अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रिने

Advertisement

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएको छ । संगठनले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आन्दोलनको चेतावनी दिएको हो । 

संगठनका अध्यक्ष लेखनाथ कोइरालाले आफूहरुको मागबमोजिम तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी नभएमा संगठनको नेतृत्वमा चरणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिए । 

Advertisement

उनले आवश्यक परे आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान गरिने बताए । कोइरालाले प्रस्तावित संघीय निजामती सेवा ऐन स्थानीय, प्रदेश र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीहरुलाई मार्गनिर्देशन गर्ने मूल कानून निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारले ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाए ।  

तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी गर्न सरकारलाई विशेष पहल गरिने उनको भनाई थियो । अब संगठनले नियमित रुपमा गतिविधिहरु सार्वजनिक गर्ने बताउँदै कोइरालाले सरकारले संघीय निजामती सेवा ऐन तयार पार्न नसकेकोमा आपक्ति जनाए । 

उनले भने, ‘यहाँ भन्दा लाजमर्दो कुरा केही हुँदैन् । एक लाख २५ हजार कर्मचारीलाई परिचालित गर्ने ऐन सरकार संसदबाट ४ वर्षसम्म ल्याउन सकेन । सरकारले हाम्रै लागि ल्याउन लागेको ऐन हामीसँग सरसल्लाह गर्दैन् ।’

कर्मचारी सम्बन्धि नीति नियम बनाउँदा अनिवार्य रुपमा निजामती क्षेत्रका ट्रेड युनियनलाई राखेर छलफल गर्नुपर्छ भनेर निजामती सेवा ऐनभित्र लेखिएको उल्लेख गर्दै कोइरालाले यसप्रति सरकारले चासो नदिएको बताए । उनले भने, ‘अघिल्लो सरकारले अलिअलि निजामती ट्रेड युनियनसँग सल्लाह गर्न खोजे पनि यो गठबन्धनको सरकारले एकपटक पनि सम्झेन् ।’ 

उनले संघीय निजामती ऐन जारी गर्ने सम्बन्धमा सरकारलाई ७१ बुँदे सुझाव तयार पारेको सुनाउँदै भने, ‘कर्मचारीको सरुवा, वृत्तिविकास, ट्रेड युनियन, कर्मचारीको सेवा सुविधा, उमेरको विषयमा सुझाव दिएका छौं ।’

Advertisement

Advertisement