भुटानी शरणार्थी प्रकरणमा करोडौं भ्रष्टाचारको खुलासा, दर्जनौं पीडितले दिए उजुरी, कनेक्शन आरजुसम्म

Advertisement

काठमाडौं । सयौं नेपालीलाई भुटानी शरणार्थीको नाममा नक्कली परिचितपत्र बनाउँदै अमेरिका पठाउने धन्दामा संलग्नहरुलाई प्रधानमन्त्री पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाँडले संरक्षण गरेको देखिएको छ । 

गृहमन्त्रालयबाट भुटानी शरणार्थी शिविरमा खटाइएको टोलीमार्फत अमेरिका जान छुटफुट रहेका भुटानी शरणार्थीको लगत संकलनका क्रममा संगठित गिरोहले नेपालीहरुलाई शरणार्थीको परिचयपत्र बनाउँदै एक जनाबाट ३५ लाखदेखि ५० लाख रुपियाँसम्म अशुल गर्ने काम गर्दै आएको थियो । योजनाअनुसार रकम बुझाउन नसकेपछि पीडितहरुले भकाभक प्रहरीमा उजुरी दिए पनि संलग्नहरुलाई पक्राउ गरी कारवाही गर्न देउवा र खाँडबाटै अवरोध  भएको हो । 

Advertisement

भुटानी शरणार्थीको रुपमा सहजै अमेरिका पुग्न सकिने र त्यहाँको स्थायी बसोबासको समेत अनुमति एकैसाथ पाउने भएकाले विचौलियाहरुले देशभर सयौं मानिससँग मोटो रकम संकलन गरेको प्रहरीमा दर्ता भएको उजुरीबाट देखिन्छ । 

अमेरिका जान पाइने आशामा गिरोहमा संलग्न विचौलियाहरुलाई मोटो रकम बुझाएर पनि आश्वासनअनुसार अमेरिका जान नपाएपछि उनीहरु आफूहरु ठगिएको चाल पाएका थिए । तीमध्ये एकसय जनाभन्दा बढीले प्रहरीमा उजुरी दिएको निकै दिन भइसकेको छ । तर यस प्रकरणको छानविन र ठगीमा संलग्नहरुलाई पक्राउ गर्न माथिको अवरोधका कारण प्रहरीले आनाकानी गर्दै आएको छ । यस कार्यमा निकै ठूलो गिरोह सक्रिय रहेको र त्यसलाई राजनीतिक संरक्षण रहेको पीडितहरुको भनाई छ ।  

उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख एसएसपी जनक भट्टराईले भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नहरुको खोजी जारी रहेको तर हालसम्म कसैलाई पनि पक्राउ गर्न नसकिएको दावी गरे । गृह प्रशासनका उच्च अधिकारी र उच्च राजनीतिक नेतृत्वको समेत संलग्नता भएकाले तपाईंहरुलाई छानविन र कारवाहीमा कठिनाई भएको हो ? भन्ने प्रश्नमा उनले उत्तर दिन चाहेनन् । भट्टराईले यस प्रकरणमा हाइप्रोफाइलहरुको संलग्नताबारे आफूले केही नबोल्ने बताउँदै भने, ‘अहिले म यति भन्छु छानविन जारी छ, ठगीमा संलग्नहरुको खोजी गर्दैछौं । फेला पर्न सकेको छैन् ।’

निकै ठूलो गिरोह संलग्नता, घटना लुकाउने प्रयास
भुटानी शरणार्थी बनेर अमेरिकाको स्थायी बसोबासको अनुमतिपत्रसहित अमेरिका जान पाइने आशामा रकम बुझाउनेमध्ये  उजुरी दिएकाहरुले बुझाएको रकम नै १० करोडभन्दा माथि रहेको उक्त कार्यालयका पूर्वप्रमुख वसन्त कुँवरले यसअघि कर्पोरेट नेपाललाई बताएका थिए । 

कुँवर सोही कार्यालयमै रहेको समयमा ठगीमा संलग्न केहीलाई पक्राउ पनि गरियो । तर माथिको दबाब आएपछि उनीहरुलाई तत्कालै छोडियो । त्यसपछि पीडितहरुले निकै दबाब दिँदै आए पनि प्रहरीले ठगीमा संलग्नहरुलाई खोजि गरिरहेको तर पक्राउ गर्न नसकिएको जवाफ दिएर तर्किंदै आएको छ । शरणार्थीसम्वन्धी संयुक्त राष्ट्र संघीय संस्था यूएनएचसीआरका कर्मचारीसमेत संलग्न हुनसक्ने अनुमान गरिएको यस प्रकरणमा एक हजारभन्दा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजना बनाइए पनि कतिबाट रकम अशुल गरिएको थियो ? यकिन भने हुन सकेको छैन् । 

भुटानी शरणार्थीको परिचय बनाइदिएकै आधारमा सहजै र बैधानिक किसिमबाट मानिसहरुलाई अमेरिका पठाउन सकिने र अमेरिका जान लालयीतले जति पनि रकम तिर्न तयार हुने भएकाले पैसा कमाउन राजनीतिक र प्रशासनक क्षेत्रमा मानिसहरु संलग्न हुन पुगेको देखिन्छ । यस ठगीमा सन्देश शर्मा भन्ने व्यक्ति रकम संकलन गर्ने कार्यमा प्रत्यक्षरुपमा देखिन्छन् । पीडितहरु अधिकांशले उनलाई नै रकम बुझाएको देखिन्छ । 

रकम बुझाउनेमध्येका एक रामकुमार रेग्मीका आफन्त यतिबेला आफ्नो फँसेको रकम उठाउन प्रहरी कार्यालयदेखि गृह मन्त्रालय र प्रधानमन्त्री निवाससम्म धाएको धाएै छन् । रेग्मीले आफूसँगै आफ्नो परिवारिक सदस्यका पाँच जनाको रकम संकलन गरेर सन्देशलाई बुझाएका थिए । तर अमेरिका पठाउने योजना सफल हुन नसकेसँगै रेग्मीसहित २० जना मिलेर प्रहरीमा उजुरी दिएपछि सन्देशले तीन करोड २५ लाख रुपियाँको चेक दिए । 

सन्देशले विभिन्न अंकका फरक फरक चेकहरु दिएपछि चेक नसाटिएपछि अहिले बाउन्स भएका छन् । रेग्मीका नाममार्फत रकम फिर्ता गर्न शर्माले चेक काटेर फरार भएका छन् । एक पीडितले भनिन्, ‘अमेरिका जाने भनेपछि सबैलाई लोभ लागिहाल्छ । त्यही लोभमा हामीले पनि पैसा बुझायौं । आफ्नै चिनजानकाले  पनि इच्छा गरेकाले पैसा लिएर सन्देश शर्मालाई बुझायौं । तर अहिले धोखा भयो ।’

अहिले रामकुमारी रेग्मीसहित २० जना पीडितले छुट्टै र गजेन्द्र बुढाथोकीसहित ८० जनाले  छुट्टै प्रहरीमा उजुरी दिएका छन् । बाँकीले मौखिक उजुरी गरे पनि लिखितरुपमा उजुरी दर्ता गरिसकेका छैनन् । सुरुका दिनमा किन पैसा बुझाएको भन्दै उल्टै पीडितलाई धम्क्याउने गरेको प्रहरीले पछिल्ला दिनमा भने सन्देश शर्मा, सानु भण्डारी, केशव दुलाललगायत रकम उठाउने कार्यमा संलग्नहरुलाई भट्टाउन नसकिएको जिकिर गर्दै आएको छ । 

दाङ स्थायी निवासी सन्देशको ललितपुरको हरिसिद्धमा बस्दै आएका छन् । उनको श्रीमतीसहितको परिवार सोही ठाउँस्थित घरमा बस्दै आएका छन् । केशव दुलाल कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव हुन् भने सानु उनीसँगै मिल्ने साथी हुन् । 

यी विचौलियाहरुलाई उजुरी दिने बुढाथोकी समूहले नौ करोड ६० लाख रुपियाँ बुझाएको विवरण प्रहरीमा पेश गरेको छ भने रामकुमार रेग्मी समूहले तीन करोड ८५ लाख रुपियाँ बुझाएको विवरणसहित उजुरी दिएको छ । प्रहरीमा उजुरी परेपछि सन्देश शर्मासहितका विचौलियाले बुढाथोकीलाई छ करोड रुपियाँको पैसा नभएको चेक दिएको थियो भने रेग्मी समूहलाई तीन करोड २५ लाखको चेक दिएका थिए । 

बचत दिएअनुसार बिचौलियाहरुले अमेरिका उडाउन नसकेर समय लम्ब्याउन थालेपछि पैसा बुझाउनेहरु आफू ठगिएको थाहा पाएर प्रहरीमा आउन थालेका थिए । प्रहरीदेखि गृह मन्त्रालय र प्रधानमन्त्री निवाससम्म पटक पटक धाउँदा र राजनीतिक दलका नेताहरुसँग हार गुहार गर्दा कतैबाट सुनुवाई नभएपछि पीडितहरु निराश देखिन्छ । यति ठूलो ठगी प्रकरणबारे एक नाम चलेको दैनिक पत्रिकाले एक दिन समाचार लेखे पनि उसले त्यसको फलोअप नगरेबाट यसभित्र निकै ठूलो गिरोह संलग्न रहेको र उनीहरुलाई सत्तामा रहनेहरुले संरक्षण गरिरहेको प्रष्ट देखिन्छ । 

कनेक्शन कहाँसम्म ?
उजुरी दिएपछि छानविन र कारवाहीमा प्रहरीले आनाकानी गर्न थालेपछि पीडितहरु गृह मन्त्रालय धाउन थाले । गृहमन्त्री, गृहसचिव, गृह मन्त्रालयका अधिकारीहरुसँग हारगुहार गर्न थाले । सुरुका भेटहरुमा सकारात्मक देखिएका उनीहरु दिन प्रतिदिन परपर हुन थाले ।  भेटन् नखोज्ने, फोन नउठाउने, स्पष्ट जवाफ नदिने प्रवृत्ति देखिन थाल्यो । 

पीडित भन्छन्, ‘गृह ममन्त्रालयमा गृहमन्त्रीसम्मलाई मात्रै होइन् । धेरै साँसद र नेताहरुलाई यो विषयमा अवगत गराइसकेका छौं । तर संसदमा सामान्य कुरासमेत उठाउने उनीहरु यस विषयमा एक शब्द बोल्दैनन् । गृहमन्त्री बालकृष्ण खाँड त अहिले यो विषय सुन्नै चाहाँदैनन् । सयौं जनाले गृहमन्त्रीलाई यो विषयमा भनिसक्यौं । तर कुनै कारवाही अघि बढेको छैन् । हिजोआज उहाँ न एस भन्नुहुन्छ न नो भन्नुहुन्छ ।’

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले त यस प्रकरणको छानविन आफूले नै रोकाएको खुलेरै बताएको अर्का एक पीडितले बताए । पहिला पहिला भेट्दा भुटानी शरणार्थीको नाममा अमेरिका पैसा उठाउने काम छानविन हुनुपर्छ भन्ने पक्षमा रहेका र भएका प्रमाणहरु ल्याउनु भन्दै माग  गरेका उनी पछिल्लो समयमा एकाएक फेरिएर निराश बनाउने प्रतिक्रिया दिएको ती पीडितले बताए । पैसा बुझाएको प्रमाण गृहमन्त्रीदेखि गृहसचिवसम्म सबैलाई दिएको र यो विषय नेपाल प्रहरीका प्रमुखलाई समेत थाहा रहेको उनीहरुको भनाई छ । 

गृह मन्त्रालयले नै कर्मचारीहरुलाई पूर्वका विभिन्न जिल्लामा रहेका भुटानी शरणार्थी शिविरमा छुटफुट शरणार्थीको लगत तयार गर्ने काम गरेका थिए । त्यही क्रममा सयौं गैरभुटानी (नेपाली)हरुको नाम छुटफुटको सुचीमा चढाउने र उनीहरुलाई शरणार्थीको परिचय पत्र दिने काम भएको हो । एक पीडितले भने, ‘पैसा उठाइएका सबैको प्रमाणिकरणमा पर्न नै भ्याएका छैनन् । प्रमाणिकरण गर्ने प्रक्रियामै पैसा उठाएको कुराहरु बाहिर आउन थाल्यो । त्यसपछि प्रमाणिकरणमा गएका कर्मचारीहरु डराएर फर्किए । तर यसमा मिलेमतो गृह मन्त्रालयका कर्मचारीको मात्रै छैन्, यूएनएचसीआरका कर्मचारीदेखि धेरै नेता, मन्त्री र प्रशासकहरुको छ ।’ 

गृह मन्त्रालयबाट न्याय पाउने र आफूहरुको पैसा फिर्ता आउने आशा मर्दै गएपछि पीडितहरु प्रधानमन्त्री निवास बालुवाटार धाउन थाले । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवा र सहसचिव चुँडामणि कंडेलले अस्वाभाविक व्यवहार देखाउन थाले । सयौंं मानिसको दशौं करोड रुपियाँ ठगी भएको यो विषय प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री पत्नी आरजु देउवालाई भेटेर राख्छौं भन्दा उनीहरुले समय नदिने र आफै मिलाउने आश्वासन दिँदै आएका भानु देउवा र चुँडामणि कंडेलले पछि  पछि पीडितहरुको फोन नउठाउने, स्वीच अफ गरेर बस्न थालेको गुनासो गर्दै पीडितले कतैबाट पनि न्याय नपाइने हो कि ? भन्ने लाग्न थालेको बताए । 

एक पीडितले भने यसमा गृहमन्त्रीदेखि प्रधानमन्त्री पत्नी आरजुसम्मको संलग्नता रहेको दावी गरे । उनको जिकिर छ, ‘यति ठूलो ठगी छ । प्रधानमन्त्रीले निर्देशन दिने हो भने तल्लो निकायले बाध्य भएर छानविन अगाडि बढाउनुपर्ने हुन्छ । भोलि नै अपराधीहरु पक्राउ पर्छन् । तर सबै चुप छन् । न मिडिया बोल्छ यति ठूलो विषयमा न साँसद बोल्छन् । सोझै थाहा हुन्छ उच्च राजनीतिक तहको संरक्षण र संलग्नता छ भन्ने कुरा ।  

पीडितहरुले लगाएको आरोपका बारेमा प्रधानमन्त्रीको स्वकीय सहसचिव कंडेलले ठाडै अस्वीकार गरे । उनले आफूलाई आरोप लगाउने को हो ? भनेर सोध्दै बरु आफूले दाङका आफूले चिनेका केही मानिस पीडित भएकाले न्याय दिलाउने प्रयास गरेको बताए । 

भुटानी शरणार्थीका नाममा रकम उठाउने कार्यमा तपाई र आरजु देउवा संलग्न हुनुहुन्छ अरे नि ? भन्ने प्रश्नमा कंडेलले भने, ‘कस्ले ? कस्ले ? को हो त्यस्तो भन्ने ? नचाहिने कुरा । म कहाँ... भर्खर कुरा सुन्दैछु यो ।’ थप प्रश्नमा उनले थपे, ‘मेरा आफन्तहरु परेकाले मैले थाहा पाएर सहयोग गरिदिन खोजेको हो । कहाँ म त्यस्तो पैसा उठाउने काम गर्छु ? कस्ले भन्यो यस्तो कुरा ? यसमा मेरो दाङको एक दुई जना भाईहरु परेको रैछ । उनीहरु मेरोमा आउनु भएको थियो । अनि मैले सहयोग गरिदिएको हो ।’

भुटानी शरणार्थीका नाममा पैसा उठाउने गिरोहलाई पक्राउ गर्नुपर्छ भनेर आफूहरु लागिरहेको बताउँदै कंडेलले के के भइरहेको छ ? सबै कुरा आफूलाई पनि थाहा नभएको जिकिर गरे । उनले आफूलाई आरोप लगाउनेहरुलाई ‘बेयकुफ’को संज्ञा पनि दिए । कंडेलले आफू राजनीतिक व्यक्ति भएको र पीडितहरु आएपछि आफूले फोन पनि गरिदिएको सुनाए । 

तर पीडितहरुले भने कंडेल र भानु देउवाबाट आफूहरुले कुनै सहयोग नपाएको उल्टै सास्ती मात्रै पाएको बताउँछन् । पीडितहरुले ठूला दलका नेताहरु पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा तत्कालिन गृहसचिव प्रेमकुमार राई, बादलका तत्कालिन सहयोगी इन्द्रजित राई, पूर्वगृहमन्त्री शक्ति बस्नेत, पूर्वमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँड, नेतृ सुजाता कोइराला, प्रधानमन्त्री पत्नी, आरजु देउवा, प्रधानमन्त्रीका सहयोगीहरु संलग्न रहेको आरोप लगाउँदै आएका छन् । 

पैसा उठाउनेमध्येका एक सन्देश शर्माले आफ्नो पहुँच एमालेका अध्यक्ष केपी ओलीलगायतसँग पनि रहँदै आएको बताउने गरेको पीडितहरुको भनाई छ । तर संगठित गिरोहले दर्जनौ जिल्लाका सयौं मानिसबाट करोडौं रुपियाँ रकम ठगी गरेको विषयमा छानविन गर्न नदिएबाट हालको सत्ताको नेतृत्वमा माथि नै धेरै आशंका बढेर  गएको छ ।

 

Advertisement

Advertisement