विदेशी उत्पादनले भरिने डिपार्टमेन्टल स्टोरहरु अहिले नेपाली उत्पादनले ढाकेको छः ज्ञवाली

Advertisement

काठमाडौं । यतिबेला ललितपुरस्थित सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चलिराखेको छ । महिला उद्यमी महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवालीका अनुसार ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौं’ नारालाई प्रोत्साहन गर्दै मेला सञ्चालन भइरहेको छ । 

मेलामा खोटाङ, डडेलधुरा, जाजरकोटलगायतका जिल्लाका महिला उद्यमीद्वारा उत्पादित सामान मेलामा राखिएको छ । महिलालाई सशक्तिकरण गर्ने र उनीहरुको व्यवसायलाई दिगो बनाउन, गाउँघरका उद्यमी महिलाहरुको व्यवसायमा नवीनता ल्याएर बजारसम्म पुर्याउने स्थिति सिर्जना गर्न र उपभोक्ताले चाहेअनुसारको सामान उत्पादन कसरी गर्न सकिन्छ ? भन्नेबारे जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिँदै आएको हो । 

Advertisement

महासंघले आयोजना गरेको यो छैठौं व्यापार मेला हो । ग्रामीण क्षेत्रमा सफल महिला उद्यमीहरुको उद्यमशीलताको पहिचान, प्रोत्साहन, हौसला बढाउने उद्देश्यले आयोजना गरिएको मेला भदौ २ गतेबाट सुरु भएको हो । यो भोलि (भदौ ६)सम्म चल्नेछ । 

मेलामा मह, दाल, गेडागुडी, फलफूल, हस्तकलाका सामान, कपडा, मिथिला आर्टलगायतका कूल १०९ स्टल रहेका छन् जसमा नेपाली उत्पादनसहित भारत, पाकिस्तान, बंगलादेश, अमेरिकाको कोलम्बिया ब्राण्डका सामानहरुसमेत राखिएको छ । 

कोभिडका कारणले गर्दा सार्क राष्ट्रका सबै देश यसपटक मेलामा सहभागी हुन नसकेको ज्ञवालीले बताइन् । उनका अनुसार मेलामा सार्क राष्ट्रका स्टल भने सात वटा रहेका छन् ।

ज्ञवालीले नेपाली उद्यमीद्वारा निर्मित सामग्रीमा सबैभन्दा बढी हस्तकलाका सामानहरु विदेश निर्यात हुने गरेको बताइन् । उनले भनिन, ‘विदेश निर्यात हुने भनेको विशेषगरी हस्तकलाका सामान नै हो । अहिले कृषिका सामग्रीमा किबी, एभोकाडो, हेलम्बुको स्याउ बृहत रुपमा गइराखेको छ ।’ 

नेपालमा उत्पादित सामान प्रायः दुबई निर्यात हुने गरेको ज्ञवालीको भनाई छ । उनले फुरनदाना, चिप्स, टिमुरको छोप आदि कन्टेनरको कन्टेनर बाहिर जाने गरेको दावी गरिन् । 

उत्पादित सामानमा कसरी नवीनता ल्याउने ? उत्पादनको विकास कसरी गर्ने ? बजारको मागअनुसार सामान कसरी उत्पादन गर्ने ? लेबलिङ, प्याकेजिङ, स्तरीय कसरी बनाउने ? भन्ने कुरामा ध्यान दिएको खण्डमा नेपाली उत्पादनहरुले विदेशी बजार सजिलै पाउन सक्ने ज्ञवालीको अनुभव छ । 

महासंघले स्थानीय संघहरुमार्फत उद्यमीहरुलाई लेबलिङ, प्याकेजिङ, गुणस्तरलगायतको तालिमहरु दिइराखेको बताउँदै कोरोना महामारीले अस्ताएको उत्पादन, व्यापार, व्यवसाय आदिलाई प्रोत्साहन दिनको लागि महासंघले घरमै बसीबसी अनलाइनमार्फत बिक्री गर्ने व्यवस्थाको समेत विकास गर्दै गएको उनले बताइन् ।

ज्ञवालीले विदेशी उत्पादनले भरिने गरेका डिपार्टमेन्टल स्टोरहरु पछिल्लो समयमा नेपाली उत्पादनले भरिन थालेको दावीसमेत गरिन् । उनले भनिन्, ‘पछिल्लो समय नेपालका सबै डिपार्टमेन्टल स्टोरमा भारतको अचारलगायतका सामग्रीहरु थिए । तर नेपालीले अचार बनाउन थालेपछि अहिले जुन डिपार्टमेन्टल स्टोरमा पनि नेपाली महिलाले बनाएका अचार, मह राखिएको छ ।’

सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता नदिएका कारण गत आर्थिक वर्षको तथ्यांकमा नेपालमै पाइने सामग्रीबाटै बनाउन सकिने अगरबत्ति, टुथपिक, धागो, धुपलगायतको सामान करोडौंमा आयात भएको बताइन् । देशमा उत्पादित सामानलाई वास्ता नगरी आयात गरिएकाले नेपालीले उत्पादन गरेको सामग्री  बिक्री हुन नसकेको उनको भनाई छ । 

Advertisement

Advertisement