'क्रस होल्डिङ' नतोड्ने कम्पनीका अध्यक्षहरुलाई नै कारवाही गर्दै समिति, सुरुवात नेपाल इन्स्योरेन्सबाट

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले मर्जरमा बदनियतपूर्ण तरिकाले आनाकानी गर्ने बीमा कम्पनीको सञ्चालक समितिका अध्यक्षलाई अब भकाभक कारवाही गर्ने बताएका छन् । 

उनले त्यसको सुरुवात नेपाल इन्स्योरेन्स कम्पनीबाट गर्ने पनि बताए । नेपाल इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियलर इन्स्योरेन्स कम्पनीमा आईएमई समूहको दोहोरो लगानी (क्रस होल्डिङ) रहेकाले उनीहरुलाई मर्जरमा जान समितिले निकै समय अघिदेखि सुझाव दिँदै आए पनि उनीहरुले आनाकानी गर्दै आएका छन् । 

Advertisement

यी तीन कम्पनीलाई मर्जर गराउने कार्यको नेतृत्व गर्न सुझाव दिएर दुई कार्यकालसम्म कायम रहेका नेपाल इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति अध्यक्ष अर्जुन शर्मा पौडेल उदासिन भएर बसेकाले पहिलो कारवाही उनीबाट गर्न लागिएको सिलवालको भनाई छ । 

उनले कर्पोरेट नेपालसँग भने, ‘अहिले मर्जरका लागि भनेर नै बीमा कम्पनीहरुले विभिन्न छुट सुविधाहरु पाएको अवस्था छ । तर, मर्जरमा पनि नजाने र आफ्नो पुँजी समेत नबडाउने कम्पनीहरुलाई म कारबाही गर्छु । सबैभन्दा पहिला त म सञ्चालक समितिका अध्यक्षहरुलाई नै कारबाही गर्छु । अबको केही दिनमा नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षबाट कारवाही सुरु हुन्छ ।’ 

अध्यक्ष पौडेलले आफ्नो कार्यभार सम्हालेको दुई वर्ष पूरा भइसकेको छ । समितिको निर्देशन अनुसार नै कुनै पनि अध्यक्षले दुई कार्यकालभन्दा बढी सोही कम्पनीमा बस्न मिल्दैन । तर पौडेललाई मर्जरकै लागि कायम राखिएको अवस्था छ । पछिल्लो समय बीमा क्षेत्रमा मर्जरको लहर चलेको बेलामा समेत क्रस होल्डिङ भएका कम्पनीहरु नै मर्जरमा जान आनकानी गरेपछि सिलवाल रुष्ट भएका हुन् । 

नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले पौडेलको दुई कार्यकालको म्याद गुज्रिए पनि आईएमई जनरल र प्रुडेन्सियलसँग मर्जरका लागि भन्दै उनको म्याद जोगाएको थियो । तर पौडेल बैठक भत्ता खाने र शेयर बढाउने चलखेलमा लागेको भन्दै समितिले उनीदेखि रुष्ट बनेको हो । 

मर्जरमा जान आनकानी गर्नेहरुमाथि कठोर नीति अपनाउनुुपर्ने देखिएको भन्दै समितिले सुरुवात नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष, त्यसपछि आईएमई जनरलका अध्यक्षलाई कारवाही गर्ने बताए । तोकिएको पुँजी पुर्याउन आनाकानी गर्नेलाई कारबाहीको विकल्प नरहेको सिलवालको भनाई छ । 

उनले भने, ‘म त यसमा कुनै पनि सीईओलाई दोष दिन्न । जसको जहाँ जे भूमिका हुन्छ, त्यही प्रश्न गर्नु ठिक हुन्छ । बीमा कम्पनीहरु मर्जरमा लाने कुरा एउटा सीईआले भनेर मात्रै हुँदैन् । त्यसैले अब म सिधै संचालक समिति अध्यक्षलाई कारबाही गर्ने पक्षमा पुगेको छु ।’

यता नेपाल इन्स्योरेन्स कम्पनीले भने समितिको निर्देशन मान्न आफूहरु तयार रहे पनि बजार उपयुक्त पार्टनर नभेटिएको तर्क गर्दै आएको छ । नेपाल इन्स्योरेन्ससहितका कम्पनी मर्जरमा पनि नजाने, क्रस होल्डिङ पनि नतोड्ने, पूँजी पनि नबढाउने, तर संस्थापक शेयरको भाउ बढाउन चलखेलमा लाग्ने गरेको देखिएको ठहर गर्दै समितिले यस्ता हर्कत तुरुन्तै सच्चिनुपर्ने बताएको छ । 

Advertisement

Advertisement