विदेशी विनिमय सञ्चिति बढ्योः '७.८ महिनाको वस्तु आयात धान्न सक्छ'- राष्ट्र बैंक

Advertisement

काठमाडौँ । २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड कायम भएको छ । 

नेपाल राष्ट्र बैंकद्वारा आज प्रकाशित आव २०७८/७९ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो ।  

Advertisement

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असार मसान्तमा १५.१ प्रतिशतले कमी आई रु.१०५६ अर्ब ३९ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई रु. १५९ अर्ब ४१ करोड पुगेको छ । २०७९ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कूुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

चालु खाता एवम् शोधनान्तर स्थिति
आर्थिक वर्ष २०७८/७९ मा चालु खाता रु.६२३ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आई रु.९ अर्ब ९९ करोड पुगेकोछ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले कमी आई रु.१८ अर्ब ५६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१९ अर्ब ५१ करोड रहेको थियो ।

समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।


 

Advertisement

Advertisement