थुप्रै अपराधमा मुछिएका र जेल सजायसमेत भोगेका आचार्यको जन्मदिन मनाउन पुगे मन्त्री कुँवर

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको जन्मदिन मनाउन सोमबार याक एण्ड यति होटल पुगेका छन् । 

हिरा लुट्नेदेखि व्यवसायीहरुलाई धम्क्याएर करोडौं रुपियाँ माग गर्ने कार्यमा संलग्न सुजन आचार्यको जन्मदिन मनाउन मन्त्री कुँवर होटल पुगेका हुन् । पछिल्लो समय गएको जेठ दोस्रो साता उनलाई एक व्यापारीलाई धम्क्याएर सात करोड रुपियाँ माग गरेको भन्दै प्रहरीले द्धारिका होटलबाट पक्राउ गरेको थियो । 

Advertisement

त्यसअघि पनि उनलाई थुप्रै अपराधिक क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरी धरौटीमा रिहा गर्नुका साथै जेल सजाय समेत भोगेका थिए । आफूलाई टीभी टुडेको सञ्चालक बताउने आचार्यले मन्त्रीलाई प्रभावमा पारेर आफ्नो जन्मदिनको कार्यक्रममा केक कटाउन सफल भएका हुन् । यद्यपि उनले आफू टिभी टुडेको सञ्चालक नभएको बताएका छन् । यसअघि पक्राउ पर्दा उनको साथबाट एबिसि टिभीको कार्ड प्रहरीले फेला पारेको थियो । 

जन्मदिन बनाउन दलबलसहित पुगेका मन्त्री कुँवरले सम्बोधन गर्दै आचार्यको तारिफसमेत गरेका थिए । आफ्नो जन्मदिनमा आएका मन्त्री कुँवरलाई भव्य स्वागत गर्नुका साथै जाने बेलामा विशाल बुके दिएर बिदाई गरेका थिए । 

२०७६ सालमा मकवानपुरको कैलाश गाउँपालिकास्थित गोगनेकी धनलक्ष्मी गुरुङको घरमा भएको हिरा लुटपाटमा आचार्यसमेतबाट ६१.३० क्यारेटको १२.२६० ग्रामको हीरा एक थान, जीईएम आइडेन्टिफिकेसन रिपोर्ट, चाइनिज पेस्तोल एक थान, सात राउण्ड गोली, सञ्चार सेट चार थान, क्यामेरा एक थान, ल्यापटप एक थान र मोबाइल ६ थान बरामद भएको थियो । 

त्यसपछि प्रहरीले मुद्दा चलाउँदा अदालतले आचार्यलाई एक वर्षभन्दा बढी जेल सजाय तोकेको थियो । उक्त सजाय भुक्तान गरेपछि पनि अपराधिक कार्यमा संलग्न रहँदै आएका आचार्यको जन्मदिनमा बहालवालामन्त्री गएर तारिफ गर्नुका साथै केक काटेर आचार्यलाई खुवाएका थिए । 

Advertisement

Advertisement