बुढीगण्डकी जलविद्युत पब्लिक लिमिटेड दर्ता, स्थानीय र सर्वसाधारणलाई १०–१० प्रतिशत शेयर

Advertisement

काठमाडौं । कहिले छिमेकीहरुको भूराजनीतिक चपेटामा, अहिले आन्तरिक राजनीतिकको किचलोले अलपत्र पर्दै आएको एक हजार दुई सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बनाउन भन्दै सरकारले कम्पनी निर्माण गरेको छ । 
 
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले शुक्रबार बुढीगण्डकी जलविद्युत पब्लिक लिमिटेड नामक कम्पनी दर्ता गरेको हो । कहिले विकास समितिमार्फत बनाउन खोज्ने, कहिले चिनियाँ कम्पनीलाई जिम्मा लगाउने, कहिले कम्पनी मोडलमा लैजाने भन्दै यो आयोजना बर्षौंदेखि अलपत्र पर्दै आएको छ । 

कम्पनी रजिष्टारको कार्यालयले कम्पनी दर्ता गरेर प्रमाणपत्र ऊर्जा मन्त्रालयलाई उपलब्ध गराएको छ । नेपाली लगानीमा नै आयोजना बनाउने भन्दै दर्ता गरिएको कम्पनीमा सात जना सञ्चालक हुने व्यवस्था गरिएको छ जसमा ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसम्म रहने छन् । 

Advertisement

अधिकृत पूँजी ६० अर्ब रुपियाँ हुने कम्पनीको तत्काल जारी पूँजी २० अर्ब रुपियाँ तथा संस्थापकले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी १० अर्ब रुपियाँ हुनेछ । अर्थ मन्त्रालयको २५ प्रतिशत शेयर हिस्सा रहने यस कम्पनी ऊर्जा मन्त्रालयको ४० प्रतिशत स्वामित्व रहनेछ । त्यस्तै, विद्युत प्राधिकरणको १४ प्रतिशत शेयर रहनेछ । स्थानीयवासी र सर्वसाधारणको लागि १०–१० प्रतिशत शेयर प्राप्त हुनेछ ।

Advertisement

Advertisement