चुनावको मुखमा फेरि जग्गा बाँड्ने तयारी, सुकुम्बासीलाई भोट बैंक बनाउँदै सरकार

Advertisement

काठमाडौं । निर्वाचनको मिति घोषणा गरेको सरकारले भूमिहीनलाई जग्गा बाँड्ने तयारी थालेको छ । गत स्थानीय तहको निर्वाचनताका जग्गा वितरण गरेको सरकारले फेरि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मुखमै जग्गा बाँड्ने तयारी गरेको हो ।

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना निकालेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले भूमिहीन तथा आवासविहीन (सुकुम्बासी), अव्यवस्थित बसोबासीलाई पाँच वर्षभित्र सुविधासम्पन्न घर उपलब्ध गराउने, भूमिमा स्वामित्व, खाद्यान्न तथा रोजीरोटीको व्यवस्था राज्यद्वारा नै सुनिश्चित गराउने घोषणापत्र जारी गरेका थिए। त्यही घोषणापत्रको बलमा दलका नेता–कार्यकर्ता जनप्रतिनिधि चुनिए तर पाँच वर्ष बित्दासम्म भूमिहीन, वास्तविक सुकुम्बासीले आवास त परको कुरा, आधारभूत सुविधा पनि पाएका छैनन् ।

Advertisement

सुरक्षित आवाससँगै सुकुम्बासीहरू शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता सेवा–सुविधाबाट पनि वञ्चित छन्। भूमि अधिकारसम्बन्धी अभियानकर्मी भगवती अधिकारीको भनाइमा बस्ने ठाउँको टुंगो नहुँदा त्रासैत्रासमा जीवन कटाइरहेका सुकुम्बासीहरू राज्य व्यवस्था परिवर्तनका साक्षी मात्रै भए। चुनाव आउँदा राजनीतिक दल आश्वासन बाँड्दै आइपुग्छन् । निर्वाचित भइसकेपछि जग्गा वितरणको विषय सेलाउने गरेको छ। 

कता कता बाँडिदैछ लालपूर्जा ?
लगत संकलनको काम नटुंगिएको भन्दै सरकारले दोस्रोपटक लगत संकलनको काम थालेको हो । प्रदेश नम्बर १ मा सुनसरीको गढी गाउँपालिका, उदयपुरको त्रियुगा नगरपालिका, झापाको बुद्धशान्ति गाउँपालिका, मेचीनगर नगरपालिका, कमल गाउँपालिका र मोरङको कानेपोखरी गाँउपालिका छन् । 

मधेश प्रदेशबाट बाराको जीतपुरसिमरा उपमहानगरपालिका, सिरहाको गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका छन्। 
बागमती प्रदेशका ललितपुर र काठमाडौंका स्थानीय तह छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिका छन् भने काठमाडौँको गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका र टोखा नगरपालिका छन् । 

गण्डकीअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका र आबुखैरेनी गाउँपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका र स्याङ्जाको गल्याङ नगरपालिका छ । 

लुम्बिनीतर्फ पाल्पा तानसेन नगरपालिका, रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिका छन् । त्यस्तै यसै प्रदेशको रुपन्देशीमा तिलोत्तम नगरपालिका छ भने अर्घाखाचीमा 
छत्रदेव गाँउपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, शितगंगा नगरपालिका, सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका छन् ।

कर्णाली प्रदेशमा दैलेखको दुल्लु नगरपालिका र आठविस नगरपालिका छन्।सुदूरपश्चिमअन्तर्गत कैलालीमा भजनी नगरपालिका, लम्कीचुहा नगरपालिका र धनगढी उप-महानगरपालिका छन् । 

यसै प्रदेशको कन्चनपुरमा पर्ने कृष्णपुर नगरपालिका, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिका छन्।
  

Advertisement

Advertisement