बढ्यो विद्युतीय भुक्तानीः क्यूआर कोड र मोबाइल बैंकिङबाट उच्च, कुन माध्यमबाट कति ?

Advertisement

काठमाडौँ । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । 

प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युतीय कारोबारमा वृद्धि भएको हो । 

Advertisement

सो आवमा विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्यूआरमार्फत भुक्तानीलगायतको प्रयोगका साथै कारोबार रकमसमेत बढेको छ । सार्वजनिक तथ्याङ्कानुसार गत आवमा क्विक रेस्पोन्स (क्यूआर) कोडमा आधारित भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । अघिल्लो आवका तुलनामा गत आवमा क्यूआर कोडको प्रयोग गरी कारोबार सङ्ख्या चार सय प्रतिशतले बढेको छ । 

अघिल्लो आवमा क्यूआर कोडको प्रयोग गरी ४२ लाख ८१ हजार नौ सय ९४ पटकमा रु १४ अर्ब ५२ करोड ६० लाखको कारोबार भएको छ । जसमा अघिल्लो आवको समीक्षा अवधिमा यसको प्रयोग आठ लाख ५५ हजार पाँच सय ६६ पटकमा रु तीन अर्ब ६५ करोड १० लाख बराबर मात्रै भएको थियो ।

त्यस्तै गत आवमा प्रिपेड कार्डका माध्यमबाट ५७ हजार नौ सय ४२ पटकमा रु ४५ करोड ८० लाख बराबरको कारोबार भएको देखिन्छ । जुन अघिल्लो आवको तुलनामा दुई सय ३६ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो कार्डको प्रयोगबाट १७ हजार दुई सय ३१ पटकमा रु सात करोड ३० लाखको कारोबार भएको थियो ।

उपलब्ध विवरणअनुसार प्वाइन्ट अफ सेलको प्रयोग ८४ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । अघिल्लो आवमा छ लाख ३५ हजार पाँच सय ९९ पटकमा रु दुई अर्ब ६६ करोड ५० लाखको कारोबार भएकामा गत आवमा ११ लाख ७३ हजार पाँच सय ४८ पटकमा रु पाँच अर्ब १८ करोड ३० लाखको कारोबार भएको छ । 

त्यस्तै  कारोबारमा क्रेडिट कार्डको प्रयोग अघिल्लो आवका तुलनामा गत आवमा ८३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा एक लाख २४ हजार दुई सय ४३ पटकमा रु ८५ करोड ९० लाखको कारोबार भएकामा गत आवमा दुई लाख २७ हजार नौ सय २० पटकमा रु एक अर्ब ४९ करोडको कारोबार भएको छ । 

मोबाइल बैंकिङबाट हुने कारोबार ५० प्रतिशतले वृद्धि
केन्द्रीय बैंकको पछिल्लो विवरणानुसार मोबाइल बैंकिङको प्रयोग अघिल्लो आवका तुलनामा गत आवमा ५० प्रतिशतले बढेको छ । अघिल्लो आवमा एक करोड ३७ लाख नौ सय ९३ पटकमा रु ७३ अर्ब ७२ करोड ९० लाख बराबरको कारोबार भएकामा गत आवमा दुई करोड पाँच लाख ६४ हजार तीन सय आठ पटक मोबाइल बैंकिङको प्रयोग गरी एक खर्ब ६३ अर्ब २५ करोड ५० लाखकोे कारोबार भएको छ । 

त्यस्तै डेबिट कार्डका माध्यमबाट गत आवमा एक करोड ११ लाख २७ हजार ६ सय ८३ पटकमा रु ८३ अर्ब २० करोडको कारोबार भएको देखिन्छ । अघिल्लो आवमा यसको प्रयोग ७४ लाख ६५ हजार चार सय ३९ पटकमा रु ६६ अर्ब ४१ करोड ७० लाखको कारोबार भएको थियो, जुन प्रयोगका आधारमा अघिल्लो आवको भन्दा ४९ प्रतिशतले बढी हो । 

राष्ट्र बैंकका अनुसार एटिएमको प्रयोग गत आवमा अघिल्लो आवका तुलनामा ४६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा एटिएमको ६९ लाख १९ हजार एक सय ९९ पटक प्रयोग भई रु ६४ अर्ब ३८ करोड ९० लाख कारोबार भएकोमा गत आवमा एक करोड एक  लाख ६९ हजार तीन सय ३१ पटकमा रु ७९ अर्ब ४५ करोड ८० लाखको कारोबार भएको छ ।  

त्यस्तै समीक्षा अवधिमा कनेक्ट आइपिएसको प्रयोग ३३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३२ लाख चार हजार आठ सय ४५ पटक कनेक्ट आइपिएस प्रयोग गरी रु दुई खर्ब ३७ अर्ब ७५ करोड २० लाखको कारोबार भएकोमा गत आवको समीक्षा अवधिमा ४२ लाख ७० हजार ९९ पटकमा रु तीन खर्ब ६९ अर्ब २२ करोड ३० लाखको कारोबार भएको छ । 

यसैगरी रियल टाइम ग्रु सेटलमेन्ट (आरजीटीएस) प्रणालीमार्फत भएको भुक्तानीको सङ्ख्या ३७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५९ हजार छ सय ५५ पटक यसको प्रयोग भएको थियो भने गत आवमा यस्तो प्रणाली ८१ हजार आठ सय १७ पटक  प्रयोग भई रु ४३ खर्ब ४९ अर्ब पाँच करोड ६० लाख बराबरको कारोबार भएको विवरण सार्वजनिक भएको छ । 

त्यस्तै अघिल्लो आवका आधारमा यस आवमा ई –कमर्स ३२ प्रतिशतले, वालेट २९ प्रतिशतले, ब्रान्चलेस बैंङ्किङ १६ प्रतिशतले, आइपिएस १३ प्रतिशतले र इसिसिको तीन प्रतिशतले प्रयोग बढेको विवरण सार्वजनिक भएको छ । वालेटमार्फत गत आवमा एक करोड ६२ लाख छ हजार तीन सय ६५ पटकमा रु १७ अर्ब ७५ करोड २० लाखको कारोबार भएको देखिन्छ ।

त्यस्तै गत आवमा शाखा रहित बैंकिङ अन्तर्गत ६९ हजार चार सय ६५ पटकमा रु एक अर्ब ५० करोड ३० लाखको कारोबार भएको छ । विवरणअनुसार गत आवमा आइपिएस माध्यमबाट १३ लाख २२ हजार एक सय ७४ पटकमा रु दुई खर्ब ७५ अर्ब ७५ करोड २० लाख, इसिसि माध्यमबाट १४ लाख ८६ हजार पाँच सय ५१ पटकमा रु आठ खर्ब ५० अर्ब ६४ करोड ९० लाखको कारोबार देखिन्छ ।

इन्टरनेट बैंकिङको प्रयोगदर घट्यो तर कारोबार रकम भने बढ्यो 
सार्वजनिक विवरणानुसार अघिल्लो आवका आधारमा गत आवमा इन्टरनेट बैंकिङका माध्यमबाट भुक्तानी भएको सङ्ख्यमा कमी आएको देखिएको छ । अघिल्लो आवमा तीन लाख २९ हजार पाँच सय २३ पटक इन्टरनेट बैंकिङको प्रयोग भएकामा गत आवमा तीन लाख १८ हजार पाँच सय ९८ पटक यसको प्रयोग भएको छ । 

यता कारोबार रकमका आधारमा भने यसको प्रयोग १३ प्रतिशले बढेको छ । अघिल्लो आवमा यस्तो प्रणाली बाट रु १३ अर्ब ८३ करोड २० लाख बराबरको कारोबार भएकामा गत आवमा १५ अर्ब ६३ करोड ८० लाखबराबरको भुक्तानी भएको देखिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार अघिल्लो आवका आधारमा गत आवमा क्यूआरकोडमा आधारित भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । 

वित्तीय साक्षारता र प्रविधिको पहुँचमा भएको वृद्धिले विद्युतीय भुक्तानीमा सर्वसाधारणको सहभागिता बढेको जानकार बताउँछन् । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण मुलुकमा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको केन्द्रीय बैंकले जनाएको छ । रासस

Advertisement

Advertisement