परिसंघले कात्तिक १७ देखि रोजगार तथा सीप मेला गर्ने, विदेशी कम्पनीहरु पनि सहभागी हुने

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले ‘सीएनआई रोजगार तथा सीप मेला २०७९’ आयोजना गर्ने भएको छ । बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम गर्ने उद्देश्यका भृकुटीमण्डपमा आगामी कात्तिक १७ देखि २० गतेसम्म यस्तो मेला गर्न लागेको परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ति कसरी गर्न सकिन्छ ? भन्ने विषयमा मेलामा वृहद छलफल हुने जनाइएको छ । यसबाट सरकार तथा अन्य सरोकारवालाहरुलाई रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुको आवश्यकतामा काम हुने, नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान हुने परिसंघका उपाध्यक्ष राजेश अग्रवालले बताए । 

Advertisement

उनले मेलामै निश्चित संख्यालाई जागिर दिने उद्देश्य भने नरहेको बताए । अग्रवालले यस मेलाबाट रोजगारदाताको ध्यान केन्द्रित हुने र बेरोजगारीको अवस्था थाहा हुने बताउँदै देशको बेरोजगारीको स्थितिबारे सम्बन्धित निकायको ध्यानाकर्षण पनि हुने बताए । 

‘मुलुकमा हरेक वर्ष न्यूनतम पाँच लाख रोजगारीको खोजीमा हुन्छन् र चालकदेखि व्यवस्थापक तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको देखिन्छ । तर, एकातर्फ आवश्यकता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजीमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ । त्यस्तै, कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन ? यसको लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ?’ भन्ने विषयमा केन्द्रित रहेर परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा यो मेला आयोजना गर्न लागिएको परिसंघले जनाएको छ । 

Advertisement

मेलाले विभिन्न कम्पनी तथा कामको खोजीमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने अग्रवालले बताए । मेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता, सीप विकाससम्बन्धी विभिन्न विषयमा वृहद छलफल, सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुती हुनुका साथै आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क गर्न सकिने छ । 

परिसंघले मेलामा दुई सयभन्दा बढी कम्पनीहरुको सहभागिता रहने जनाएको छ भने कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमूलक उद्योगहरु, निजी तथा  सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजारभन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा राखिएको छ । 

Advertisement