स्वदेशी फर्निचर तथा फर्निसिङ सामान सरकारी निकायले नै प्रयोग गर्न मान्दैनन्ः जोशी

Advertisement

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष सुभेन्द्र जोशी अहिले नेपालमा फर्निचर तथा फर्निसिङ क्षेत्रमा वैधानिकभन्दा अवैधानिक रुपमा काम गर्नेहरुले ठूलो कमाइ गरिराखेको गुनासो गर्छन् । उनका नेपाली उद्यमीहरुले लगानी गरेर कर तिरेर काम गरिराखे पनि विदेशबाट आएर यो व्यवसाय गर्नेहरुले न कर तिर्छन्, न वैधानिक ढंगले व्यवसाय दर्ता गरेर नै व्यवसाय गरेका छन् । उपभोक्ताले पनि क्षणिक फाइदाको लागि यस्ता व्यक्तिसँग कारोबार गर्दा देशले ठूलो मात्रामा राजश्व गुमाइराखेको छ । साथै, जोशीले १५ प्रतिशतसम्म महंगो भए पनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने नियम भए पनि सरकारी निकायहरु नै स्वदेशी फर्निचर तथा फर्निसिङ सामान प्रयोग गर्दैनन् । यिनै विषयमा उनीसँग कर्पोरेट नेपालले गरेको कुराकानीः

नेपालमा फर्निचर तथा फर्निसिङको अवस्था कस्तो छ ?
नेपालमा वार्षिक लगभग ६० अर्ब रुपियाँको कारोबार छ भने यसबाट प्रत्यक्ष रोजगारी डेढ लाखको हाराहारीमा रहेको छ । फर्निचर र फर्निसिङमा ६० अर्बको जुन कारोबार छ, त्यसमा ५० प्रतिशत स्वदेशकै उत्पादन हो भने ५० प्रतिशत बाहिरबाट आउँछ छ । वन मन्त्रालयबाट हामीलाई धेरै सहयोग नभइराखेको अवस्थाले गर्दा आयातको मात्रा धेरै छ । फर्निचर र फर्निसिङमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरैले रोजगारी पाइराखेका छन् । घरको लागि फर्निचर तथा फर्निसिङको सामान किन्दा त्यो सँगसँगै नाप्ने, काट्ने, सिलाउने, लगेर जोडिदिने गरी अनेक प्रकारका सीप भएका मान्छेहरु संलग्न हुन्छन् । सामान सँगसँगै सर्भिस पनि दिनुपर्ने भएकाले यो व्यवसाय धेरै रोजगार दिने क्षेत्र पनि हो । 

Advertisement

फर्निचर तथा फर्निसिङको आयात–निर्यातको अवस्था कस्तो छ ?
कारोबारको आधा हिस्सा आयातले ओगटे पनि अहिले विस्तारै नेपाली उत्पादनहरुले बजार विस्तार गर्दै गएको छ । निर्यात धेरै नै कम अर्थात् नगन्य रुपमा भएको हुनाले गर्वका साथ निर्यात गर्छौ भन्ने अवस्थामा हामी आइसकेका छैनौं । तर, अहिले कार्पेट, म्याट्रेस, प्लास्टिकका फर्निचरलगायतका कतिपय सामानहरुको आयात घट्दो क्रममा छ । किनभने यस्ता सामानहरु हामी आफै बिक्री गर्न सक्षम भइसकेका छौं । तर, काठको फर्निचरहरु भने धेरै आयात भइराखेको छ र नगन्य रुपमा फर्निचरहरु निर्यात हुने गर्छ । कार्पेटहरु पनि निर्यात भइराखेको छ । यी सामान विशेषगरी भारत निर्यात भइराखेको छ । केही समय अगाडि पर्दाहरु पनि निर्यात हुन्थ्यो तर सरकारी नीतिले गर्दा कार्पेट, पर्दा उत्पादन गर्ने कम्पनीहरु बन्द भएको अवस्था छ । त्यस्तै, केही समय अगाडि म्याट्रेसहरु पनि निर्यात भएको अवस्था थियो । एउटा खुशीको कुरा भनेको हामीले कच्चा पदार्थहरु आयात गरेर भए पनि सामान निर्माण गरी केही मात्रामा निर्यात गर्न सफल भएका छौं । तर पनि फर्निचर तथा फर्निसिङको प्रायः सामान आयात नै भइराखेको छ ।

फर्निचरको लागि नेपालमा काठको अवस्था कस्तो छ ?
नेपालमा काठ प्रशस्त छ अर्थात् फर्निचरको लागि कच्चा पदार्थ स्वदेशमै उपलब्ध हुँदाहुँदै पनि काठ आयात गर्नुपरिराखेको अवस्था छ । सरकारी नीतिका कारण हामीले प्रत्यक्ष रुपमा टेण्डरमा भाग लिन पाउँदैनौं । त्यसले गर्दा स्वदेशकै काठ बिचौलियाहरुबाट महङ्गोमा किन्नु परिराखेको छ । वन पैदावार र प्लाई उद्योगले टेण्डरमा भाग लिन पाउँछन् तर धेरै मूल्य दिनसक्ने अवस्था छ । नब्बे प्रतिशत कच्चा पदार्थ वा काठ प्रयोग गर्ने उद्योगीहरुले भाग लिन पाउँदैनन् जसले गर्दा काठ महङ्गोमा किनेर विदेशी फर्निचरहरुसँग प्रतिस्पर्धामा जान गाह्रो भइराखेको छ । ‘हरियो वन नेपालको धन’ भन्ने हामीले बच्चा बेलामा पाठ्यक्रममा पढेका थियौं तर अहिले व्यवहारिक रुपमा हेर्दा यो केही समूहको मात्रै धन रहेछ भन्ने देख्यौं । किनकी ढुवानी खर्च आदि सबै कटाउँदा समेत नेपालमै काठ किन्नु र आयातबाट काठ ल्याउनुमा एउटै मूल्य पर्छ । देशकै काठहरु सरल तरिकाले सुलभ वा उचित मूल्यमा पाउनु पर्यो भन्ने हाम्रो माग हो । तर, यसको लागि हामी टेण्डरमै भाग लिन पाउँदैनौं । भित्रसम्म जानै पाउँदैनौं । बाहिरै ढोका बन्द गरिदिइएको छ । ठूलो परिणामबाट पाउने काठहरुमै टेण्डरमा भाग लिन नपाएका हामी फर्निचर उद्यमीको लागि वन नियममा परिमार्जन चाँडैभन्दा चाँडै गर्न जरुरी छ, जसमा उहाँहरु मौन हुनुहुन्छ । 

सरकारीस्तरका कार्यालयहरुमा स्वदेशी फर्निचर तथा फर्निसिङका सामानहरु कत्तिको प्रयोग भएका छन् ?
सरकारी कार्यालयहरुमा नेपालको उत्पादनहरु राखिएको देखिदैन । किनभने उहाँहरु टेण्डर नै यसरी आह्वान गर्नुहुन्छ कि नेपाली उद्यमीहरुले त्यसमा भाग लिन सक्दै सक्दैन । हुन त नियममा सार्वजनिक निकायले गर्ने खरीदमा १५ प्रतिशत बढी महंगो भए पनि स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने छ । तर त्यसको कार्यान्वयन गर्न आनाकानी गरिन्छ । किनभने बाहिरको किन्दा मोटो रकम कमिशन खान पाइन्छ । बैंकलगायत अन्य ठूला कम्पनी, संस्थाहरुमा नेपाली उद्यमीहरु जान सक्छन् तर सरकारीमा जान सक्दैनन् । त्यसले गर्दा प्रायः निजी कार्यालयहरुमा स्वदेशी उत्पादन प्रयोग भएका छन् । आजको दिनसम्म आइपुग्दा बैंकहरुमा हेर्यौ भने नेपालकै उद्योगद्वारा उत्पादित फर्निचर तथा फर्निसिङका सामग्रीहरु राखिएका छन् । आजभन्दा चार–पाँच वर्ष अगाडी नेपाली उत्पादन भन्दा उपभोक्ताले खासै रुचाएको अवस्था थिएन तर आजको दिनमा नेपाली उत्पादन पनि यस्तो राम्रो बन्न थालेछ भनेर आत्मविश्वास बढ्दै गएको अवस्था छ । अहिले नेपालमा कार्पेट, म्याट्रेस र फर्निचरमा राम्रा र ठूला उद्योगहरु धेरै छन् जसका उत्पादनहरु गुणस्तरीय अर्थात् अन्तर्राष्ट्रियस्तरका छन् । अहिले नेपालका पाँचतारे होटलहरुमा समेत नेपालमा बनेका कार्पेटहरु छन् । त्यो हेर्नुभयो भने यस्तो पनि नेपालमा बन्दोरहेछ भन्ने हुन्छ । उपभोक्ताहरुको नजरमा नेपाली उत्पादन गुणस्तरीय छ भन्ने भइसकेको अवस्था छ । उपभोक्ताहरु नेपाली उत्पादनप्रति आकर्षित हुन थालेका छन् । तर, नेपालको सरकारी कार्यालयहरुले पनि स्वदेशी उत्पादन प्रयोग गर्छौं भनिदियो भने हाम्रो मार्केट बढ्थ्यो । जब बजार हुन्छ, तब मात्रै गुणस्तर र नयाँनयाँ सामग्री उत्पादनको संख्या बढ्दै जाने हो । त्यस्तै, यस क्षेत्रमा दक्ष कामदारको अभाव छ तर त्यसमा विस्तारै तालिम दिने अवस्था हुँदै गएको छ । 

फर्निचर क्षेत्रमा अन्य के कस्ता चुनौतीहरु रहेका छन् ?
फर्निचरको लागि उद्योग खोल्नै हामीलाई गाह्रो छ । कुनै पनि शहर र वन क्षेत्रदेखि तीन किलोमिटरको दुरीभन्दा कममा उद्योग खोल्न पाइँदैन भन्ने छ । कुनै पनि ठाउँमा पुग्न सडक सञ्जाल अर्थात् शहर हुन्छ नै । सडकै नपुगेको ठाउँमा कसरी उद्योग संचालन गर्न सकिन्छ ? उद्योग खोल्नलाई बाटोको सुविधा हुनैपर्छ, जुन तोकिएको दुरीले उद्योग खोल्न सम्भव छैन् । अर्को समस्या भनेको अहिले हामीले दक्ष कामदारहरुको कमीको महसुस गरिराखेका छौं ।

Advertisement

Advertisement