नेपालमै रेशम धागो उत्पादनको संभावना हुँदाहुँदै करोडौंको आयात, सरकारी बेवास्ताले होः श्रेष्ठ

Advertisement

काठमाडौं । नेपालका अधिकांश जिल्लाहरुमा धेरै वर्ष अघिदेखि रेशम खेती गरिदैँ आएको छ । रेशम किरालाई किम्बुको पात खुवाएर पालिने गरिन्छ । सोही आहारबाट रेशम किराले र्याल उकेल्दै जालो बनाउँछ । आफूले बनाएको जालोभित्र रेशम किरा पस्दै जान्छ र अन्त्यमा आफूलाई सोही जालोले बेर्दछ । 

यसरी जालोबाट बनेको कोयाबाट धागो निकालिन्छ । सोही धागोबाट कपडाहरु बनाइन्छ । यसरी घरेलु उत्पादनबाट बनाउन सकिने वस्तुको आयातमा नेपालले गत महिना (साउन) करोडौं खर्चिन बाध्य छ । 

Advertisement

भन्सार विभागको तथ्यांकनुसार गत महिना सिल्क (रेशम) चार करोड ५४ लाख ७० हजार रुपियाँको आयात भएको छ भने ऊन, जनावरको कपालको धागो, बुनेको कपडाहरुको आयात ३९ करोड ३५ लाख ३० हजार रुपियाँको भएको छ । तर, यी सबै वस्तुको निर्यात भने गत महिना शुन्य छ । 

त्यस्तै, गत साउनमा कपासको आयात ८८ करोड ४९ लाख २३ हजार रुपियाँको भएको छ भने निर्यात छ लाख ८३ हजार रुपियाँको मात्र भएको छ । 

यसरी साना तथा घरेलु उत्पादनका सामग्री कै आयातमा गत महिना करोडौं खर्चिनुको कारण कोरोना संक्रमण र सरकारको घरेलु उद्योगप्रतिको बेवास्ता भएको महिला उद्यमी तथा लिडिङ वुमेन एशोसिएसनकी अध्यक्ष जानकी प्रधान श्रेष्ठको भनाई छ   ।

घरेलु उद्योगलाई प्रोत्साहन काम गर्दै आएकी उनले भनिन्, ‘कोभिड संक्रमणका कारण घरेलु उत्पादन फस्टाउन नसकेको हो । अब यो महिनादेखि भने रेशम, ऊनलगायतको उत्पादन हुने र बाहिर निर्यात गर्न सकिन्छ कि भन्ने लागेको छ ।’

श्रेष्ठले कोभिडले गर्दा देशकै आर्थिक अवस्था खस्किएकाले रेशम खेती मात्र नभएर घरेलु तथा साना उद्योगबाट उत्पादित प्रायः वस्तुहरुको निर्यात नभएको बताइन् । उनका अनुसार रेशमको धागोबाट बन्ने कपडाहरु राम्रो र एकदमै आकर्षण हुने हुँदा देश तथा विदेशमा यसको माग धेरै हुने गर्छ । 

श्रेष्ठले रेशम किराबाट जति धेरै कच्चा पदार्थ निकाल्न सक्यो, त्यति बढी सामग्री बनाउन र बिक्री गर्न सकिने बताउँदै सम्बन्धित निकायको बेवास्ताका कारण पहिला पहिला टनका टन धागो निकालिने रेशमबाट हाल खासै उत्पादन नहुने गरेको बताइन् । 

उनले भनिन्, ‘अहिले नेपालमा रेशमको उत्पादन धेरै नै कम हुन थालेको छ । रेशमसँग सम्बन्धित कार्यालयहरुमा पनि एकदमै कम मात्रै बजेट जान्छ । उत्पादन हुँदै नहुने भन्ने चाँही होइन तर पहिला पहिला किराबाट धेरै प्रकारका उत्पादन गरिन्थ्यो तर अहिले त्यस्तो छैन । अहिले व्यक्तिगत तर्फबाट कसै कसैले गरिराखेका छन् ।’

कोरोनाले थलिएको घरेलु उद्योगलाई विशेष सरकारले नै प्राथमिकता र प्रोत्साहन गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो । ‘कृषकले बीउ, बिरुवा लिन धेरै झन्झटको सामाना गर्नुपरेको अहिलेको अवस्थामा त्यसलाई सहज बनाउनुको साथैसौहुलियत ऋण, लोन आदिको व्यवस्था सरकारले गरिदियो भने देशमै पुनःउत्पादन भई निर्यातमा वृद्धि हुने थियो’, उनले भनिन्, ‘कृषि प्रधान देश भनिन्छ, प्राय कृषिमा संलग्न भएका महिलाहरु हुनुहुन्छ, उहाँहरुलाई सौहिलियत लोन दिनु पर्यो । जसले गर्दा उत्साजनक कार्य गर्न जागर चल्छ र निर्यात पनि बढ्छ ।’

देशमै खपत गर्न र निर्यात गर्न सकिने सामग्रीहरुमा सरकारले प्रोत्साहन नगरेको गुनासो गर्दै श्रेष्ठले यही भदौदेखि भने घरेलु उत्पादनका सामग्रीको निर्यात केही मात्रामा हुनेमा विश्वस्त भएको बताइन् । उनका अनुसार यस वर्षदेखि भने साना तथा घरेलु उत्पादनमा प्राय स्वतः स्फूर्त रुपमा धेरैजना लागिपरेका छन् । 

Advertisement

Advertisement