दुर्गा प्रसाईंले विदेशमा अलपत्रहरुको उद्दार थालेपछि श्रममन्त्रीलाई नैतिक संकट, गुनासो सुन्न सुरु

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्न थालेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईले कामका लागि विदेशिएर मृत्यु भएका, गम्भीर बिरामी भएका तर नेपाल आउन नसकेकाहरुको उद्दार गर्न थालेपछि मन्त्री कुँवरलाई नैतिक संकट परेको थियो । 

एउटा व्यक्तिले आफैले खर्च गरेर कामका लागि विदेशिएकाहरुको उद्दार गर्न लागेपछि दबाबमा रहेको मन्त्री कुँवरले आइतबारबाट प्रत्यक्षरुपमा गुनासो सुन्न थालेका हुन् । उनले अबदेखि प्रत्येक आईतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने योजना अनुसार आज पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन् । 

Advertisement

कुँवरले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मेलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुनेका थिए । 

उनले अब प्रत्येक आईतवार बिहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताए । कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारबाही गर्ने बताए । 

उनले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि राम्रो भए पनि अन्त्यमा कानूनको कठघरामा ल्याउने अश्वासन दिए । मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौं भन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताए । 

उनले कुनै कामको थालनी अन्त्य गर्नको लागि नभई जनतालाई सहज र निरन्तरता दिनको लागि शुरुवात गरिने दाबी गरे । मन्त्री कँुवरले कल सेन्टरमा मन्त्री आफैँ बसेर श्रमिकको गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्याहरु राहतको लागि रहेको बताए । 

उनले मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्ने र आएका उजुरी समाधान गर्ने गरेको बताए । कुँवरले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको दावी गरे । 

उनले श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानूनी जटिलताहरु रहेको बताउँदै त्यो जटिलता समाधान गर्नको लागि मन्त्रालय कानून निर्माणमा पनि लागेको बताए । 

मन्त्री कुँवरले श्रमिकहरुलाई बुझ्दै नबुझि विदेश नजान पनि आग्रह गरे । उनले भने, ‘सरकारले श्रमिकको उजुरी नसुनेको होइन । गुनासो सुन्ने नभएको होइन । विभागका परेका उजुरी सम्बोधन भएको विषय हेर्दा थाहा हुन्छ । हामीले गरेका प्रमाणहरु छन् । सरकारले धेरै काम गरेको छ । थोरै मात्र बाँकी छन् । त्यो पनि मन्त्रालय गर्छ । केही मन्त्रालयको दायरा भन्दा बाहिरका मुद्दाहरु रहेकाले काम गर्न सकिएको छैन । ऐन र कानून अनुसार परेका मुद्दाहरुको किनारा लगाइन्छ ।’ 

मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेको बताए । उनले मन्त्रालयले उजुरी छनोट गरेर प्रहरी र विभिन्न विभागमा सम्बोधनको लागि पठाउने गरेको बताए । अर्यालले भने, ‘कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेका छन् । त्यसमा विभिन्न प्रकृतिका उजुरीहरु आउँछन् । उपसचिवले ती उजुरीलाई छनोट गरेर प्रहरीमा पठाउने उजुरी प्रहरीलाई पठाउनु हुन्छ । विभिन्न विभागका भए विभागहरुमा जान्छ । यो काम संस्थागत हिसाबले अगाडि बढेको छ । कल सेन्टरमा आएका उजुरीको आधारमा पछिल्लो चार महिनामा ३० करोड रुपियाँ पीडितहरुको असुल गरेका छौं । पहिला १६ घण्टा उजुरी दिन सकिने थियो भने अहिले २४ घण्टा दिन सकिन्छ ।’

Advertisement

Advertisement