अभिकर्ता कमिशनमा बेथिति देखिएपछि कम्पनीहरुसँग कमिशन र सुविधा विवरण माग्दै बीमा समिति

Advertisement

काठमाडौं । बीमा समितिले अभिकर्ताहरुले पाउने बोनस तथा कमिशनमा बेथिति देखिएको भन्दै बीमा कम्पनीहरुसँग त्यससम्वन्धी विवरण माग्ने तयारी गरेको छ । 

बोनस तथा कमिशनमा लापरबाही भएको समाचारसार्वजनिक भएसँगै समितिले त्यसमा कडाई गर्न विवरण माग्न लागेको हो । सिटिजन लाइफ इन्स्योरेन्सलगायतका कम्पनीले तोकिएको १८ प्रतिशतको मापदण्ड विपरित अभिकर्तालाई २५ प्रतिशतसम्म कमिशन दिएको देखिएपछि समितिले त्यसमा कडाई गर्न लागेको हो । 

Advertisement

समितिले आफूले सहजै हेर्न मिल्नेगरी केही दिनभित्रै बीमा कम्पनीहरुलाई अभिकर्ता कमिशन र बोनसको विवरण  सफ्टवयरमा राख्न निर्देशन दिन लागेको समितिका अध्यक्ष सूर्य सिलवालले बताए । 

उनले भने, ‘अहिलेसम्म अभिकर्ताले कसरी कमिशन खान्थे ? बोनस कसरी लिएका थिए ? त्यो मलाई थाहा थिएन । तर अब अभिकर्तालाई कम्पनीले दिएको सबै विवरण अनिवार्य रुपमा सफ्टवयरमा अपडेट गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय भएको छ ।’ 

सिलवालले अझै पनि बीमा कम्पनीहरुले भित्री रुपमा गैरकानुनीरुपमा मनोमानी गरेको बताउँदै आफ्नो हिसाबले मन लाग्दा पाँचदेखि ५० प्रतिशतसम्म कमिशन दिने गरेको देखिएको बताए ।  

उनले थपे, ‘अब हामीले अभिकर्ताका गतिविधिका रेकर्ड बस्ने गरेर काम गर्ने व्यवस्था ल्याउँदैछौं । उक्त व्यवस्थाले बीमा कम्पनीहरु र अभिकर्ता दुवैलाई रामो हुन्छ । समितिको चाहना भनेको अभिकर्तालाई पनि अन्याय नहोस भन्ने हो । कम्पनीलाई पनि थप व्ययभार नहोस भन्ने हो ।’

अभिकर्ता र बीमा कम्पनी र बीमा समिति सबै सुशासनमा बस्ने कुरा राम्रो कुरा भएको र त्यसको विकल्प पनि नरहेको सिलवालको भनाई छ । बेथिति नहोस भनेर राम्रो उद्देश्यका लागि गरिएको कडाईलाई कम्पनी र अभिकर्ता दुवैले सकारात्मकरुपमा लिनुपर्ने उनले बताए । 

अध्यक्ष्य सिलवालका अनुसार बीमा कम्पनीहरुले अभिकर्ता कमिशन के कसरी वितरण हुने गरेको छ ? त्यो समितिमा पठाउने खाका तयार भइरहेको बताए । समितिका कर्मचारीलाई सक्दो चाडो उक्त खाका बुझाउन आफूले निर्देशन दिएको र सोअनुसार विवरण आएपछि छानविन र कारवाही गर्न सहज हुने बताए । 

बीमा समितिले अभिकर्तालाई दिने ऋणदेखि विशेष नगद प्रोत्साहनमा कडाई गर्दै तोकिएको कमिशनबाहेक पुरस्कारस्वरुप मोवाईल, पंखा जस्ता सामग्री मात्रै दिन सकिने बताएको थियो । तर, बीमा कम्पनीहरुले भने बढी कमिशन र सुविधा नदिए अभिकर्ताले छोडेर अर्को कम्पनीका लागि काम गर्न थाल्ने परिस्थिति रहेकाले बाध्यताले बढी कमिशन र सुविधा दिनुपरेको गुनासो गर्नेगरेका छन् । 

विशेषगरी ठूला र पूराना जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई बाढी सुविधा दिँदा नयाँलाई त्योभन्दा बढी सुविधा दिएर विजनेश ल्याउनुपर्ने बाध्यता रहेको छ । अभिकर्ताहरुमा पनि कमिशन र सुविधामा बार्गेनिङ गर्ने प्रवृत्ति बढेर गएको छ । बैंकिङ क्षेत्रमा अनलाइन प्रणालीमार्फत सेवा लिनेदिने पद्दतीको निकै धेरै विकास भइसके पनि बीमामा भने अझै अभिकर्ताको भर पर्नुपर्ने बाध्यता रहेको छ । 

कमिशन र सुविधाको लोभमा अभिकर्ताले एउटा कम्पनीलाई ल्याएको विजनेश बार्गेनिङ गरेर अर्कोलाई दिने अवस्था रहेकाले यस्तो अवस्था अन्त्य गर्न बीमा समितिले नै दह्रो सुपरीवेक्षण गर्नुपर्ने कतिपय सीईओहरुले बताउँदै आएका छन् । 

Advertisement

Advertisement