Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् । बुधवार प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने बताए । 

घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताए । उनले प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको बताउँदै वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत निर्यात गर्न सफल भएको जिकिर गरे । 

Advertisement

घिसिङले भने, ‘विद्युत प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र विद्युत प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ । जति हामीले जोखिम मोल्छौं त्यति प्राधिरकणलाई फाइदा हुन्छ । अहिले प्राधिकरण निजी क्षेत्रबाट विद्युत उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ । त्यसको कारण प्राधिकरणको ग्राम माथि उकालो लाग्दैछ । उकालो लागि रहन्छ । तपाईंहरुलाई प्रतिवद्धताका साथ भन्छु आगामी दिनमा प्राधिकरणको ग्राफ अझै उकालो लाग्छ । यो विषयमा हामी बढी चिन्तित हुनुपर्ने आवश्यकता छैन् ।’

घिसिङले विद्युत प्राधिकरणका कर्मचारीको तलव खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने गरेको सुनाए । 

घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलव खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताउँदै प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारको बताए । उनले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको बताए । उनले प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको बताए । 

घिसिङले प्राधिकरण राज्यको सबै संयन्त्र नभएको भन्दै राज्यले पनि गर्नुपर्ने बताए । उनले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढाएर उर्जा क्षेत्रको ठूलो फड्को मारको बताए । 

उनले विद्युत प्राधिकरणले ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताए । घिसिङले विद्युत खपतमा भएको वृद्धि, विद्युत चुहावट नियन्त्रण, प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि, ४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रणका कारणले मुनाफा आर्जन सम्भव भएको दाबी गरे । 

घिसिङले नेपालका ९३ प्रतिशत जनताले विद्युत सुविधा पुगेको बताए । उनले वैकल्पिक उर्जा समेत गरेर करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएको दाबी गर्दै अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको र आगामी दुई वर्षभित्र शतप्रतिशत जनता सामु विद्युत पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन, स्रोत परिचालन गरेको बताए । 

घिसिङले विद्युत चुहावट प्राधिकरणको आर्थिक सुधार गर्नु मुलमन्त्र पनि बताए । उनले भारतलाई अहिले दैनिक ४०० सय मेगावट विद्युत निर्यात गरिरहेको बताए । विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको घिसिङको भनाई छ । 

Advertisement

Advertisement