बैंकहरूले एक महिनामा ४ अर्ब ६३ करोड ऋण भित्र्याए, हालसम्म ७१ अर्ब २१ करोड ऋण भित्रियो

Advertisement

काठमाडौं । साउन महिनामा वाणिज्य बैंकहरूले ४ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी विदेशी ऋण भित्र्याएका छन् । बैंकहरूमा वित्तीय स्रोतको अभाव हुन थालेपछि धमाधम विदेशी ऋण ल्याइरहेका छन्। राष्ट्र बैंकको साउन २९ गतेसम्मको तथ्यांकअनुसार बैंकहरूसँग ७१ अर्ब २१ करोड रुपैयाँभन्दा बढी विदेशी ऋण छ । भदौ मसान्तसम्म यो ऋण ६६ अर्ब ५८ करोड रुपैयाँ थियो ।

गत साउन २५ मा सानिमा बैंक लिमिटेडले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको थियो । तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याएको हो। हालसम्म सानिमाले ३ अर्ब ६५ करोड ऋण ल्याइसकेको छ।

Advertisement

गत साउन २७ मा एनएमबी बैंकले आईएफसीसँग २ करोड ५० लाख अमेरिकी डलरको ऋण प्राप्त गरेको थियो। एनएमबीले ११ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको ऋण ल्याइसकेको छ । एनएमबी विदेशी ऋण भित्र्याउने दोस्रो ठूलो बैंक हो । मेगा बैंकले १३ अर्ब रुपैयाँभन्दा बढी ऋण ल्याएर आफूलाई पहिलो स्थानमा उभ्याएको छ।

नेपाली बैंक तथा वित्तीय संस्थाहरुले नवीकरणीय उर्जा (जलविद्युत, सौर्य र वायु उर्जा) उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केवलकार, पुल जस्ता भौतिक पूर्वाधार (हाउजिङ, जग्गा विकास जस्ता रियलस्टेट बाहेक), विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रवन्ध गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिकत पुँजीको शतप्रतिशतसम्म ऋण लिन पाउने भएका छन् ।

राष्ट्र बैंकले तोके बमोजिमको पुँजीकोष कायम गरेका बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्र यस्तो ऋण लिन पाउने राष्ट्र बैंकको भनाइ छ । विदेशबाट ऋण लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफ्नो संचालक समिति बैठकबाट यस्तो निर्णय गरेको हुनुपर्ने छ । यस्तै ऋण दिने बैंक तथा वित्तीय संस्थालाई अन्तराष्ट्रिय रुपमा वित्तीय कारोबार गर्न कुनै किसिमको बन्देज लगाएको हुन नहुने पनि राष्ट्र बैंकको भनाइ छ ।

भुक्तानी अवधि कम्तिमा १ बर्ष र बढीमा ५ बर्षसम्मको हुनुपर्ने पनि शर्त राखिएको छ । यस्तो ऋणको ब्याजदर लगायत अन्य शुल्क गरी अधिकतम ६ महिना लायबर र ३ प्रतिशत भन्दा बढी हुन नहुने पनि शर्त छ । सो सीमाभित्र रहेर कर्जा स्वीकृत गर्ने प्रयोजनको लागि कुनै शुल्क, कमिसन तिर्न पर्ने भए ऋण प्राप्त भएपछि भुक्तानी दिने ब्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ । विदेशबाट ऋण भित्र्याउने प्रयोजनको लागि विदेशी बैंक तथा वित्तीय संस्थालाई कुनै किसिमको धितो जमानत, बैंक ग्यारेन्टी दिन नपाइने पनि राष्ट्र बैंकको भनाइ छ ।

विदेशबाट ल्याइएको ऋण तोकिएका क्षेत्रमा विदेशी मुद्रामा नै ऋण दिन पाइने गरी बाटो खुल्ला गरिएको छ । विदेशबाट ऋण ल्याएर त्यस्तो रकम अन्तर बैंक कारोबारमा प्रयोग गर्न नपाइने शर्त तोकिएको छ ।विदेशबाट ऋण ल्याउनको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ । ऋण रकम ल्याइसकेपछि अनिवार्य रुपमा राष्ट्र बैंकमा लेखांकन गराउनु पर्नेछ । ऋणको सावा ब्याज भुक्तानी गरेपछि राष्ट्र बैंकलाई सोको जानकारी गराएर अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ । ऋणको व्याज भुक्तानी गर्दा ब्याजमा लाग्ने कर काटेर मात्रै दिन पनि राष्ट्र बैंकले भनेको छ ।

विदेशबाट ऋण लिदा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र नीति नियमको पूर्ण पालना गर्नुपर्ने पनि राष्ट्र बैंकले तोकेको शर्तमा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement