सौराहामा पहिलो पाँचतारे स्तरको रिसोर्ट बनाउँदै रामेश्वर साह, लगानी ८५ करोड

Advertisement

काठमाडौं  । होटल तथा रिसोर्टमा ठूलो लगानी भइरहेको बेला पर्यटकीय क्षेत्र सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिपु’ सञ्चालनमा आउने भएको छ ।

अन्तर्राष्ट्रिय हस्पिटालिटी व्यवसायमा स्थापित फ्रान्सेली ब्राण्ड लुभ्र होटल्स ग्रुपसँगको सहकार्यमा सञ्चालनमा आउने यो होटलको लगानीकर्ता गैरआवासीय नेपालीहरुका एक अगुवा तथा व्यवसायी रामेश्वर साह हुन् । उनले यसअघि गैरआवासीय नेपाली संघको अध्यक्षका लागि समेत प्रतिस्पर्धा गरेका थिए । 

Advertisement

उनको केटीएम हस्पिटालिटिमार्फत निर्माणाधीन ‘रोयल टुलिप रिसोर्ट’ डेढ वर्षअघि सौराहामा साधारण बुटिक रिसोर्टको रुपमा निर्माण सुरु भएको थियो । तर, काम गर्दै जाँदा पाँचतारे रिसोर्ट सञ्चालन गर्ने सोच बनेको साहले बताए । 

चितवनमा एउटै पनि पाँचतारे होटल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटेल चल्ने र खुल्ने गरेकोले फरक खालको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्न आफूले लगानी विस्तार गरेको साहले बताए । 

उनले भने, ‘अहिले ६४ कोठाको पाँचतारे रिसोर्टको निर्माणको कार्य हुँदैछ । अर्को बर्षको दशैंसम्म सञ्चालनमा ल्याउने योजनाका साथ कामहरु भइरहेको छ ।’ साहले थपे, ‘बहुर्राष्ट्रिय ब्रान्ड यहाँ यसको व्यवस्थापनको लागि आउँदै छ । यसरी ब्रान्डले व्यवस्थापन गरेको होटल चितवनमा एउटा चाहीं छ । तर त्यो पाँचतारे होइन् । हामीले निर्माण गरिरहेको पाँचतारे स्तरको रिसोर्ट हो ।’ 

कुल ३४ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा २२ वटा भवनमा पाँच प्रकारका कोठाहरु हुनेछन् । चितवनमा लोकल ब्रान्डका होटलहरु मात्र रहेकोमा  रोयल टुलिपु पहिलो विदेशी ब्रान्डको रिसोर्ट हुनेछ  ।

रिसोर्टमा आगन्तुकले डुंगा सयर, जलमहलको बास, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, चिल्ड्रेन पार्क, एमपी थियटर पदयात्रा मार्ग, आफ्नै बेकरी सहितको ग्रिल बार, रेष्टुरेण्ट र सांस्कृतिक कार्यक्रम जस्ता सेवाहरु पाउने छन् । 

केटिएम हस्पिटालिटिका अध्यक्ष साहले पर्यटन क्षेत्र सदैव नेपालीको अर्थतन्त्रको बलियो खम्बा भइरहँदा कोभिड महामारीले अकल्पनीय क्षति पुर्याएको बताए । यद्यपि नेपालमा पर्यटनको ठूलो संभावना रहेकाले गुणस्तरीय होटल तथा रिसोर्टहरुको धेरै आवश्यकता रहेको बताए । 

गुणस्तरीय सेवामार्फत् पर्यटक आकर्षित गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान दिने विश्वासका साथ रिसोर्ट सञ्चालन गर्न लागेको साहको भनाई छ । उनले ८५ करोड रुपियाँ लागतमा रिसोर्ट बनाइरहेको बताए । 

आफू करिव १७ बर्ष विदेशमा बसेर होटलसम्वन्धी ज्ञान हासिल गरेको आधारमा नेपालमा पनि लगानी गरेको सुनाउँदै साहले रोयल टुलिपु रिसोर्ट नेपाली माटोलाई सुहाउने, संस्कृति झल्काउने हुने बताए । 

Advertisement

Advertisement