उपेन्द्र महतोले मेडिकल क्षेत्रमा ६० अर्बसम्म लगानी थप्दै, नेपाललाई ‘मेडिकल हब’ बनाइने

Advertisement

काठमाडौं । व्यवसायी एवं गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोले मेडिकल क्षेत्रमा ५० देखि ६० अर्ब रुपियाँ लगानी गर्ने योजना बनाएका छन् । 

नेपाललाई मेडिकल हबको रुपमा विकास गर्ने लक्ष्यसहित उनले काठमाडौंमा कम्तिमा पाँच वटा र प्रदेशहरुमा एक–एक ठूला अस्पताल निर्माणको योजना बनाएका छन् । महतोको लगानीका तीन वटा अस्पताल अहिले काठमाडौं उपत्यकामा सञ्चालित छ भने एउटा बीरगञ्जमा सञ्चालनमा आउने क्रममा छ । 

Advertisement

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले उपचारका लागि विदेश जानुपर्ने अवस्था अन्त्यका लागि  मात्रै नभएर विदेशीहरु नेपालमा उपचार गर्न आउन भनेर भरपर्दो र विश्वस्तरीय सेवासहितका अस्पतालहरु निर्माण गर्न लागेको बताए । 

अहिले काठमाडौं उपत्यकामा महतोको लगानी रहेको मेडिसिटी हस्पिटल, ग्राण्डी इन्टरनेशनल हस्पिटल र मेडिकेयर हस्पिटल सञ्चालनमा छ । मेडिकेयरको स्तरोन्ती गर्ने तयारी गरिएको छ । उपत्यका बाहिर वीरगञ्जमा बयोधा हस्पिटल सञ्चालनमा आइसकेको छ । लक्ष्यअनुसार बाँकी अस्पतालहरुका लागि हाल सञ्चालनमा भइरहेका अस्पताल किन्ने वा नयाँ निर्माण गर्ने भन्ने कुरामा आफूहरुले अध्ययन गरिरहेको डा. महतोले बताए । 

उनले भने, ‘हाम्रो लक्ष्य भनेको नेपाललाई मेडिकल हबको रुपमा विकास गर्ने भन्ने हो ताकी विदेशबाट धेरैभन्दा धेरै बिरामीहरु नेपालमा उपचार गर्न आउन । प्रदेशहरुमा दुईसय शैयाका अस्पताल निर्माणमासात अर्ब रुपियाँसम्म लगानी गर्ने र कुल ५० देखि ६० अर्ब रुपियाँ लगानी गर्ने योजनाका साथ काम गरिरहेका छौं ।’

विदेशबाट आउने विरामीलाई समेत सेवा दिने र मेडिकल क्षेत्रमा चौबिसै घण्टा सेवा दिनुपर्ने क्षेत्र पनि भएकाले त्यही अनुसारको सेवा सुविधा, दक्ष र अनुभवी जनशक्ति, पूर्वाधार आवश्यक पर्ने बताउँदै महतोले थपे, ‘हाम्रो लक्षित वर्ग भनेको बढी आए भएकाहरु नै हो । किनभने कम आए भएका बिरामीहरुको उपचार सरकारी अस्पतालहरुमा पनि भइरहेको हुन्छ । उनीहरुलाई थोरै शुल्कमा स्वास्थ्य उपचार सेवा दिनु राज्यको बढी दायित्व पनि हुन्छ । हामीले सञ्चालन गरेका अस्पतालमा बढी खर्च गर्नसक्ने बिरामीहरुलाई नै हो । किनभने खर्च गर्नसक्नेले खर्च गर्न पाउनुपर्छ । खर्च गर्न विदेश नै जानुपर्छ भन्ने बाध्यता बनाउनु हुन्न । विदेशमा जस्तै सेवा सुविधा र विश्वास नेपालमा पनि दिलाउन यो सबै लगानी र प्रयास भइरहेको छ ।’ 

अरु उद्योगमा दुई–तीन बर्षमा प्रतिफल आउन थाल्ने भए पनि मेडिकल क्षेत्र निकै खर्चिलो तर नाफा कम हुने भएकाले यस क्षेत्रमा दश–एघार बर्षको धैर्यता आवश्यक पर्छ भन्दै उनले धैर्यता राख्न नसक्ने मानिसले मेडिकल क्षेत्रमा लगानी नगर्दा राम्रो हुने बताए । महतोले अहिले नै इण्डिया र भुटानबाट मेडिसिटीमा बिरामीहरु उपचार गर्न आउन थालेको बताउँदै यो क्रम बढेर जाने बताए । 

काठमाडौं उपत्यकामा निर्माण हुने अस्पतालसँगै विदेशबाट आउने बिरामीका लागि अपार्टमेन्टसहितको आवासीय सुवधाको व्यवस्था हुने बताउँदै उनले काठमाडौं बाहिर भने तत्कालै त्यस्तो सुविधा दिने योजना नरहेको सुनाए । महतोले विदेशी विरामीका लागि नेपालको उपचार गुणात्मकरुपमा सस्तो हुने बताए । महतोले उदाहरण दिँदै शुल्कमा नै विदेशमा र नेपालमा ठूलो अन्तर रहेको र मुद्राको विनिमय दरले पनि विदेशी विरामीलाई नेपालमा फाइदा हुने बताए । तर त्यसरी आउने बिरामी र उनीहरुको कुरुवालाई सरकारले सहजरुपमा मेडिकल भिसा दिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । 

उपचार सेवा विश्वस्तरको भए पनि शुल्क नेपालको स्तरको भएन भने पैसा हुनेहरु विदेश नै जाने र विदेशका पनि नेपालमा नआउने महतोको अनुभव छ । उनले नेपालको वातावरण र आफूहरुले दिने राम्रो स्वास्थ्य सेवाका कारण नेपाललाई मेडिकल हबको रुपमा विकास गर्न कठिनाई नरहेको विश्वास व्यक्त गरे । 

Advertisement

Advertisement