सजन हत्याकाण्ड, नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दोष स्वीकार गर्नुपर्छः सूर्य सिलवाल

Advertisement

काठमाडौं । बीमा क्षेत्रसँग सम्वन्धित सजन विक हत्याकाण्डपछि एकले अर्कोलाई आरोपित गरेर आफू जोगिने प्रयास हुँदै आएको छ । यस हत्या प्रकरणमा पुनर्बीमा कम्पनीको भूमिकालाई लिएर पनि प्रश्न उठेको छ । 

रिलाइन्स लाइफमार्फत भएको उक्त बीमाको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा भएको थियो । नेपाल पुनर्बीमाले उक्त बीमामा भएको फ्रड आफूले पत्ता लगाएको भनेर प्रचार गरिरहेको बेला बीमा क्षेत्रको नियामक बीमा समितिले नेपाल पुनर्बीमाले राम्रो जोखिमाङ्कन नगरेका कारण सजन विक हत्यामा संलग्नहरुलाई दावी भुक्तानी हुन पुगेको बताएको छ । 

Advertisement

यस घटनामा नेपाल पुनर्बीमाको लापरबाही देखिएको भन्दै समितिका अध्यक्ष सूर्य सिलवालले बीमाको नाममा जघन्य अपराधको घटना भएकाले नेपाल पुनबीृमाले आफ्नो कमजोरी स्वीकार्दै गम्भीर बन्नुपर्ने बताए । 

नेपालका बीमा कम्पनीहरु स्वदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन त्यति रुचि देखाउँदैनन् । यही बेलामा समितिले सरकारकै लगानी रहेको नेपाल पुनर्बीमाको जोखिमांकन पद्दतीमा खोट औंल्याएको हो । 

सजन विक हत्याकाण्डलाइ लिएर बीमा अभिकर्ता, बीमा कम्पनी र बीमा समितिबीच आरोप प्रत्यारोप चलिरहेको बेला दश अर्ब रुपियाँ पुँजीमा स्थापना भएको बीसौं अर्बंको पुनर्बीमा गर्ने पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरुले ल्याएका व्यवसाय के कति आधारमा सही वा गलत छ ? भनेर जोखिमको समयमा मूल्यांकन नगर्ने, दाबी भुक्तानी भएपछि नक्कली बीमित फेला परेको कुरालाई आफ्नो अनुकुलतामा प्रचार गर्ने काममा लागेको देखिएको हो । 

नेपालमा पुनर्बीमाले जोखिमांकन गर्नुपर्ने आफ्नो दायित्वलाई हलुका रुपले हेरेको भन्दै सिमितिले पुनर्बीमा कम्पनी पनि बीमा व्यवसायको शुद्धीकरण गर्न र फ्रड हुन नदिन  जिम्मेवार हुनुपर्ने बताएको छ । बीमा कम्पनीहरुले समेत जोखिमांकन गर्दा बीमामा हुने अनधिकृत कामहरु न्यूनीकरण हुने र बीमाप्रति जनविश्वास बढ्ने समितिको तर्क छ । 

नेपालमा पुनर्बीमाको मात्रै नभएर बीमा कम्पनीको समेत जोखिमाङकन प्रणाली कमजोर हुँदा सही बिमितले भुक्तानी पाउन झन्झट व्यहोर्नुपर्ने, फ्रड गर्नेले सजिलै भुक्तानी पाउने अवस्था रहेको सजनक विक हत्याकाण्डबाट पनि देखिन्छ । विदेशमा गाडी दुर्घटना हुँदा बीमाको काजग देखाए पुग्ने भए पनि नेपालमा बीमा कम्पनीले फोटो, प्रहरी रिर्पोट, प्रमुख जिल्ला अधिकारीको विवरण र सर्भेयरको रिर्पोट तयार पार्दा पनि बीमालाई झट्ट विश्वास गर्ने अवस्था छैन् । बीमा कम्पनीहरुले नै धेरै चेक जाँच गर्नुपर्ने बाध्यता रहेको स्वीकार गरिरहेको बेला जोखिमाङकनमा चनाखो हुनुपर्ने पुनर्बीमा कम्पनी बीमा कम्पनीको कमजोरी औंल्याएर पानीमाथिको ओभानो हुने प्रयास गर्दै आएको छ । 

नेपाल पुनर्बीमा कम्पनीले आफूहरुले बीमाका कारण भएको दोषी पत्ता लगाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरिरहेको बेलामा रिलायन्स लाइफ इन्स्योरेन्स र बीमा समितिले समेत विक हत्याकाण्डमा दोष स्वीकार गर्नुपर्ने देखिन्छ । 

समितिका अध्यक्ष सूर्य सिलवाल भन्छन्, ‘पुनर्बीमा कम्पनीले पनि जोखिमांकन गर्ने बेलामा नै आफूले लिने व्यवसायको अवस्था हेर्न जरुरी हुन्छ । यहाँ त हत्या भइसकेपछि, दाबी भुक्तानी भइसकेपछि बीमा सही भयो कि गलत भयो भनिएको छ । यो त ठिक भएन् ।’

उनले बीमितको हत्या हुनु दुखदायी कुरा भएको भन्दै यसमा एकजनाले मात्र भन्दा पनि समग्र बीमा क्षेत्रले नै यस्ता विकृति सुधारका लागि गम्भीर हुनुपर्ने बताए । 

यता नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझीले भने कुनै पनि प्रतिक्रिया दिन चाहेनन् । 

Advertisement

Advertisement