सञ्चार मन्त्रालयको पुँजीगत खर्च ६७ प्रतिशत मात्रै, नागरिक एपमा ४५ सेवा आवद्धः कार्की

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा ७ अर्ब ६० करोड रुपियाँभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ । मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्वद्ध निकायहरुबाट आर्थिक वर्ष २०७८–७९ मा सम्पादन भएका प्रमुख उपलब्धीहरुको सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् । 

उनले मन्त्रालय र अन्तर्गतका निकायहरुबाट आर्थिक वर्ष २०७८–७९ मा कुल राजश्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपियाँ संकलन भएको बताए । कार्कीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा आठ अर्ब ३८ करोड रुपियाँ रहेको पनि उल्लेख गरे । 

Advertisement

मन्त्री कार्कीले आ.व. २०७८–७९ मा कुल बजेटको ८०.६१ प्रतिशत खर्च भएको पनि जानकारी दिए । उनले भने, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्वद्ध निकायहरुको आर्थिक वर्ष २०७८–७९ मा कुल विनियोजित बजेट ७ अर्ब ५६ करोड ३७ लाख रुपियाँमध्ये चालुतर्फ ५ अर्ब ५९ करोड ७६ लाख रुपियाँ विनियोजन भएकोमा ८५.३ प्रतिशत खर्च भएको छ भने पुजिँगततर्फ १ अर्ब ९६ करोड ५१ लाख रुपियाँ विनियोजन भएकोमा ६७. २५ प्रतिशत खर्चगरी जम्मा ८०.६१ प्रतिशत खर्च भएको छ । 

मन्त्रालय र अन्तर्गतका निकायहरुबाट आर्थिक वर्ष २०७८–७९ मा कुल राजश्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार संकलन भएको छ । यसै मन्त्रालय समेतको सहजीकरणका कारण नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा ८ अर्ब ३८ करोड रुपियाँ प्रारम्भिक तथ्यांक रहेको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा १ अर्ब २६ करोड बढी हो ।’

मन्त्री कार्कीले सूचना तथा प्रशारण विभागबाट प्रदान गरिने कार्यहरु पूर्ण रुपमा अनलाइनमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको पनि बताए । उनले नागरिक एपको स्तरोन्नति गर्दै ४५ सेवालाई यस एपमा आवद्ध गरिएको जानकारी दिए । चलचित्र क्षेत्रलाई गतिशील बनाउन सिनेमा, स्टोरी बैंक, सातै प्रदेशमा छायांकन स्थल र विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउँदै कार्कीले वरिष्ठ चलचित्र कलाकारहरुको सम्मानका लागि चलचित्रकर्मी परिचयपत्र तथा बीमा कार्यक्रम शुरु गरिएको बताए । 

उनले सुरक्षण मुद्रणका लागि आवश्यक उपकरणसहितको मेसिन खरिद गरी जडान गरिएको र यसै आर्थिक वर्षबाट मुद्रण कार्य प्रारम्भ हुने बताए । मन्त्री कार्कीले ७३५ स्थानीय तहमा फोरजी सेवा बिस्तार भएको र हालसम्म १२ हजार २२४ कि.मि. अप्टिकल फाइबर बिस्तार गरिएको पनि बताए । उनले कुल जनसंख्याको ९१ प्रतिशतमा रेडियो नेपालको पहुँच र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको बताए । 

Advertisement

Advertisement