निर्यातका लागि सरकारले नयाँ सम्भावनाको खोजी गर्नुपर्छः व्यवसायीहरु

Advertisement

विराटनगर । भारतसँगको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि नेपालले निर्यातजन्य वस्तुको नयाँ सम्भावना खोजी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ समितिले विराटनगरमा आयोजना गरेको सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावनासम्बन्धी छलफल कार्यक्रममा कृषिलगायतका निर्यातजन्य नयाँ वस्तुलाई भारतीय बजारमा पुर्याएर व्यापारघाटा कम गर्न सरकारले सम्भावना खोज्नुपर्ने बताइएको हो ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले अन्तरदेशीय व्यापारमा नेपालको सबैभन्दा सम्भावना रहेको नै भारतीय बजार हो भने । अहिले भारतसँग ठूलो अन्तरमा व्यापार घाटा बढेको बताउँदै उनले भने, “भारतसँगको व्यापारको परनिर्भरता घटाउनका लागि विशेष वस्तुकेन्द्रित नीति आवश्यक छ ।” 

उनले भने, “अब त नेपालबाट तेस्रो मुलुक निर्यात सोच्न गाह्रो हुने अवस्था आइसकेको छ, अहिलेको समयमा भारत नै सबैभन्दा ठूलो पार्टनर हो, सरकारले भारतलाई नै लक्षित गरेर वस्तु केन्द्रित नीति बनाउनु पर्छ ।” उनले कृषि क्षेत्रलाई औद्योगिकतर्फ लैजान सकिने र निजी क्षेत्रले पनि व्यापारका नयाँ क्षेत्रको पहिचानका लागि सरकारसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गरे । 

महासङ्घका केन्द्रीय सदस्य एवं प्रदेश नं १ का उपाध्यक्ष राजेन्द्र राउतले मुलुकबाट निर्यातका लागि ठोस नीति अघि सार्नुपर्ने सुझाव दिए । मुलुकको व्यापारघाटा कम गर्न सरकारले भारतसँग गर्नुपर्ने जति लबिङ गर्न नसकेको उनको टिप्पणी थियो ।  “बाध्यताले उद्योग चलाउनुपर्ने अवस्था छ, मुलुकको व्यापार प्रवद्र्धनका लागि सोचेअनुसार उपलब्धि हुनसकेको छैन”, उनले भने, “सरकारले एकातिर सिमेन्टमा छुट दिन खोजे पनि अर्कोतिरबाट रोयल्टी बढाएर उद्योगीलाई आहत पारेको छ ।”

उपाध्यक्ष राउतले अदुवा र फलफूलको निर्यातमा नेपालको सम्भावना धेरै रहेकाले निर्यात वृद्धि गर्न कृषिजन्य उत्पादनको प्रशोधनमा सरकारले सहयोग पु¥याउनुपर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दै पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपालको पहिलो निर्यात गन्तव्य भारत नै भएको बताए । उनले उत्पादन वृद्धिका लागि प्रभावकारी केन्द्रीय नीति आवश्यक रहेको र त्यसका लागि सबै क्षेत्रबीच समन्वयको खाँचो छ भने । उनले लघु तथा मध्यम तहका उद्योगको संरक्षण आवश्यक छ भने ।  

छलफलमा सावती नेपालका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा पोषराज पाण्डेले नेपालमा विसं १७९२ मा तत्कालीन ब्रिटिस सरकार र नेपालबीच वाणिज्य सम्झौता भएपश्चात भारतसहितका अन्तरदेशीय क्षेत्रमा व्यापारको सम्बन्ध अघि बढेको बताए । नेपालले निर्यात हुने कृषि उत्पादनमा भन्सार नलाग्ने व्यवस्थाको फाइदा उठाउनुपर्नेमा उनले सुझाव दिए । डा पाण्डेले नेपालले विद्यमान उत्पादन मात्रै नभई नयाँ उत्पादनका क्षेत्र र वस्तुको पहिचान गर्न सकिएको खण्डमा मुलुकको आयात घाटा कम भएर जाने धारणा राखे । 

कार्यक्रमका सभापति नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश नं १ अध्यक्ष टीकाराज ढकालले भारतमा भइरहेको क्षेत्रीयस्तरको व्यापारमा देखिएका समस्या समाधानका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ भने । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले मुलुकमा देखिएको व्यापारघाटा कम गर्न र निर्यात बढाइ विदेशी मुद्रा आर्जन गर्न कृषि क्षेत्रका विविध बालीको उत्पादन बढाउनुको विकल्प छैन भने । रासस

Advertisement

Advertisement