नेपालको उड्डयन सुरक्षा औषतभन्दा राम्रो छ, ईयूले प्रतिवन्ध सुचीबाट हटाउनुपर्छः मन्त्री श्रेष्ठ

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दावी गरेका छन् । 

नेपाल हवाई यातायात नियन्त्रक संघको २१ औं वार्षिक साधारणसभामा उनले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू)को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे । 

Advertisement

नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएको चर्चा गर्दै श्रेष्ठले ईयूले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताए । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यान्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो । ईयूको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्वन्धी निर्णय पुनर्विचार गर्ने उनको आशा छ । 

मन्त्री श्रेष्ठले भने, ‘ईयूको हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय हो । प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपको आकाशमा उड्न पाउने छ ।’  

सन् २०१३ यता ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको थियो भने आईकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको थियो । हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेबार हुनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले हवाई उड्डयन क्षेत्र प्राविधिक र विशिष्ट प्रकृतिको भएकोले हवाई यातायात नियन्त्रकको भूमिका महत्वपूर्ण हुने बताए । 

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर लगायतलाई सम्मान गरिएको थियो ।

Advertisement

Advertisement