शनिबार वागमती नदी महोत्सवः वागमतीलाई पूरानै स्वरुपमा फर्काइनुपर्ने

Advertisement

काठमाडौं । नेपाल र्याफ्टिङ एशोसिएशन (नारा) र नेपाल नदी सरर्दाण संस्था (एनआरसीटी)को आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भोलि (शनिबार) वागमती नदी महोत्सव हुने भएको छ । 

वागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन महोत्सव आयोजना गर्न लागिएको हो । बिहान ७ बजेदेखि कुपण्डोलको वागमती पुलमा महोत्सव आयोजना हुनेछ । ललितपुरमा २२ वर्षदेखि मनाउँदै आएको बागमती नदी महोत्सव ‘महा जलजात्रा’को २२ औं संस्करण मनाउन लागिएको आयोजक संस्थाले जनाएको छ ।

Advertisement

वागमती काठमाडौं सभ्यताको मुख्य आधार भएको बताउँदै नाराका अध्यक्ष शिव अधिकारीले सोही कारण संरक्षणको आवाज उठाउँदै आएको बताए । विभिन्न सरकारी, गैरसरकारी, व्यवसायिक संघसंस्था तथा काठमाडौं उपत्यकावासीका कारणले काठमाडौं शहरका साथै वागमती नदीको वातावरण पनि दूषित भएको भन्दै उनले सफाइ र सभ्यताको संरक्षणका लागि महोत्सव गर्नुपरेको बताए । 

सामाजिक तथा धार्मिक इतिहास बोकेको सुन्दर र महत्वपूर्ण नदी ढलमा परिणत हुन नदिन र यसलाई पूरानै अवस्था र नदीको सौन्दर्य कायम राख्न सफाइ अभियन्ताहरु सक्रिय बन्दै आएका छन् । 

अध्यक्ष अधिकारीले सबैले वागमतीलाई माया र इज्जत दिऊन्, नदीको अवस्थाबारे जानकारी प्राप्त गरून् र भावी पुस्ताका लागि कसरी हामीले वागमती नदीलाई जोगाउन सकिन्छ ? भन्नेबारे जागरण ल्याउन यस महोत्सवले सहयोग गर्ने बताए । उनले भने, ‘वागमती नदी महोत्सवको सुरुवात २००१ मा भई एक सफल महाअभियानको रूपमा निरन्तर अगाडि बढेको छ । देशका अन्य नदीनाला समेत सोही कारण सफाइ अभियान सञ्चालन भइरहेका छन् । सोही कारण महोत्सवलाई अझ प्रभावकारितका साथ आयोजना गर्दै लैजानुपर्ने देखिएको छ ।’ 

त्यस्तै एनआरसीटीका अध्यक्ष मेघ आलेले पनि नदीको सभ्यताको संरक्षण आवश्यक भएकाले वागमती नदी महोत्सव हुन लागेको बताए । उनले सबैलाई नदी नजिक पु¥याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा त्यसको सरोकार राख्ने अवस्था सिर्जना गराउन महोत्सवले भूमिका खेल्ने बताए । 

Advertisement

Advertisement