सिटिजन लाइफको अभिकर्ता कमिशनमा बेथिति, नियम मिचेर २५ प्रतिशत दिँदा पनि समिति मौन

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नियम मिचेर मनलाग्दी तरिकाले अभिकर्तालाई कमिशन दिने गरेको देखिएको छ । नियामक बीमा समितिको समेत निर्देशन अटेर गर्दै कमिशन दिँदा पनि समितिले भने त्यसको अनुगमन र कारवाहीमा उदासिनता देखाएको छ ।

अभिकर्ता लोभ्याउन सिटिजन लाइफले २५ प्रतिशतभन्दा बढीसम्म कमिशन दिने गरेको देखिएको हो । नियम भने १८ प्रतिशतभन्दा बढी दिन नपाउने छ । स्वयम सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले २५ प्रतिशतभन्दा धेरै कमिशन दिने गरेको स्वीकार गरेका छन् । अभिकर्ता लोभ्याउने नाममा जनताको लगानी रहेको पब्लिक कम्पनीले मनलाग्दी कमिशन दिन मिल्दैन । तर सिटिजन लाइफमा भने चरम बेथिति देखिएको छ । 

Advertisement

उक्त तथ्य बाहिरिएसँगै सिटिजन लाइफले यसमा आफूहरु मात्रै दोषी नरहेको जिकिर गरेको छ । सीईओ पौडेलले यसमा आफूहरुलाई मात्र दोष लगाउनुभन्दा पनि समग्र बजार सुधारका लागि नियामक निकायले प्रभावकारी भूमिका खेल्न ठिक हुने प्रतिक्रिया दिए । 

जीवन बीमक संघका उपाध्यक्षसमेत रहेका उनले थपे, ‘अभिकर्ता कमिशन भनेको गम्भीर विषय हो । यसमा अहिलेसम्म हामीले बीमा समितिको निर्देशन अनुसार नै काम गरेको अवस्था छ । कमिशनमा समस्या कहीं कतै छ भने पनि बजारमा रहेका त्यस्ता समस्या अन्त्य हुनुपर्छ ।’ 

सीईओ पौडेलले सिटिजन लाइफको मात्र नभई समग्र जीवन बीमाको पक्षबाट आफ्नो धारणा राख्न रुचाए । उनले कुनै कम्पनी लक्षित सूचनाहरु बजारमा आउनुका पछाडी व्यवसायिक प्रतिस्पर्धा नभएको तर्क गर्दै भने, ‘अभिकर्ताले काम गर्छु भनेर हाम्रो कम्पनीमा आउँदा हामीले उहाँहरुलाई स्वागत गर्ने हो । यो त अरु कम्पनीले पनि गर्छन् । स्वभाविक कुरा भयो ।’ 

सिजिटन लाइफका अभिकर्ताले राम्रो गर्दा आरोप लागेको हुनसक्छ भन्दै पौडेलले अभिकर्ताले सिटिजन लाइफमा मात्रै नभएर कतै पनि बढी कमिशन पाउन हुन्न भन्ने पक्षमा आफू रहेको बताए । उनले अभिकर्ताको कमिशनको अवस्थाबारे सबै कम्पनीमा बीमा समितिले आवश्यकताअनुसार हेर्नुपर्छ भन्दै अभिकर्ताले बढी कमिशन जहाँ लिए पनि त्यो गलत हो भने । 

पौडेलले भने, ‘जीवन बीमाका पूराना र ठूला कम्पनीहरुले पनि अभिकर्तालाई एक अर्को कम्पनीमा तान्ने होडमा कमिशनमा लोभ्याउने खेल सुरु गरेका हुन् ।’ 

यता बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले अभिकर्ताको कमिशन १८ प्रतिशतभन्दा बढी हुन्न भनेर समितिले तोकिसकेपछि बढी दिनु गलत भएको बताए । उनले भने, ‘कम्पनी ए बी वा सी जे पनि बीमा समितिले नै अभिकर्ताको कमिशन १८ प्रतिशतसम्म मात्र दिनु भनेको ठाउँमा त्यो भन्दा बढि दिन पाइँदैन् । कसैले दिएको भए त्यो गलत हो ।’ 

उनले केसअनुसार समितिले त्यसमा अनुसन्धान गर्ने बताए । कारबाहीको सम्बन्धमा भने अधिकारीले केही बोल्न चाहेनन् । 

Advertisement

Advertisement