल्क र कमिसन आम्दानी बढेर १२ अर्ब ४१ करोड ६९ लाख रुपियाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकको खुदब्याज, शुल्क तथा कमिसन आम्दानी १० अर्ब ६७ करोड ३१ लाख रुपियाँ थियो । समीक्षा अवधिमा बैंकले ५० करोड ३७ लाख रुपियाँ पुरानो ऋण असुली गरेको वित्तीय विवरणमा उल्लेख छ । 

बैंकको नाफा बढेसँगै प्रति शेयर आम्दानी (ईपीएस) पनि वृद्धि भई २१.८८ रुपियाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस १९.२५ रुपियाँ थियो । यस्तै प्रतिशेयर नेटवर्थ १५६.११ रुपैयाँ छ । निष्क्रिय कर्जा अनुपात घटेर १.२२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १.४१ प्रतिशत थियो । बैंकको निक्षेप लागत ७.४८, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८९.२१, आधारदर ९.४०, ब्याजदर अन्तर (स्प्रेड) ४.२६ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ । 

७. बैंक अफ काठमाण्डू
बैंक अफ काठमाडूको खुद नाफा ४.८६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा १ अर्ब ७२ करोड रुपियाँ खुद नाफा कमाएको बैंकले गत आवको सोही अवधिमा १ अर्ब ८१ करोड बढी रुपियाँ  खुद नाफा कमाउन सफल भएको हो । 

बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड रुपियाँ छ । हाल १० अर्ब ६२ करोड रुपियाँ चुक्ता पुँजी कायम बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १२.२५ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ ।

गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले ४ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै सो अवधिमा बैंकले २ अर्ब ५३ करोड रुपैयाँ संचालन नाफा कमाएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.१८ प्रतिशत, कस्ट अफ फण्ड १२.९४ प्रतिशत, बेसरेट ९.८३ प्रतिशत, स्प्रेडरेट ३.६१ प्रतिशत र सीडी रेसियो ८८.२५ प्रतिशत कायम छ । साथै, सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपियाँ ०४ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ६७ रुपियाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात २६.२७ प्रतिशत रहेको छ ।

८. प्रभु बैंक
प्रभु बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५१.११ प्रतिशत बढेर २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपियाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत बढेर ६ अर्ब १८ करोड २ लाख ८९ हजार रुपियाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब २ करोड ३३ लाख ५ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ४७.७५ प्रतिशत बढेर ३ अर्ब ८४ करोड ६२ लाख ५० हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत बढेर १ अर्ब २९ करोड ३२ लाख ४५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत बढेर ७ अर्ब ९४ करोड ६९ लाख २६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा भने ४.६६ प्रतिशत घटेर १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपियाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपियाँ, जगेडा कोष २३.८२ प्रतिशत बढेर ७ अर्ब १३ करोड ७१ लख १५ हजार रुपियाँ, निक्षेप ८.३७ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ६५ करोड २१ लख ७१ हजार रुपियाँ र कर्जा ८.०३ प्रतिशत बढेर १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपियाँ पुगेको छ ।

असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ५ रुपियाँ ३० पैसा बढेर २० रुपियाँ ४६ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.१७ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपियाँ १६ पैसा रहेको छ ।

ग्लोबल आइएमई बैंक र बीओकेबीच मर्जर सम्झौता, चुक्ता पूँजी ३४ अर्ब ४१ करोड

इन्भेष्टमेन्ट र मेगाबीच मर्जर सम्झौता, नविल, ग्लोबल आईएमई र एनआईसी एशियालाई टक्कर

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, १ः१ स्वाप रेसियोमा सहमति

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर

 

Advertisement

Advertisement