राजनीतिक अर्थशास्त्र यस कारण बुझ्नु जरुरी छ

Advertisement

पदम भण्डारी
राजनीतिक अर्थतन्त्र भनेको चीजहरू किन त्यस्तै छन् र त्यसरी नै छन् भनेर बुझ्नको लागि एउटा दृष्टिकोण हो । कुनै पनि प्रणाली चाहे तिनीहरु औपचारिक एवं अनौपचारिक संघ संस्थाहरु हुन वा व्यक्ति तथा शक्तिहरु र प्रोत्साहनहरुले कसरी कार्यसम्पादनमा योगदान पुर्‍याउँछन् भन्ने बुझ्ने कुरा नै राजनीतिक अर्थशास्त्र  हो । यो सन १९९० को दशक देखि कार्यक्रम सञ्चालन गर्दा वा शासन प्रणाली सञ्चालन गर्दा बुझ्नु पर्ने कुरा हो भनेर चर्चामा आयो र सबैको ध्यान केन्द्रित गर्यो । सन २००० को प्रारम्भमा ठूला द्विपक्षीय सहायता एजेन्सीहरुले मुलुकमा सुशासन कायम एवं सुधार गर्न रणनीति परिमार्जन गरे जसबाट ुखेलका नियमहरूु र ुनियम भित्रका खेलहरूु दुवैमा राम्रोसंग राजनीतिक अर्थतन्त्रको विशरलेषण गर्नुपर्ने र त्यसका विधिहरु तय गरियो । 

कृषि बजार विकास कार्यक्रमहरुमा किन राजनीतिक अर्थतन्त्र विश्लेषण गर्ने ?
कृषि बजार प्रणाली विकास कार्यक्रमहरुले सम्बन्धहरु र प्रोत्साहनहरु परिवर्तन गर्न खोज्छन् । कृषि बजार प्रणाली कार्यक्रम अन्तर्गत कसरी कम आय भएका गरिव एवं पछाडि पारिएका वर्गलाई कृषिको विकासको मूल धारमा समाहित गर्न सकिन्छ भनेर कार्यक्रमहरु तय गरिन्छ । यसका साथै सार्वजनिक, निजी वा नागरिक समाजका शक्तिशाली व्यक्तिहरु र तिनीहरुको चासोहरू प्रायः कृषि बजार प्रणाली विकासमा कम ध्यान पुगेको हुन्छ एवं ती कृयाकलापहरुमा योगदान पनि कम रहेको हुन्छ । यस्तो अवस्थामा तिनीहरुको चासोलाई कसरी कार्यक्रममा समेट्न सकिन्छ भनेर विश्लेषण गरिन्छ जसबाट कृषि विकासका कार्यक्रमहरुमा मात्र नभएर मुलुकको शासन प्रणालीमा समेत सुशासन कायम गर्न योगदान गर्नसक्छ । 

Advertisement

राजनीतिक अर्थतन्त्र विश्लेषणले सरकारवालाहरुको चासो, शक्ति, समानता, भिन्नता र तिनीहरु विचको सम्बन्धलाई विश्लेषण गर्छ । कृषि बजार प्रणाली विकासको क्रममा प्रयोग गरिएका विभिन्न उपायहरु एवं कार्यक्रमहरुले कसरी लाभग्राहीहरुको जिबनमा  परिवर्तन गर्दछ भन्ने बारे अन्तरदृष्टि प्रदान गर्न वा परिचय गराउन राजनीतिक अर्थतन्त्र विश्लेषणले सहयोग गर्दछ । 

राजनीतिक अर्थतन्त्र विश्लेषण कसरी गर्ने ?
राजनीतिक अर्थतन्त्र विश्लेषण गर्दा निश्चित फ्रेमवर्क र विधिहरु अपनाउनु पर्ने हुन्छ । यसले विश्लेषणलाई सहज र सजिलो बनाउँछ र व्यवहारिक रुपमा कार्यक्रमहरु तय गर्न मद्धत गर्छ । राजनीतिक अर्थतन्त्र विश्लेषण लागि अपनाईने विधिहरु निम्नानुसार छन्  

सरोकारवाला विश्लेषणः यसले कुनै निश्चित क्षेत्रका सरोकारवालाहरू को हुन्, कसले के निर्णय गर्छन्, कसले उनीहरूको निर्णयलाई प्रभाव पार्छ भन्ने बुझाइ समावेश गर्दछ। तिनीहरुले कसरी प्रभाव पार्छन् र कार्यक्रम सञ्चालन गर्दा तिनीहरुको प्रभावहरु संवेदनशील हुनसक्छ त्यसैले त्यस किसिमको अभ्यास र विश्लेषणको विवरणहरु बुझ्न र आन्तरिक कागजातको रुपमा राख्न आवश्यक हुन्छ । 

सरोकारवालाहरुको रुचि र प्रेरणाको विश्लेषणः सबै कृषि बजार विकास कार्यक्रमहरु र प्रणालीका कर्ताहरुले बजारको व्यवहारलाई प्रभाव पार्ने प्रयास गरिरहेका हुन्छन् ।  मानिसहरु र संस्थाहरुलाई प्रभावकारी रुपमा प्रभाव पार्न सक्षम हुनको लागि तिनीहरूको चासो के हो र तिनीहरू कत्तिको दृढ छन् भन्ने कुराको विश्लेषण गर्न जरुरी हुन्छ । 

सत्ता र शक्ति (पावर)को विश्लेषणः औपचारिक वा अनौपचारिक रुपमा सत्ता कसले आफ्नो नियन्त्रणमा राख्छ भन्ने कुरा बुझ्नु राजनीतिक अर्थतन्त्र विश्लेषण एक प्रमुख चरण हो। यसले प्रायः व्यापार ब्यवसाय र राजनीतिको अनौपचारिक नियमहरूको विश्लेषण गर्छ । 

प्रभावको विश्लेषणः यसले कृषि बजार विकास कार्यक्रम सञ्चालन गर्दा गरिने सहजीकरणका प्रयासहरु र केन्द्रित हुनुपर्ने प्राथमिकताहरुलाई जनाउँछ। धेरैजसो अवस्थामा यसले कार्यक्रमका लक्षित समूहसँग प्रत्यक्ष रुपमा काम गर्ने क्रममा त्यति मतलब नहुन सक्छ बरु यो समर्थन गर्ने वा रोक्ने शक्तिसंग सम्बन्धित हुन्छ । यसले प्रस्तावित कार्यक्रमका समर्थक र अवरोधक दुवैसँग संलग्न हुन आवश्यक छ भन्ने कुराको विश्लेषण गर्छ । 

संलग्नताको विश्लेषणः कार्यक्रमलाई सफल रुपमा सञ्चालन गर्न सरोकारवालाहरुको संलग्नता कस्तो रुपमा हुनुपर्छ भन्ने कुराको कुनै सीमा छैन। यसले सरोकारवालाहरु र तिनीहरुको संलग्नताको रणनीति तयार गर्न र राजनीतिक रुपमा निर्णय गर्ने निर्णयकर्ताहरुको रुचि र प्रेरणालाई बुझ्न मद्धत गर्छ । 

समग्रमा राजनीतिक अर्थतन्त्र विश्लेषणले कार्यक्रम सञ्चालन गर्ने कर्मचारीहरुले कृषि बजार विकास प्रकृयामा असल अभ्यास कसरी गर्न सकिन्छ भनेर बुझ्ने तरिका हो । यसले कृषि बजार विकासको परिवर्तन गर्ने शक्तिहरुको गतिशीलता बुझ्न र प्रतिक्रिया दिन सक्षम हुन्छन् भन्ने मान्यता राख्छ । यसले सन्दर्भहरू परिवर्तन हुँदा सञ्चालन गरिने कृयाकलापहरुपनि सोहि अनुरुप परिमार्जन गर्दै लानुपर्छ भन्ने सन्देश दिन्छ । यो एकपटक गरेर प्रतिवेदन तयार गर्ने र थन्क्याउने विषय होईन ।  

सुझावहरुः  
कृषि बजार प्रणाली विकास कार्यक्रममा कर्मचारीहरु भर्ना गर्दा राजनीतिक रुपमा जानकार वा सञ्जाल भएका कर्मचारीहरू भर्ना गर्ने बारे विचार गर्नुपर्छ । विशेष गरि कृषि बजार विकासका क्षेत्रहरूमा महत्वपूर्ण बाधाहरुको बारेमा बुझ्न सक्ने र  व्यापार ब्यवसाय तथा राजनीतिक निर्णय गर्ने तप्काहरुमा पहूँच भएका सूचनाकर्ताहरू र नियमित अपडेटहरू प्रदान गर्न सक्ने ब्यक्तिहरु छनोट गर्नुपर्छ ।  

संस्थाहरुले राजनीतिक अर्थतन्त्र विश्लेषण गरि कार्यान्वयनका नीति एवं कृयाकलापहरु तय गर्ने, समीक्षा गर्ने र कार्यक्रम र बजेट तर्जुमा र खर्चको राम्रो अभ्यास गर्नुपर्छ । व्यक्तिहरु एवं संस्थाहरुले कृषि बजार विकास कार्यक्रममा गरिरहेको प्रयास र परिवर्तनहरुलाई प्रभाव पार्न सक्ने निर्णयहरूको लागि को जिम्मेवार छन् र कुन संस्थाहरु र ब्यक्तिहरुलाई परिवर्तन गर्न उत्साहित छन् वा क्षमता छ त्यसबारे राम्रो जानकारी हुनुपर्छ । 

राजनीतिक अर्थतन्त्र विश्लेषण गरेर धेरै प्रतिवेदनहरु तयार गर्ने भन्दा पनि कार्यान्वयन गर्ने कागजातको रुपमा प्रयोग गर्ने सकिनेगरि तयार गर्नुपर्छ जसले कार्यान्वयन भएपछि बक्समा टिक गर्ने गरि प्रयोगमा आओस । एक अवस्थामा यो संवेदनशील कागजात हुनसक्छ र यसलाई कसरी सार्वजनिक गरिन्छ भन्ने विषय महत्वपूर्ण हुनसक्छ । राजनीतिक अर्थतन्त्र विश्लेषण अनुरुप कार्यक्रमहरु तय गर्ने र कार्यक्रमहरुको कार्यान्वयन भइरहेको छ वा छैन तिनीहरुको नियमित रिपोर्टिङ र विश्लेषणको नियमित रुपमा गरिरहेनुपर्छ । यो विषय कुनै दातृ निकायले अनुरोध नगरे पनि राम्रो अभ्यास र परिवर्तनहरुको कागजात गर्नुपर्छ । 

(लेखक भण्डारी कृषि बजार प्रणालीका जानकार तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफेसरको रुपमा समेत आवद्ध छन्)

Advertisement

Advertisement