पुबुदु बाहिरिएपछि आएका मनोज प्रभाकरको परीक्षणमा कति सफल होला नेपाली क्रिकेट टिम ?

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ । 

सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसेकेको छ । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेको प्रशिक्षणमा पछिल्लो पटक दुई वटा भ्रमण गरेको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो । विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौति भने धेरै छन् । 

Advertisement

पुबुदुले प्रशिक्षकबाट छोडेपछि भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो । तर नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतीको सामना गर्न उनलाई त्यति सहज भने हुनेछैन । किनभने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आएका छन् । 

साथै उनले कुनैपनि राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको नेतृत्व सम्हाल्न लाग्दैछन् । के के हुन् त प्रशिक्षक मनोजका चुनौतिहरु, जुन नेपाली क्रिकेटमा सुधारका लागि निकै आवश्यक छन् । पछिल्लो पटक नेपालले स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षा अनुसारको नतिजा निकाल्न सकेन । 

चार खेलमध्ये एक खेलमा मात्र सुखद् नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारणहरु केलाउन थालिएको छ । मुख्यतः टोलीमा एकजुट समस्या, ब्याटिङ समस्या बाहिरि सतहमा देखिन थालेका छन् । 

यससँगै एक दिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ । क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुवन्ध गरेको नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए । उनले प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाई प्राप्त गर्ने विश्वास राखे । 

उनले भने, ‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौं । पारिवारिक कारणले उहाँ जानुभयो । रिक्त भएको पदमा लामो कसरतपछि मनोज  प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौं । उहाँलाई हाराहारी १४–१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ । उहाँ अनुवन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाई पाउने अपेक्षा राखेको छ । किनभने कुनै समय भारतका लागि प्रभावकर अब्बल खेलाडी थिए । पछिल्लो समय अफगानीस्तानलाई टेस्ट नेशन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो ।’

प्रशिक्षक मनोज प्रभाकर शनिवार (भोलि) साँझ नेपाल आउँदै छन् । नेपाली टोली सम्हाल्न आउनलागेका मनोजलाई नेपाली क्रिकेट सुधार गर्ने चुनौती धेरै छन् । मनोजलाई सिमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्ने पहिलो चुनौति रहेको छ । 

प्रभाकर जहाँ क्रिकेटका लागि कुनैपनि कन्जुस्याँई नहुने अब्बल देश भारतका खेलाडी हुन् जहाँ पूर्वाधारको कुनै कमी थिएन । तर उनलाई नेपालमा भएको सिमित साधानको अधिकतम प्रयोग गर्दै विश्व स्तरमा प्रतिस्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ । 

अहिले टोलीमा नयाँ युवा खेलाडीको वचश्र्व रहेको छ । टोलीमा अनुभवि खेलाडीहरु प्रायः शुन्य छन् । यही अवस्थामा क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकलले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताए । उनले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकितामा राख्नुपर्ने आवश्यकता रहेको बताए । 

पाठकले भने,  ‘अहिले नेपाली टोली ब्यालेन्स टीम छ । युवा टोलीको वर्चश्व छ, जुन माथि चढ्ने क्रममा छ । नयाँ टोलीले जिम्मेवारी लिन चाहन्छ । सिनियर खेलाडीले बिस्तारै विश्राम लिने अवस्था पनि छ । अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ । क्रिकेटको स्तर अघि बढाउनका लागि प्रशिक्षकसँग हामीले योजना माग्छौं । उहाँले ल्याएको योजनलाई हामी सम्बोधन गछौं ।’

घरेलु एक दिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रष्ट देखाएको छ । नेपाल, ओमान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, अमेरिका र युएईलाई एसोसियटका शीर्ष टोलीका रुपमा लिइन्छ । 

तर, लगानी र संरचनाको हिसावमा नेपाल र ती देशको आकाश पातालको फरक छ । तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भएपनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ । 

नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ । यसका अलावा नियुक्त हुन लागेका मनोज प्रभाकरलाई पूर्वप्रशिक्षकले दर्शाएको टोली भित्रको गुट उपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ । 

मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप पनि खेलाडीमा नलाग्ने गरेको होइन् । 

प्रभाकरका लागि अर्को चुनौती प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु पनि रहेको छ । थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था प्रभाकारको जिम्मा हुनेछ । विश्वकप क्रिकेट लिग–२ को शीर्ष ३ मा रहँदै एकदिवसीय विश्वकपको बाटो जीवितै राख्नु तथा २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ । नान

Advertisement

Advertisement