मन्त्रालयले भन्यो भने टिकटक बन्द गर्दिन्छौंः प्राधिकरणका अध्यक्ष खनाल

Advertisement

काठमाडौं । पछिल्लो समय निकै मानिसले प्रयोग गर्न थालेको चिनियाँ सामाजिक सञ्जाल टिकटकको लोकप्रियतासँगै विकृति पनि देखिने गरेको छ ।  

टिकटकले विकृति बढाएको भन्दै कतिपय ठाउँ र समयमा यसलाई बन्द गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ । यस्ता सञ्जाललाई नियमन गर्ने जिम्मा पाएको नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) भने यस विषयमा मौन देखिन्छ । 

Advertisement

विकृति बढेको भन्दै भारतमा टिकटकमाथि प्रतिवन्ध लगाइएको छ । नेपालमा पनि टिकटकमा अश्लिल र समाजले पचाउन नसक्ने, विकृति बढाउने खालका भिडियो हाल्ने गरेबाट यसमाथि प्रतिवन्ध लगाउनुपर्ने आवाज उठ्ने गरेको हो । तर प्रतिवन्ध लगाउँदा छिमेकी चीनसँगको सम्वन्ध चिस्सिने भएकाले सरकारले यसमा आँखा चिम्लिँदै आएको छ । 

प्रधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भन्छन, ‘कुन सामाजिक सञ्जाल चलाउने नचलाउने भन्ने विषयमा मानिसको व्यक्तिगत विचार होला । त्यो छुट्टै कुरा हो । तर अहिलेसम्म हामीलाई टिकटकले यस्तो असर गर्यो, बन्द गर्नुपर्छ भन्ने खालका कुनै पनि उजूरी आएका छैनन् ।’ 

उनले उजूरी नआएसम्म कुनै पनि एप्लिकेशन बन्द नहुने बताए । खनालले भने, ‘वास्तवमा टिकटक रोक्ने नरोक्ने अन्तिम निकाय हामी नै हौं । तर, त्यसका लागि सरकारको सम्बन्धित निकायले निर्णय गर्यो भने हामी टिकटक रोक्दिन्छौं ।’ 

उजुरी र जनगुनासो नआएसम्म आफूहरुले कुनै पनि साइट र एप्लिकेशन रोक्ने वा खोल्ने नगर्ने बताउँदै उनले गृह मन्त्रालय वा अन्य सम्वन्धित सरकारी निकायले सिफारिस गरेमा, गैरकानुनी भएको ठहर गरेमा प्राधिकरणले त्यस्ता साइट तथा एप्लिकेशन रोक्न कुनै आपत्ति नरहेको बताए । 

खनालले टिकटकका सम्वन्धमा अहिलेसम्म त्यस्तो कुनै गुनासो र सिफारिस नआएकाले रोक्नु जरुरी नरहेको बताए ।

Advertisement

Advertisement