पछिल्लो समय ‘ईभी’को बिक्री आठ सय प्रतिशतले बढेको थापाको दावी

Advertisement

काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन (इलेक्ट्रिकल भेइकल–ईभी) प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । 

विश्व बजारमा वातावरणमैत्री सवारी साधनको प्रयोग तीब्र भएपछि नेपालमा पनि यसको प्रभाव देखिएको हो । सरकारले यस्ता सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरेकाले र देशभित्र विद्युत उत्पादन पनि बढेकाले विद्युतीय सवारी साधन प्रयोगकर्ता बढेका हुन् । 

Advertisement

वैदेशिक मुद्राको सञ्चितिमा चाप परेका कारण सरकारले महंगा सवारी साधनको आयातमा कडाई गरे पनि विद्युतीय सवारी साधनको हकमा भने किलोवाटको क्षमतानुसार मापदण्ड बनाई सहुलियत र आयातमा सहजीकरण गरेको छ । हाल नेपाली बजारमा सय किलोवाटसम्म क्षमताका दर्जन बढी ब्राण्डमा विभिन्न मोडलका विद्युतीय सवारी साधन उपलब्ध छन् । 

यता नेपाल विद्युत प्राधिकरणले पनि ईभीलाई लक्षित गर्दै देशका ५० स्थानमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । निजी क्षेत्रले पनि आफ्नै लगानीमा कतिपय ठाउँमा यस्ता स्टेशन निर्माण सुरु गरेको देखिन्छ । 

ईभीको माग बढेसँगै यस वर्ष नेपालमा पहिलो पटक ‘नाडा ईभी एक्स्पो २०२२’ हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गर्ने एक्स्पोको स्टल बुकिङसमेत सुरु भइसकेको छ । 

नाडाका अध्यक्ष ध्रुव थापाले ईभीको प्रयोग बढेको बताउँदै विदेशमा मात्रै हुने गरेको ‘ईभी शो’ नेपालमा पहिलो पटक गर्न लागिएको बताए । उनले भने, ‘यो प्रदर्शनी विशुद्ध ईभी र ईभीसँग सम्बन्धित सामग्री हुन्छन् ।’ स्टल बुकिङ यही भदौ ५ गतेसम्मको लागि खुल्ला भएको छ ।’

थापाका अनुसार हाल नेपालमा ईभीसँग सम्बन्धित ४०–४५ वटा कम्पनीहरुले प्रायः दुई र चार पाङ्ग्रे गाडी आयात गरिराखेका छन् । केही व्यवसायीले तीन पाङ्ग्रे विद्युतीय सवारी साधनसमेत एक्स्पोमा सहभागी गराउन चाहिराखेका छन् । 

तर, तीन पाङ्ग्रे ईभीलाई भने प्रदर्शनीमा सामेल गर्ने वा नगर्ने भन्नेबारे निर्णय भइनसकेको उनले बताए । थापाले  मेलामा विशेषगरी  दुई र चार पाङ्ग्रे गाडी र त्यसलाई चाहिने उपकरण तथा पार्सहरुको प्रदर्शनी हुन्छ भने एक्स्पोमा ३० देखि ३५ वटा कम्पनी सहभागी जनाउने छन् ।

ईभी पारखीहरुको लागि एक्स्पो आकर्षित हुने भन्दै थापाले विभिन्न ब्राण्डमा आफूलाई मन पर्ने ईभी एकै ठाउँमा किन्न र अवलोकन गर्न पाइने बताए । एक्स्पोमा केही विदेशी कम्पनीले पनि भाग लिने इच्छा देखाएको उनले बताए । 

भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आयोजना हुने मानिसको ठूलो सहभागिता हुने नाडाको विश्वास छ । पछिल्लो समय ईभीको बिक्री आठ सय प्रतिशतले वृद्धि भएको दावी गर्दै थापाले मानिसको आकर्षण बढेकोले एक्स्पोमा संख्या र व्यापार दुवै बढ्ने विश्वास व्यक्त गरे । सरकारले अन्य गाडीमा लगाएको आयात प्रतिबन्ध खुलेपछि भने नाडाको अटो एक्स्पो गर्ने उनले बताए । नाडा अटो एक्स्पोको सट्टामा नभएर ईभीलाई मात्रै फोकस गरेर पहिला एक्स्पो गर्न लागिएको नाडाको भनाई छ ।

Advertisement

Advertisement