बदनामीपछि प्रचण्डका घरबेटीको निर्माण कम्पनी कालोसुचीमा, शैलुङले लिएका आयोजना अलपत्र

Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन तीन बर्षका लागि कालोसुचीमा परेको छ । झण्डै एक दर्जन आयोजना ठेक्का लिएर बर्षौंसम्म अलपत्र पारेपछि बदनामी कमाएको सो कम्पनीलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाइएको हो । 

खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राखेको सुचना बुधबार प्रकाशित गरिएको छ । एक वाम विश्लेषक मुमाराम खनालले शैलुङ कन्ष्ट्रक्शन अधिकारीको नभएर प्रचण्डकै भएको समेत दावी गर्दै आएका छन् । 

Advertisement

अनुगमन कार्यालयले काठमाडौं उपत्यकामा थुप्रै ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौतामा उल्लिखित मितिभित्र निर्माण सम्पन्न नगरेको, नियतवश निर्माण लागत बढाएको आरोप उक्त कम्पनीमाथि लागेको छ । 

प्रचण्डको आडभरोसामा शारदा अधिकारीले सत्ता र शक्तिको प्रयोग गरेर ठेक्का लिने, त्यसबापतको पेस्की रकम अन्यत्रै लगानी गरेर सडक, पुललगायत निर्माण कार्य अलपत्र पार्दै आएका थिए । उनकै कारण आउँदो निर्वाचनमा आयोजना अलपत्र पारिएका क्षेत्रका जनताले प्रचण्ड र उनको पार्टी माओवादीलाई मत नदिने संकेत देखिएपछि कालोसुचीमा राखिएको हो । शैलुङ कालोसुचीमा परेसँगै उक्त कम्पनीले ठेक्का लिएर आयोजनाहरु थप अन्योलमा पर्ने देखिएको छ । 

उक्त कार्यालयले शैलुङबाहेक अरु नौ वटा निर्माण कम्पनीलाई पनि कालो सूचीमा राखेको छ । त्यसमा दुई चिनियाँ निर्माण कम्पनी पनि छन् । 

Advertisement

Advertisement