Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता बिधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् । 

अध्यक्ष ओलीले संसदले एक पटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको गम्भीर महत्वको विधेयकलाई संसद बाहिरै बसेर सत्तारुढ गठबन्धनले सो निर्णय गरेको भन्दै आक्रोश समेत पोखे । 

Advertisement

ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बुधबार ओलीले संसदमा सो विधेयकको विषयमा बहस समेत गर्न नदिएर सत्तारुढ गठबन्धनले ‘आफूलाई खोपडी नभएको मसले’को रुपमा प्रस्तुत गरेको बताए । 

संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारुढ गठबन्धनले आफ्नो बहुमतको तागत देखाईदिने भन्दै सो विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको ओलीको भनाई थियो । उनले सत्तारुढ गठबन्धनको सो निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै त्यस्ताहरुको हातमा देश चल्न नसक्ने बताए । 

ओलीले भने, ‘नागरिकता विधेयक राष्ट्रपतिले संसदमा एकपटक विचार गरोस्, कमीकमजोरी नरहोस् । यो धेरै गम्भीर महत्वको प्रश्न हो भनेर फिर्ता पठाउनु भएछ । संसदमा होइन् बाहिर बसेर राष्ट्रपतिले फिर्ता पठाउनु भएपछि पाखुरी छामेर राष्ट्रपतिले फिर्ता पठाउने ? जस्ताको तस्तै फिर्ता पठाउने । हिजो निर्णय गरे । संसदमा छलफल हुनै बाँकी छ । के छलफल हुन्छ अब । पाखुरेहरुले पाखुराको भाषा बोलिसके हिजै–जस्ताको तस्तै पठाईदिने । हाम्रो बहुमतको तागत देखाई दिने । को हो राष्ट्रपति, संसदलाई विचार गर्नु भन्ने ? यस्ता घमण्डीहरुले तर्क छैन, तार्किकता होइन । बल, पाखुरा, मसलका कुरा गर्नेहरु । यस्तो देश चलाउँछन ?  देशको दूर्भाग्य हो यो । यस्तो सरकार छ देशमा । यो संसदीय अभ्यास नै होइन । संसदमा काँग्रेस होला, माओवादी केन्द्र भन्नेहोला । माधव नेपालको पार्टी होला । गठबन्धनको पार्टी होला नि संसदमा । त्यहाँ बहस गरे हुन्छ नि । अनि बाहिर यसै फिर्ता गर्ने निर्णय त भईसक्यो उनीहरुको । कस्तो संसदीय अभ्यास । विचारविमर्श नगर्ने, सोझै पठाई दिने–जस्ताको तस्तै । कुरा राम्रो, नराम्रोको मतलव छैन । हाम्रो पाखुराको कुरा हो यो । यस्तालाई सरकारका राख्नुहुन्छ ? नेपाली जनताले । यी खोपडीमा टाउकामा नभएका, पाखुरामा मसल मात्रै भएका हुन । खोपडीहीन मसले ।’

नेता ओलीले काँग्रेस लोकतान्त्रिक पार्टी नरहेको दावी समेत गरे । प्रचण्डको कार्यकर्ता बनेर हिँडिरहेको काँग्रेस आचरण, नीति र व्यवहार सबै हिसावले लोकतान्त्रिक हुनै नसक्ने उनको तर्क थियो । 

ओलीले विगतमा पनि काँग्रेसले देशविरोधी कार्य गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहार समेत गुमाएको आरोप लगाउँदै माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी भएकाले त्यसको बारेमा टिप्पणी गरिरहन आवश्यक नै नरहेको बताए । 

ओलीले भने, ‘काँग्रेस अब कहीँकतै लोकतान्त्रिक पार्टी रहेन । काँग्रेसले लोकतान्त्रिक पार्टी हुँ भन्न अव बेकार छ । काँग्रेस प्रचण्डको कार्यकर्ता हो । अव अरु पार्टीहरुको चर्चा नगरौं । समय किन खर्च गर्नु ? काँग्रेसमा लोकतान्त्रिक आचरण, नीति, सिद्धान्त, व्यवहार केही पनि रहेन । इतिहासमा पनि काँग्रेसले पटकपटक अलोकतान्त्रिक क्रियाकलाप गरेर आएको पार्टी हो । देश हितका विरुद्ध अनेक क्रियाकलाप गरेर आएको पार्टी हो । त्यो काँग्रेस सुध्रियला कि । अनुभवबाट सिक्ला कि भनेको । झनझन काँग्रेस बिग्रदै गएको छ । माओवादी पार्टी भने प्रचण्ड एण्ड कम्पनी हो । यसले कुनै पार्टीको रुपनै लिएको छैन । र, काँग्रेस प्रचण्ड एण्ड कम्पनीको पछिपछि त्यही नीतिमा लुरुलुरु हिँडी राखेको छ । त्यही व्यवहार र आचरणमा ।’

Advertisement

Advertisement