प्राविधिक शिक्षा पढ्न क्यानले ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने, लर्डबुद्ध कलेजमा पढ्नुपर्ने

Advertisement

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले प्राविधिक शिक्षातर्फ विगत चार बर्षदेखि प्रदान गर्दै आईरहेको छात्रबृतिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला गरेको छ । 

महासंघले, देशभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्नेगर्छ । यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको जनाइएको छ ।  

Advertisement

‘नेसनल आईसीटी स्कलरसिप– २०७९’मा देशका सबै क्षेत्रका विद्यार्थीलाई समान अवसर प्राप्त हुने र हरेक प्रदेशमा एक जना छात्रालाई पूर्ण छात्रवृत्ति हुने, बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबैंमा यसको पहुँच पुर्याउन छात्रवृत्तिले सहयोग पुगेको भन्दै महासंघले यसअन्तर्गत हाल ४६ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिएको छ ।  

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रबृति प्रदान गरिने र आईसीटी मेरिट स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जना छात्रलाई छात्रवृत्ति प्रदान गरिने महासंघले जनाएको छ ।  

यस बर्ष सबै विद्यार्थीले गरेर एक करोड ९५ लाख ५८ हजार रुपियाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तहअन्तर्गत बिएससी आईटीको अध्ययन गर्नुपर्नेछ । 

सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टू वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन। 

यसका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि महासंघले छनौट समिति पनि बनाएको छ ।

Advertisement

Advertisement