सबैभन्दा पहिला यातायात बीमा सुधार्नुपर्ने हो, तर समस्या अझै छः बीमक संघका अध्यक्ष क्षेत्री

Advertisement

काठमाडौं । बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले यातायात बीमामा अझै पनि समस्या रहेको खुलासा गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले विगतदेखि कायम हुँदै आएका बेथिति अझै पनि विद्यमान गरेको भन्दै त्यसको समाधान गर्नुपर्नेमा अझै समाधान हुन नसकेको बताए । 

क्षेत्रीले भने, ‘हामीले विगतमा यातायात बीमाको समस्या समाधान गर्न कै लागि पुलको स्थापना गरेका हौं । तर पहिले पनि बजारमा पूर्णरुपमा सुधार भएको छैन् ।’उनले यातायात क्षेत्रमा अहिले पनि अस्वस्थ प्रतिस्पर्धा रहेको र त्यस्ता समस्या समाधान गर्न बजार सुधारको काम हुनुपर्ने बताए । 

Advertisement

सगरमाथा इन्स्योरेन्स कम्पनीमा सीईओसमेत रहेका क्षेत्रीले नियामक बीमा समितिले समग्र बीमा क्षेत्रको सुधारको लागि काम गर्न आवश्यक रहेको बताए । उनले यातायात बीमाका कारण बीमितले विभिन्न हैरानी खेपेको सुन्नु परेको बताए । क्षेत्रीले सगरमाथा इन्स्योरेन्सको विषय मात्रै नभएर २० वटै निर्जीवन बीमा कम्पनीमा रहेका समस्या सुधार गर्नुपर्ने बेला आएको बताए । 

यातायात बीमामा रहेको समस्याबारे बीमा समिति पनि जानकार रहेको उनले बताए । क्षेत्रीले भने, ‘सोही कारण चार वर्षअघि यातायात बीमालाई पुलमार्फत गरिने व्यवस्था गरिएको थियो । यातायात बीमामा सुधार हुनुपर्ने कुराहरु समेटेर मोटर निर्देशिका समेत तयार गरिएको थियो । तर, अहिले उक्त निर्देशिकाले समेटेका कुराहरु कागजमा मात्रै सिमित भएका छन् ।’

निर्जीवन बीमा कम्पनीका धेरै सीईओहरु मोटर बीमामा रहेको समस्याबारे खुलेर कुरा गर्न चाहाँदैनन् । यातायात कार्यालयमा ग्राहकहरु पुग्दा उनीहरुले भोग्नु पर्ने सास्तीहरु कायमै रहे पनि समस्या समाधानका लागि पहल भएको छैन् । 

अध्यक्ष क्षेत्री भन्छन्, ‘बेथिति छ भन्ने सबैलाई थाहै छ । अब हामीले बोलेर मात्रै परिवर्तन हुने होइन् । यातायात कार्यालयका लागि बीमा कम्पनीहरुले व्यवसाय भित्राउने नाममा आफ्नो अनुशासन मिचेर काम गर्नु हुँदैन ।’

उनले बीमा कम्पनीहरुका लागि क्षेत्र तोकिएको भए पनि बेला बेलामा कार्यालय समय बाहिर पनि यातायात बीमा हुने गरेको खबर बीमक संघले पाएको बताए । त्यस्ता समस्या समाधानका लागि एक जनाले मात्रै भन्दा पनि सबै बीमा कम्पनीहरुले सफा व्यवसाय गर्न लागे मात्रै सुधार हुने बताए । 

सीईओ क्षेत्रीले सगरमाथा इन्स्योरेन्सको हकमा भने भीआईपी अन द स्पट बीमालेखको सुरुवात गरेर सकेसम्म छिटो ग्राहकको समस्या समस्याका लागि पहल गरिरहेको बताए । उनले अब बीमा कम्पनीले पनि एकले अर्कोलाई दोषारोपण गर्ने भन्दा पनि वास्तविक समस्या रोक्न सबैले पहल गर्नुपर्ने बताए । 

अझै पनि सय–पचास रुपियाँका लागि बीमालाई बदनाम गराउने तत्वहरु सक्रिय रहेकाले सकेसम्म बीमितले आफ्नो बीमा आफै गर्न उनले अनुरोध गरे । क्षेत्री भन्छन्, ‘हाम्रो हातबाट समाधान हुने कुरा त हामीले अहिले तुरुन्तै समाधान गर्न लागि परेका छौं । तर पनि अझै समस्या देखिएको छ । यसको मतलब हाम्रो पहलले मात्रै पूरै समस्या सक्किएको छैन् । अब यातायात बीमालाई पनि आहा भन्ने बनाउन जरुरी छ ।’

Advertisement

Advertisement