चर्को विरोध हुँदाहुँदै विवादास्पद नागरिकता विधेयक जस्ताको तस्तै संसदबाट पारित

Advertisement

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो । जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० यति मत परेको थियो । 

Advertisement

सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नी सापकोटाले घोषणा गरे । 

यसअघि विधेयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अब रोकेर राख्न सक्ने अवस्था नरहेको बताए । उनले प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक अनुसार नै सो विधेयक आएकाले त्यसको विरोध गर्न नमिल्ने तर्क समेत गरे । 

खाँणले सरकारले सो विधेयक संविधान अनुकूल हुने गरी ल्याएको दावी गरे । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतविभाजनको माग गरेपछि मतदान भएको हो । प्रतिनिधिसभाले पहिलोपटक गत साउन १६ गते उक्त विधेयक दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

राष्ट्रपतिबाट साउन २९ गते उक्त विधेयक प्रतिनिधिसभामा पुनर्विचार गरियोस् भनी फिर्ता भएको थियो । आज उक्त विधेयकमाथि छलफल भई पुनः बहुमतले पारित भएको छ ।  

Advertisement

Advertisement