नयाँ प्रशिक्षक पाएको नेपाली टिमले केन्यालाई पाँच विकेटले हरायो

Advertisement

काठमाडौं । नयाँ प्रशिक्षक पाएको नेपाली क्रिकेट टिमले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा केन्यालाई ५ विकेटले हराउन सफल भएको छ । नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरको केही दिनअघि मात्रै नियुक्त भएको थियो । 

प्रभाकरको नेतृत्वमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल जितेको हो। केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई छक्कासहित सर्वाधिक ३३ रन बनाए भने आरिफ शेखले एक छक्कासहित २४ रन बनाए । 

Advertisement

त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ३० बलमा तीन चौका प्रहार गर्दै २३ रन बनाए रोहित पौडेलले १३ रन बनाए । त्यस क्रममा केन्याका लागि व्रज पटेल र लुकास ओलुचले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै १३० रन मात्रै बनाएको थियो । नेपालका लागि सोमपाल कामीले तीन विकेट, कप्तान सन्दीप लामिछानेले दुई विकेट, आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

नेपाल पाँच ट्वान्टी–२० र ३ एकदिवसीय शृंखलाका लागि केन्या भ्रमणमा गएको हो । नेपाल अहिले विश्व ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा १४ औं स्थानमा छ  भने ३० औं वरीयतामा केन्या छ । 

Advertisement

Advertisement