विश्वका १४ अग्ला शिखर दुई–दुई पटक आरोहण गर्न सफल सानु शेर्पालाई विमानस्थलमा भव्य स्वागत

Advertisement

काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा  दोहोर्याएर विश्वका १४ सर्वोच्च शिखरहरुको सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेका छन् । यससँगै उनले विश्व कीर्तिमान पनि कायम गर्न सफल भएका छन् । 

दोहोर्याएर १४ वटा अग्ला हिमाल सफल आरोहण गरेर शनिबार नेपाल फर्किएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । नेपाल पर्वतारोहण संघ, माउन्टेन गाइड एशोसिएशन अफ नेपाल (मोगान), सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डसम्वद्ध व्यक्तिहरु, पर्वतारोही र पर्यटन व्यवसायीहरुले उनको स्वागत गरेका हुन् । 

Advertisement

विमानस्थलमा स्वागत तथा सम्मानपछि शेर्पालाई तीनकुने, नयाँबानेश्वर, थापाथली, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा पुर्याएर सम्मानमा कार्यक्रम गरिएको थियो । 

सानु शेर्पाले जुलाई २१ को बिहान पाकिस्तान समय अनुसार ८ बजेर १७ मिनेटमा विश्वको तेह्रौं अग्लो तथा ८,०३५ मिटर उचाईको गसेरब्रुम–२ हिमालको सफल आरोहण गरेसँगै विश्वका १४ अग्ला हिमालहरुको दोहोर्याएर सफल आरोहण पूरा भएको हो । 

संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४८ वर्षीय सानु शेर्पाले सन् २००६ मा पहिलो पटक चो ओयु हिमालबाट आठ हजार मिटर अग्ला हिमालको आरोहण शुरु गरेका थिए । त्यसपछि उनले २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २००६ सिसापाङमा, २०१२ मा केटु, २०१३ मा गसेरब्रुम–१, २०१४ मा कञ्चनजंगा, २०१४ ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्रुम–२, मकालु र धौलागिरीको आरोहण गरेका थिए । 

सन् २०१९ मै अग्ला सात वटा हिमालको दोस्रो पटक आरोहण सम्पन्न गरेका शेर्पाले सन् २०२१ मा अन्नपूर्ण, ल्होत्से र केटु हिमालको आरोहण गरेका थिए । उनी १४ वटा हिमाल आरोहण गर्ने तेस्रो नेपाली पनि हुन् । 


 

Advertisement

Advertisement